s

दसैंमा घर फर्किनेको लर्को

कैलाश जोशी

दसैं सुरु भएसँगै भारतमा रोजगारी गरेर घर फर्किनेहरुको कैलाली र कञ्चनपुरका नाकामा घर फर्किनेको लर्को लागेको छ। रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका सुदूरपश्मिवासी दसैं मनाउन घर फर्कने गरेका हुन्। अछाम साँफेबगर नगरपालिका-१३ बाबलाका शेरसिंह एक वर्षअघि गहुँ खेती लगाएर परिवारसहित रोजगारीका लागि भारत गएका थिए । उनी अहिले दसैँ मनाउन घर फर्किएका छन् । शेरसिंह मात्र होइनन् रोजगारका लागि भारतलगायत अन्य मुलुक गएका सुदूरपश्चिमेली अहिले घर फर्किन थालेका छन् । दसैं तिहार नजिकिएसँगै सुदूरपश्चिम प्रदेशमा चहलपहल बढेको छ ।

भारतको उत्तराखण्ड रोजगारी गरेर दसैँ मनाउन घर फर्केका बझाङ घर भएका पुरन रोकायाले विगतका वर्षमा सीमामा निकै सास्ती खेप्नु परेको भए पनि यसवर्ष भने सहज भएको बताए । यस्तै अछाम साँफेनगर घर भएका धनबहादुर कुँवर वली दसैँ मनाउन घर फर्किएका छन् । वर्षभरि परदेशमा काम गरेर दिन बिते पनि दसैँमा भने सधैँ घर फर्किने गरेको उनले सुनाए।प्रहरीका अनुसार दैनिक दुई÷तीन सय नेपाली कैलालीका त्रिनगर नाकाहुँदै घर फर्किने गरेका छन् । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, औषधि समेत राम्रो नपाइने भएपछि सुदूरपश्चिम प्रदेशबाट रोजगारीका लागि भारत जानेको संख्या दिनप्रतिदिन बढ्दो छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले भारतबाट घर फर्किँदै गरेका नेपालीलाई सीमामा सास्ती नहोस् भन्नका लागि त्रिनगर नाकामा चाडपर्व लक्षित सीमा सहायता कक्ष स्थापना गरेको छ । नेपालीलाई घर फर्किदा सीमामा कुनै पनि समस्या नहोस् भन्नका लागि सहायता कक्ष स्थापना गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कैलालीको त्रिरनगर नाकाको गौरीफन्टामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले संयुक्त रूपमा गौरीफण्टामा सहायता कक्ष संचालनमा ल्याएका छन्।

Published on: 1 October 2019 | Annapurna Post

Back to list

;