s

दसैं मनाउन घर फर्किए परदेशी

शंकरप्रसाद खनाल/नेपालगन्जकिशोर बुढाथोकी/विराटनगरमनिका झा/जनकपुरधामसलमान खान/भैरहवा :

दैलेख ठाँटीकाँधका तपेन्द्र बडुवाल दसैं मनाउन भारतबाट घर फर्केका छन्। उनी भारतको हिमाञ्चल प्रदेशको मनिकरनमा स्याउ टिप्न गएका थिए। नेपालगन्जको सीमा नाका जमुनाहामा एन्टिजिनबाट कोरोना परीक्षणका लागि लाइनमा भेटिएका बडुवालले भने, ‘५० दिनमा २५ हजार भारु (नेपाली ४० हजार) कमाइ भयो। दसैं मनाउन घर फर्केको छु। दसैं–तिहार मानेर फेरि भारत जान्छु।’ स्याउ टिपेबापत उनलाई दैनिक पाँच सय भारु मिल्थ्यो। खान बस्न साहूले नै व्यवस्था गरेको थियो। 

भारतको गुजरातस्थित होटलमा काम गरेर घर फर्कँदै गरेका दैलेखको महाबु गाउँपालिका रानीवनका रणबहादुर सुनार पनि ३ दिनको यात्रापछि नेपालगन्ज पुगे। पाँचौं दिन उनी घर पुग्नेछन्। भारतमा धेरै कोरोना संक्रमण भएको राज्यमा रहँदाको उनले अनुभव सुनाए, ‘कोरोनाबाट मृत्यु भएकाहरूको लास पोल्ने ठाउँ पनि थिएन। भर्खरै गएको थिए। कोरोनाले होटल बन्द भइहाल्यो। घर फर्कने पैसा पनि भएन। कोरोना निकै घटेपछि घर फर्कन पाइयो।’ 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम विभिन्न जिल्लामा घर भएका कालीपारे (भारतमा कमाउन गएका) परदेशीहरू फर्कनेहरूको सीमा नाका जमुनाहामा घुइँचो लाग्न थालेको छ। इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज सई मीनबहादुर विष्टका अनुसार सोमबार १ हजार ७ सय जना नेपाली घर फर्केका छन्। यो एन्टिजिनबाट कोरोना परीक्षण गराउनेको मात्र रेकर्ड हो। इन्चार्ज विष्टले प्रष्ट पारे, ‘सोह्र श्राद्ध सकिएपछि दसैंको नवमीसम्म अहिले आएको भन्दा झन्डै ५ गुणा बढी नेपाली स्वदेश फर्केछन्।’

जोगवनी नाकाबाट भित्रिनेको लर्काे 
दसैं लगायतका चाडपर्व नजिकिँदै जाँदा विराटनगरको जोगवनी नाकाबाट नेपाल प्रवेश गर्नेहरूको लर्को लागेको छ। भारतको जोगवनी हुँदै विराटनगर प्रवेश गरेर गन्तव्यतर्फ लाग्नेको संख्या दैनिक एक हजारभन्दा बढी रहेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ। प्रशासनका अनुसार पछिल्लो एक साताको अवधिमा यो नाका हुँदै आठ हजारभन्दा बढी सर्वसाधारण नेपाल प्रवेश गरेका छन्। काम, अध्ययन एवं रोजगारीका सिलसिलामा भारत पुगेकाहरू चाडपर्व नजिकिएपछि धमाधम घर फर्किरहेका छन्। कोरोना महामारीका कारण दुई वर्षदेखि बन्द रहेको यो नाका एक साताअघि मात्रै खुला गरिएको हो। नाका खुलेपछि सवारी साधन र मानिसले सहज रूपमा आवतजावत गर्न पाइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए। चाडपर्वका बेला सीमा नाकामा हुनसक्ने भीडभाडलाई लक्षित गरेर उच्च सतर्कता अपनाइएको उनको भनाइ छ। 

