s

दशकपछि दसैं मनाउन घरतिर

होम कार्की

पाँचथरका ठाकुरसिंह लामा गाउँ फिर्दा परिवारदेखि छरछिमेक साथीभाइको सधैं एउटै गुनासो सुन्नुपथ्र्यो, 'अब त दसैंमा मिलाएर आउ ।' उनले यस्तो गुनासोलाई मन्द मुस्कानमा टाउको हल्लाउँदै भन्थे, 'हुन्छ, अब अर्को वर्ष ।'

वैदेशिक रोजगारमा गएका सुरुका तीन वर्षमा त्यस्तो गुनासो खासै सुन्नु पर्दैन्थ्यो । उनी पहिला साउदीमा ५ वर्ष बिताए । त्यसपछि कतार आए । जब वर्षहरू थपिँदै गए, त्यसपछि भने परिवारको मन पनि खल्लो हुन थाल्यो । चाडपर्वमा बिछोडको अनुभव बढी नै हुन्थ्यो । चाडपर्व नजिकिँदै आएपछि कम्पनीमा कुरा गर्थे, बिदाको समय मिल्दैनथ्यो । वर्ष यसरी नै टथ्र्यो । 'अब त अति भयो,' लामा भन्छन्, 'जे पर्ला, त्यो सहुँला भनेर कम्पनीसँग दरिलोरूपमा आफ्ना भनाइ राख्दा जाने अवसर मिल्यो ।' कतार विमानस्थलमा पुग्दा उनी घरपरिवारलाई बढो उत्सुकतापूर्वक फोनमा बात गरिरहेका लामा 'घरमा आउने खबर सुन्दा खुसियाली छाएको' सुनाए । 'भोलि त पुग्छु,' भन्दै थिए, '१३ वर्षपछिको चाडपर्वमा घरपरिवार साथीभाइसँगको बसाइँको अनुभव बढो आनन्दायी हुने भयो ।' 

घर फिर्नेको ताँती

सामान्यतया २२ महिनाको समय पुगेपछि कम्पनीले घर बिदा दिने चलन छ । आपतकालीन परे कम्पनीमा त्यसको कारण पुस्टि गर्नुपर्छ । जब चाडपर्व नजिकिन्छ, परिवार र साथीभाइको यादले सताउन थाल्छ । राजदूत मायाकुमारी शर्माका अनुसार चाडपर्वमा घर फिर्ने समस्या लिएर बढी आउने गरेका छन् । कम्पनीका अधिकारीहरूका अनुसार यस्तो बेला बिदामा जान खोज्नेहरूको निवेदनको लर्को लाग्छ । बागलुङका शिवबहादुर खत्रीले सात महिनाअघि नै कम्पनीमा निवेदन दिएका थिए । 'घर जाने विषय हामीमाथि निर्भर हुँदैन,' खत्री भन्छन्, 'यो कम्पनीमा भर पर्छ । त्यसका लागि सात महिनादेखि हेरिरहेको थिएँ ।'

'घर जान पाऊँ भनेर तीन महिनाअघि नै निवेदन पर्छ,' एक कम्पनीका मानव संशोधन शाखाका एक अधिकारी भन्छन्, 'कम्पनीको नियमअनुसार बिदा दिन मिल्नेहरूलाई मात्रै अनुमति दिने व्यवस्था छ ।'

लमजुङका विश्वराज गुरुङले दसंैमा घर जानका लागि ३ महिनाअघि कम्पनीमा निवेदन दिएका थिए । 'यसपालि चानस मिल्यो,' १२ वर्षदेखि दसंै मनाउन नपाएका गुरुङ भन्छन्, 'विदेश हिँडेपछि त्यही हो, भनेको केही पूरा नहुने । यसपालि भने आफूलाई भाग्यमानी ठानेको छु ।' 

विश्वराज कयौं वर्षसम्म एकसाथ नभेटेका आफ्ना आफन्त, मित्रजनहरूबीच रमाइलो गर्न पाउने हुँदा दंग छन् । 'मैले त कता-कता चाडपर्वमा मजा लिनै बिर्सिसकेको छु कि जस्तो लाग्छ,' भन्छन्, 'अब फेरि पुरानै दिन फर्केको जस्तो लागेको छ ।' 

गोरखा पालुङटारका मीनबहादुर परियार आफ्नो डिपार्टमेन्टलमा धेरै साथीहरू भएकाले बिदा पाएँ । 'एक वर्षमा एक महिना छुट्टी पाइन्छ । बिदा कहिले पाउने भन्नेमा कामदारको संख्यामा भर पर्छ,' परियार भन्छन्, 'संयोगले यसपटक समय नपुगे पनि दसंैमा जान पाइयो ।' उनको विभागबाट मात्रै १३ जना गइसकेका छन् ।

