s

दसैँ मनाउन भारतबाट फर्केका नेपाली सीमा क्षेत्रमा लुटिने क्रम रोकिएन

भारतको नैनीतालमा रोजगारी गर्दै आएका कालीकोट फुकोट गाउँपालिका–२ का कुल दर्जी र उनकी श्रीमती मिठी दर्जी दस वर्षपछि दुई छोराछोरीका साथ दसैँ मनाउन स्वदेश फर्किए । लामो समयपछि घर फर्किएका दर्जी परिवारले गाउँमा आफन्तसँग दुःख–सुख साट्ने सपना बोकेको थियो । हल्द्धवानी बसपार्कबाटै बस चढेर वनबासा पुगेका दर्जीको परिवारसँगै तीनजना अन्य नेपाली युवक पनि आएका थिए । आफूहरूको घर कालिीोट बताउने सो समूह दर्जीलाई लुटेर फरार भए । ‘लामो समयपछि दसैँ मनाउन आएका थियौँ,’ कुल दर्जीले भने, ‘लुटेराले हाम्रो दसैँ बिगारिदिए ।’ आफ्नो भनेर विश्वास गर्दा उल्टै बिचल्लीमा पारिदिएको उनले दुखेसो पोखे । लुटेराहरूले बसपार्कमा आफूहरू पनि कालिकोटकै भएकाले सँगै जाऔँ भने । नेपाल पुगेर खाना पनि सँगै खाएपछि उनीहरू पनि आफ्नै गाउँको भएको विश्वास गरेको दर्जीले बताए ।

महेन्द्रनगरको कालिका होटेलमा पुगेर सँगै एक छाक खाना आएका अपरिचित तीन युवकले रकम साट्न बजार जाऔँ भनेपछि दर्जीले श्रीमतीको साथमा रहेको ४० हजार भारु मागे । चारैजना बजारतिर निस्के । रकम साट्ने बहानामा उनीहरूले दर्जीलाई बजारभरि डुलाए । मनी चेन्जरको बहानामा उनीहरू कसरी लुट्ने भनेर योजना बनाउँदै थिए, तर दर्जीले पत्तै पाएनन् । खाना खाएको होटेलभन्दा झन्डै दुई किलोमिटर टाढा लगेर दर्जीलाई उनीहरूले चिसो खुवाएपछि बेहोस गराए । होस गुमाएका दर्जीको साथबाट उनीहरू रकम लुटेर भागेका थिए । यता, होटेलमा छोराछोरीका साथ श्रीमान् कुरिरहेकी दर्जीकी श्रीमती मिठी दर्जी कतिखेर श्रीमान् रकम साटेर आउलान् र बस चढेर घर जाउँला भन्ने व्यग्र प्रतीक्षामा थिइन् । लुटेरा समूहले उनको ४० हजार रुपैयाँ लुटेपछि खुसीका साथ दसैँ मनाउने सपना मात्रै तुहिएन, घर पुग्ने भाडासमेत नभएपछि बिचल्लीमा परेका दर्जीको परिवारलाई निड्स नेपाल, होटेल र यातायात व्यवसायीको संयुक्त पहलमा घर पठाइएको छ ।

पेय पदार्थमा बेहोस हुने औषधि खुवाएर लुटपाट

भारतका विभिन्न स्थानबाट रोजगारी गरी घर फर्किएका खाँदबारी संखुवासभाका ५० वर्षीय कृष्ण गुरुङ र बैतडी मेलौरी घर भएका २८ वर्षीय वीरबहादुर चन्दसमेत लुटिएका छन् । दसैँ मनाउन घर फर्किंदा उनीहरूलाई भारतीय सीमा क्षेत्रमा लुटेराले बेहोस हुने औषधि खुवाएर रकम लुटेका थिए । गुरुङको साथबाट तीन हजार भारु र चन्दको साथबाट दुई हजार पाँच सय रुपैयाँ लुटिएको थियो । लुटेरा समूहले पेय पदार्थमा बेहोस हुने औषधि खुवाएर लुटेका दुवैजनालाई प्रहरीले उद्धार गरेर घर पठाएको छ ।

सीमा क्षेत्रमा प्रहरी हेल्प डेस्क

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता नरेन्द्रबहादुर चन्दले दसैँ–तिहारका वेला भारतबाट लुटिएर आएका नेपालीलाई विभिन्न संघसंस्था एव यातायात व्यवसायीसँग समन्वय गरेर घर पठाइरहेको बताए । ‘नशालु पदार्थ खुवाएर लुटिएकालाई उद्धार गरेर उपचार गर्छौँ,’ चन्दले भने, ‘उपचार गरेपछि घरपरिवारलाई सम्पर्क गर्छाैँ, घरपरिवारसँग सम्पर्क नभए विभिन्न निकायसँग समन्वय गरेर पठाइदिन्छौँ ।’ प्रहरी प्रवक्ता चन्दले चाडबाडका वेला लुटपाटमा परेका विभिन्न प्रकृतिका पीडित व्यक्तिको सहयोगका लागि प्रहरीले सीमा क्षेत्र गड्डाचौकी र महेन्द्रनगरमा हेल्प डेस्कसमेत राखेको बताए । हेल्प डेस्कको सम्पर्कमा आएका पीडितको उद्धार गरिरहेको उनले बताए ।

दसैँ–तिहार मनाउन भारतमा रोजगारीमा रहेका हजारौँ नेपाली घर फर्किरहेका छन् । तिनीहरूमध्ये केही नेपाली भारतमै केही, सीमा क्षेत्र र केही नेपालमै लुटिन थालेका छन् । लुटेरा समूहले भारतको बसपार्कदेखि नै पिछा गरेर आउने गरेका छन् । आफन्त बनेर भारतबाट सँगै आएका व्यक्तिबाट लुटपाटका घटना भइरहेको पीडितहरूको भनाइ छ । लुटिनेहरू केही प्रहरीको सम्पर्कमा आउँछन् भने केही आउँदैनन् ।

चेकजाँचको बहानामा ज्यादती

सीमा क्षेत्रमा पनि चेकजाँचको बहानामा ज्यादती हुने गरेको छ । भारतबाट रोजगारी गरी घर फर्किएकाहरूले सीमा क्षेत्रमा वारिपारि दुवै ठाउँमा अनावश्यक दुःख दिने गरेको दुखेसो पोखे । कञ्चनपुरका अधिकारकर्मी प्रभुनीति पन्तले सचेतनाको अभावका कारण लुटपाट हुने गरेको बताए । ‘भारत जाँदा लुटिँदैनन्,’ उनले भने, ‘आउँदा लुटिन्छन्, किनकि फर्केर आउँदा उनीहरूको साथमा पैसा हुन्छ ।’ भारत जाने वेला सीमा क्षेत्रमा सचेतना दिनुपर्नेमा उनले जोड दिए । अर्काको विश्वास गर्दासमेत लुटिने बताउँदै अधिकारकर्मी पन्त लुटपाट रोक्न मजदुरका बैंक खाता खोल्नुपर्ने र सरकारी निकायले नियमन गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘तिहारका वेला दुवै देशका सीमा अधिकारीले समन्वय गरेर लुटपाट र ज्यादतीका घटना न्यूनीकरण गर्नुपर्छ, मजदुरलाई आवागमनमा सुरक्षित बनाउनुपर्छ ।’

Published on: 27 September | Naya Patrika

Back to list

;