नेपालबाट दैनिक उपभोग्य वस्तु खरिदका लागि भारतको जोगवनी बजार जानेहरूको पनि ठूलो भीड लागिरहेको छ। चाडपर्व नजिकिएसँगै सीमामा आवतजावत बाक्लो हुँदा सुरक्षा सक्रियता बढाइएको दाहालले बताए। चाडपर्वका बेला हुनसक्ने अवैध एवं अवाञ्छित गतिविधि रोक्न भारतसँग सीमा जोडिएका स्थानलाई प्राथकितामा राखेर सतर्कता अपनाइएको जानकारी उनले दिए। 

उनका अनुसार नाकाबाट आवतजावत गर्ने सर्वसाधारणलाई सहजीकरण र मानवीय चहलपहललाई ख्याल गर्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सीमामा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रजिअ दाहालले कोरोना संक्रमणबाट बच्न सर्वसाधारणलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेर सीमा क्षेत्रमा जनेचतनामूलक सन्देशहरू पनि प्रवाह गर्ने काम भइरहेको छ। ‘चाडपर्व नजिकिएकाले नेपालबाट भारतीय बजारमा उपभोग्य वस्तु खरिद गर्न जानेको संख्या अत्याधिक बढेको छ। कामका सिलसिलामा भारत पुगेकाहरू पनि चाडपर्व मनाउनलाई घर फर्कन थालेका छन्,’ उनले भने, ‘एक दिनमा १५ हजारभन्दा बढीको आवतजावत हुने गरेको छ। बढ्दो चहलपहलसँगै कोरोना संक्रमणलाई ख्याल गर्नुपर्छ भनेर प्रशासन चनाखो भएर लागेको छ।’

अव्यवस्थित आवतजावतमा कडाइ 
जानकारी दाहालले दिए। उनका अनुसार नेपालबाट भारत र भारतबाट नेपालतिर आवतजावत गर्नेहरूले मास्क र स्यानिटाइजरको प्रयोग गरे/नगरेको कुरामा ध्यान दिने गरिएको छ। साथै सामाजिक दूरी र सरसफाइमा ध्यान दिन पनि आग्रह गर्ने गरिएको छ। 

दाहालले अभिलेख राख्दै भारतबाट नेपालतिर प्रवेश गर्नेहरूलाई प्रशासनले आवश्यक सहयोग गरिरहेको जानकारी दिए। ‘चाडपर्व मनाउन भारतबाट आफ्नो देश फर्कने नेपालीहरूलाई सीमा क्षेत्रमा सास्ती नहोस् र आवतजावतका नाममा अवैध धन्दा हुन नपाओस् भनेर प्रशासनले सक्रियता बढाएको दाहालको भनाइ छ। साथै सुरक्षा सतर्कताका विषयमा ‘काउन्टर पार्ट’सँग पनि समन्वय भइरहेको उनले बताए। 

सीमामा सास्ती
बुधन साह एक वर्षपछि भारतको गुजरातबाट दसैं मनाउन घर आएका छन्। जनकपुरधाम उपमहानगरपालिका–४ घर भएका साह पछिल्लो पाँच वर्षदेखि गुजरातकै एक कम्पनीमा काम गर्छन्। कोरोना महामारीले गर्दा घर आउन नसकेका उनी परिवारसँगै दसैं मनाउन आएका हुन्। नेपाल सरकारले भारतसँगको सिमानाका खोलेपछि नेपालतर्फ आउन उनलाई गाह्रो भएन। तर, भिठ्ठामोड बोर्डर भएर आएका उनले भारतीय नाका नखुलेकै कारण खेतको बाँटो भएर पैदल नेपाल बोर्डरसम्म आउनु परेको सुनाए। नेपाल सरकारले नाका खोले पनि भारत सरकारले नखोल्दा धनुषा, महोत्तरी, सर्लाहीसहितका प्रदेशका आठवटै जिल्लामा नेपाली नागरिकलाई सोझै नभई नाका छेउछाउका खेत वा चौरीको बाटोबाट आवतजावत गर्ने बाध्यता छ। 