बूढा बुवा-आमाको बढी आशा 'यसपालि टीका लगाइदिन पाए हुन्थ्यो, अर्को वर्ष के होला के ?' दसैंमा उमेर नाघेका बुवा-आमाको एउटै चाहना हुन्छ, 'छोराछोरी आइदिए हुन्थ्यो ।' यसले गर्दा झन् यहाँ कार्यरत नेपालीलाई बढी नै दबाब पर्छ । यही दबाबमा परेर गौराहा झापाका धर्म श्रेष्ठ ६ वर्षपछि गएका हुन् । 'घरमा बुवा-आमा बूढाबूढी हुनुहुन्छ । उहाँहरूले जसरी पनि टीका लगाउन आउनु भनेर अनुरोध गर्नुभयो', श्रेष्ठ भन्छन,' कति ऋण छ भनेर बस्ने ? त्यही भएर मिलाए ।' उनलाई कम्पनीले बिदा दिन भने मानेको थिएन । 'बरु क्यान्सिल जान्छु भने,' श्रेष्ठले अडान लिए, 'त्यसपछि तीन महिनाको बिदा पाइयो ।' रमादानको बेला निवेदन पत्र बुझाएका श्रेष्ठ लामो समयपछि तिहारमा दिदी-बिहनीसँग टीका थाप्न पाइनेमा खुसी भएका छन् ।

मिर्चिया सिराहाका सरोज प्रधानांगलाई यसपालि जसरी पनि आउन बूढी आमाले भन्नु भएकी रहिछन् । 'दसैं नमनाएको धेरै भयो । यसपालि मिला है भनिराख्नुभयो,' ६ वर्षपछि दसैं मनाउन पाएका प्रधानांग भन्छन्, 'मामा-माइजूले त्यही भन्नुभएको थियो । धेरै वर्षपछि मामाघर टीका लगाउन जान पाउने भएँ ।'  

रेडियो होइन, अब एलसीडी

कपिलवस्तुका शिवलाल बर्माको सम्झना ताजै छ, 'पल्लो गाउँको लाहुरे दसैंमा घर आउँदा काँधमा रेडियो घन्काउँदै आएको ।' चाडपर्वको बेला कालो ब्याग बोक्दै रेडियो घन्काउँदै लाहुरे खेतको आली-आली हिँड्दा पछि पछि लाग्थे । एकदशकपछि उनको अवस्था भने फेरिएको छ, 'दसंैमा घरपरिवारका लागि एलसीडी टीभी लैजाँदैछु ।' १५ सय रियाल हालेर लैजान लागेको यो एलसीडीलाई सुरक्षित बनाउन उनले विमानस्थलमा निकै सजगताकासाथ प्याकिङ गरिरहेका थिए । 'अब यसलाई गाउँमा मोटरको छतमा हालेर लैजानुपर्छ,' उनले भने, 'काँधमा बोक्न त सकिँदैन ।'

उनका साथमा जान लागको रुपेन्देही मर्चुवाका राम मिलन केबट एलजीको नयाँ मोडलको टीभी लिएर गए । 'यसको सबै पाटो राम्रो रहेछ । तीन दिनसम्म कोठामा ल्याएर हेरेको,' केबट भन्छन्, 'यसको मूल्य साढे पाँच सय हो । यो लगेपछि परिवार पनि दंग हुन्छन् ।' क्लिनिङ कम्पनीमा कार्यरत उनी यसको भन्सार तिर्नु नपर्दा अलि मख्खा थिए । 'यसको कर लाग्दोरहेनछ,' उनले भने, 'एलसीडीको मात्रै लिनेरहेछ । नत्र एससीडी लैजान्थेँ ।'

त्यसो त फेरि चाडपर्वमा जाने लाहुरेको खर्च पनि बढी नै हुन्छ । 'यो मेरो लगेजमा ३५ सय रियालको सामान छ,' बर्मा भन्छन्, 'हाम्रो परिवार ठूलो छ । आफन्तहरू कसैलाई केही न केही लगिदिनुपर्छ ।' उनका अनुसार विदेशबाट आएका भनेपछि खर्च पनि त्यही अनुपातमा बढ्छ । सिराहाका बद्री दास यसपालि ४५ हजार रुपैयाँ नाघ्ने अनुमान लगाउँछन् । 'नयाँ घर बनेको छ । दशारामै पूजा गर्ने घरमा योजना छ,' भन्छन्, '४५ हजार त सकिन्छ ।' पाँचथरका लामाले दाजुभाइदेखि छोराछोरीसम्मलाई लुगाफाटा, कम्बलदेखि टीभीसम्म परदेशी कोसेली लिएर गएको बताए ।

अर्को बाधक, टिकट

झापाको श्रेष्ठ आफ्ना रोल्पाका साथीसँगै घर जाने योजना बनाएका थिए । तर टिकट नमिलेको भन्दै कम्पनीेले जान दिएन । 'मैले झन् १७ सय रियालमा एकतर्फी टिकट लिएर आएको,' बागलुङका खत्रीले भने, 'त्यसका लागि धेरै दुःख गर्नुपर्‍यो ।' टिकट अभावकै कारण धेरैजसो दसैंको निकै अघि गएका छन् । 'अक्टोबर १२ तारिख जाने योजना बनाएको थिएँ,' बर्माले भने, 'तर दुई हप्ताअघि सर्‍यो । यसले तिहार सकेलगत्तै आउनुपर्ने भयो ।' 

नेपाल एयरलाइन्सका दोहा प्रमुख विजय शाहले घर फिर्न खोज्नेका लागि टिकट अभाव बताए । 'हामीले मागअनुसार टिकट उपलब्ध गराउन सकेका छैनौं,' उनले भने, 'थप एउटा उडान थप्ने योजना थियो । सफल हुन सकेन ।'

Published on: 13 October 2012 | Kantipur

Back to list

;