s

दसैंले घर सम्झाउँछ

मधु शाही

वर्षभरी भारतमै बिताएका कालीकोटका धनबहादुर घर्तीलाई दसैं तिहारमा भने घरकै याद आउँछ । खरले छाएको झुप्रो उनका लागि दसैंमा महल जस्तै लाग्छ । वर्षभरि काम गरेर कमाएको रुपैयाँ दसैंमा मन फुकाएर खर्च गर्छन्। यतिबेला नातिनातिना, छोरा बुहारी लगायत सबै परिवारले घरै आउने इच्छा राख्छन्। उमेरले ५० नाघेका घर्ती जन्मथलो सम्झीदै बुधबार भारतबाट नेपाल फर्किए। ‘दशैंभर थकाई मेट्न आएको,’ उनी भन्छन्, ‘दुई चार दिन बसेर फेरि कालापार(भारत) आउनु छ।’ त्यस्तै बुधबार नेपालगन्ज–रुपैडिया नाका हुँदै घर फर्किने नेपालीको घुइँचो थियो। यो लस्कर एक सातादेखि ह्वात्तै बढेको छ। मजदुरी गर्न भारत पसेका नेपाली घर सम्झेर दसैं मनाउन आउने गर्छन्।

सल्यानका मोहनबहादुर बुढाले सिम्लामा दुई महिना बसेर टन्नै स्याउ टिप्ने काम गरे। त्यही स्याउको पेटी कसेर यतिबेला उनले दसैं खर्च भरेर ल्याएका छन्। बुधबार नेपालगन्ज–रुपैडिया(भारत) नाका हुँदै घर आउने क्रममा उनको मुहार हसिलो देखिन्थ्यो। ‘दसैं मनाउन घर सम्झेर आया हो’, उनले भने, ‘खर्च नि उतै बाट ल्यायाछु।’ तरकारीमा हाल्ने जीरा, मरमसलादेखि शरीरमा लगाउने लुगा समेत भारतदेखि ल्याएको उनले बताए। ‘यहाँ किन्ने भनेको खसी मात्रै हो’, उनी भन्छन्, ‘त्यहि किन्ने पैसा जुटाउन भारत जानु पर्छ।’ दुई छोरा बुहारी र पत्नी समेत भारत बस्दै आएका छन्। तर, घरमा दसैंको जमरा राख्नुपर्ने हुँदा घटस्थापनाका दिन जहान(पत्नी) आइपुगेको उनले सुनाए। ‘कमाउन भारत गएपनि दसैंले घर सम्झाउँछ ’

दैलेखका अमर सिंहले दसैंका लागि भारतबाट ओड्ने ओछ्याउनेदेखि घरयासी सामाग्री बोकेर ल्याए। नेपालमा किन्न साह्रै महंगो पर्ने हुँदा उतैबाट खरिद गरेको उनले बताए। ‘तीन महिना मजदुरी गरेर दसैं खर्च जुटाए’, उनले भने, ‘तिहारसम्म पुग्छ। फेरि भारत पस्नुपर्छ।’ ६० वर्षे सिंह प्रत्येक वर्ष यसरी नै दसैं मनाउन आउँछन्। भत्किन लागेको घर लिपपोत गरेर चिटिक्क पार्छन्। बसुन्जेल रमाइलो गर्छन्। फेरि त्यस्तै घर एक्लै छाडेर भारत जान्छन्। पुर्खौली जमिन भएकाले चट्क्कै बिर्सन नसकिने उनको धारणा छ। वर्षमा जग्गा जमिन रेखदेख गरेर घर लिपपोत गरेर सुरक्षित राख्नुपनि उनको दायित्वभित्र पर्छ। उनी भन्छन्, ‘अब नातिनातिनाले के गर्छन्, थाहा छैन, आफू बाँचुन्जेल दसैंमा घरै आउने गर्याछु।’

Published on: 4 October 2019 | Kantipur

Link

Back to list

;