नेपाल सरकारले नाका खोलेझैं भारतीय पक्षले पनि सहज रूपले आउजाउ गर्न दिँदा दसैं मनाउन घर फर्किनेहरूलाई झन् सहज हुने युवा अभियन्ता सुशील कर्ण बताउँछन्। नेपाल सरकारको निर्णयअनुसार भारतीय गाडी र नागरिकलाई नेपाल सहजै प्रवेश गर्न दिइएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला बताउँछन्। तर, भारततर्फको नाका खुलाउने कुरा दुई देशका सरकारको भएको हुनाले यस विषयमा आफूले केही गर्न असमर्थ रहेको उनी बताउँछन्। 

रोजगारीका लागि भारत गएका नेपाली स्वदेश फर्किन थालेका छन्। भारतमा कार्यरत हजारौं मुग्लानीहरू झिटीगुन्टाका र कोसेली बोकेर हर्षोल्लासका साथ दसैं–तिहार मनाउन स्वदेश फर्किरहेका छन्। १८ महिनापछि पूर्णरूपमा नाका सुचारु भएपछि मुग्लानी स्वदेश भित्रिनेदेखि लिएर किनमेलका लागि सीमावर्ती बजारमा जाने नेपालीका कारण रुपन्देहीको मुख्य नाका बेलहिया ब्यस्त छ।

फर्किंदै मुग्लानी
भारतको दिल्लीको होटलमा कार्यरत गुल्मीका ४४ वर्षीय कृष्ण सुनारले परिवारका साथ दसैं मनाउन घर जान लागेको बताए। ‘पोहोर परिवारका साथमा हर्षोल्लासका साथ दसैं मनाउन पाइएन,’ उनले भने, ‘यसपालि परिवारसँगै मनाउने भनेर घर जान लागेको हो।’

स्थलमार्ग हुँदै उनी जस्ता थुप्रै नेपाली दसैं–तिहार मनाउन अहिले घर फर्किरहेका छन्। प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार बेलहिया नाका हुँदै दैनिक औसतमा साढे तीन सय नेपाली भित्रिरहेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं प्रवक्ता सत्य नारायण थापाले गत साता करिब तीन हजार नेपाली बेलहिया नाकाबाट स्वदेशमा भित्रिएको बताए। चाडपर्व नजिकिएसँगै दैनिक करिब तीन हजार सर्वसाधरणको नाकाबाट आवागमन भइरहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक नवीन पौडेलले बताए।

भारतीय बजारमा घुइँचो
जति दसैं नजिकिँदै गएको छ त्यति नै सिमानाको भारतीय बजार सुनौली, नौतनवामा नेपालीहरूको घुइँचो बढ्दै गएको छ। दसैंको मुखमा बन्द रहेका सीमानाका समेत सुचारु भएपछि सीमावर्ती बजारमा जाने नेपालीको संख्या ह्वात्तै बढेको छ। 

दाल, चिनी, कपडा, साबुन, लगायतका साम्रगीहरू खरिद गर्नका लागि दैनिक हजारौं नेपाली सुनौली बजारमा ताँती लागेका छन्। भारतमा सस्तो मूल्यमा साम्रगी पाउने गरेको मनोविज्ञानका कारण चितवन, अर्घाखाँची, पाल्पा, नवलपरासी लगायतका जिल्लाहरूबाट नेपालीहरू भारतीय बजार सुनौलीमा आउने गरेका छन्।

बजार गरेर फर्किंदै गरेका बुटवलका प्रेम गुरुङले सुनौलीमा उपभोक्ता ठग्ने काम हुने गरेको बताए। ‘सस्तो पाइन्छ भनेर सुनौलीमा दसैंको बजार गर्न आएको थिएँ,’ उनले भने, ‘यहाँ एउटा/दुईवटा सामान सस्तोमा दिएर अरू सामान नेपालभन्दा महँगो लिनुका साथै गुणस्तरहीन साम्रगी बिक्री गरेर ठगी गर्दो रहेछन्।’

Published on: 7 October 2021 | Annapurna Post

 

Link

Back to list

;