s

दर्जनौं मजदुरको सास न लास

शान्तिबजार (रसुवा)-महाभूकम्पमा ज्यान गुमाउनेको १२ औं दिनको काजकिरिया चल्दै गर्दा दाङ, सिमरिहा–२ का खोपेन्द्र ज्ञवाली भने त्यही दिनदेखि हराइरहेका भाइको किरिया बस्ने कि नबस्ने अन्योलमा छन्। हाकु–८, मैलुङस्थित निर्माणाधीन २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत आयोजनामा ओभरसियर रहेका भाइ (काकाका छोरा) केशवको अवस्था बुझ्न उनी एक साताअघि शान्तिबजार आइपुगेका हुन्।

वैशाख १२ गते खाना खाएपछि केशवसहित अन्य कामदार आयोजनास्थलतर्फ फर्कंदै गर्दा सिंगो पहाड खसेर पुरिएको स्थानीय बताउँछन्। पहिरोमा परेर बाँचेकाहरू केही सम्पर्कमा आइसके। अझै थुप्रै यस्ता छन् जो न सम्पर्कमा आएका छन् न त उनीहरूको शव नै फेला परेको छ। 
केशव त्यसैमध्ये एक हुन्।

‘पहाडै पहिरो खसेर सबै त्यसैमा परे भन्ने सुनिएको छ,' भाइको खोजीमा एक सातादेखि शान्तिबजारमा दुःख गरेर बसिरहेका खोपेन्द्रले बुधबार नागरिकसँग भने, ‘बाँचेकाहरू आफैं फर्किरहेका छन्, हाम्रा मानिसको भने अत्तोपत्तो छैन।'


नुवाकोट तथा रसुवाको सीमामा पर्ने यो ठाउँमा माथिल्लो त्रिशूली जलविद्युत आयोजनास्थलसम्म पुग्ने बाटो निर्माणको काम भइरहेको हो। पहिरोले बाटो पूरै पुरिएको छ, डोबसम्म देखिन्न। त्यस दिन कति कामदार संलग्न थिए भन्ने जानकारी नभए पनि निर्माण ठेक्का पाएको जयन्ती कन्स्ट्रक्सनले ३६ जना कामदार र एक प्रहरी हराइरहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा नामावली टिपाएको छ। यो संख्या थपिने क्रम जारी छ।

‘ठेकेदारले आफ्नो सम्पर्कमा आइसकेका बाहेक हराइरहेका ३६ जना कामदारको नामावली टिपाएको छ, पहिरो आएको बेला कति जना काम गरिरहेका थिए भन्ने उनीहरूलाई पनि जानकारी छैन,' रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालले भने, ‘हराइरहेकाहरूको खोजीमा सशस्त्र प्रहरी दिनहुँ जुटेका छन्।'

हराइरहेका ३६ कामदारमध्ये अधिकांश रोल्पा, दाङ, सल्यान, कपिलवस्तु र धादिङ जिल्लाका छन्। खोजीमा आएका परिवारका सदस्य मैलुङभन्दा ४¬¬–५ किलोमिटर वर बसिरहेका छन्। मंगलबार मात्रै रोल्पा, बूढागाउँबाट सार्की परियार आफ्ना भाइ धनबहादुरलाई खोज्दै आइपुगेका छन्। उनकै गाउँका कृष्ण बूढा पनि पिता धनबहादुरको खोजीमा छन्।

‘निकै कहालीलाग्दो अवस्था छ,' केशवका अर्का दाजु माधव ज्ञवालीले भने, ‘हिजो (बुधबार) सशस्त्र प्रहरी र हामी परिवारका केही सदस्य मिलेर खोज्न गएका थियौं, त्यो अत्यासलाग्दो बाटोमा धेरै अघि बढ्नै सकिएन, सुरुङसम्म पुग्ने बेला दुई–तीन जना मात्र बच्यौं।' यसबीच पहिरोमा पुरिएका केही शव आफूले देखेको उनले बताए।

उनीसँगै गएका प्रहरी हवल्दार मनोज खड्काले पनि केही शव भेटिएको पुष्टि गर्दै भने, ‘शवहरू देखिन्छन्, तर ल्याउन सक्ने अवस्था नै छैन। एक्लै हिँड्दा पनि ढलपल ढलपल हुन्छ, बोकेर आउँदा त झन् ज्यानकै जोखिम छ। त्यही भएर प्लास्टिकले छोपेर त्यत्तिकै छाडेका छौं।'

केशवसँग मैलुङमै हराइरहेका धादिङ, बैरेनीका खड्गबहादुर बिडारीलाई खोज्न उनका काका वासुदेव यहाँ आएका छन्। ‘भूकम्प जाँदा केशव र खड्गबहादुर एउटै गाडीमा थिए,' काका वासुदेवले भने, ‘उनीहरू चढेको गाडी पनि भेटिएको छैन।'

उनका अनुसार खड्गबहादुर तीन दिनअघि मात्र काममा पुगेका हुन्। उनलाई गाउँकै साथी मिङ्मारले त्यहाँ लगेका थिए। भूकम्पमै परेका मिङ्मारको शव फेला परिसकेको छ।

जलविद्युत आयोजनाका कामदार मात्र होइन, त्यस दिन मैलुङमा पिकनिक मनाउन त्रिशूलीबाट गएका १४ जनामध्ये ७ जनाको मृत्यु भएको छ। एक जनालाई गम्भीर घाइते आवस्थामा ९२ घन्टापछि पहिरोबाट जीवितै उद्धार गरिएको थियो।

भूकम्पप्रभावित क्षेत्र निरीक्षण गर्न बुधबार नुवाकोट आइपुगेका प्रधानमन्त्री सुशील कोइरालालाई स्थानीय राजनीतिक नेताहरूले मैलुङमा हराइरहेकाहरूको खोजीमा विशेष ध्यान दिन आग्रह गरेका थिए। उद्धारमा संलग्न सुरक्षाकर्मी तथा सरकारी अधिकारी भने लगातार सुक्खा पहिरो गइरहेकाले खोजीमा अप्ठ्यारो भइरहेको बताउँछन्।

‘माथिबाट सुक्खा पहिरो जाँदा खोजीमा समस्या भइरहेको छ,' सहायक प्रजिअ रिमालले भने, ‘बाटो खन्दा ब्लास्टिङ गरिएकाले पनि चट्टान कमजोर भएर पहिरो गइरहेको हुनसक्छ।' उनका अनुसार खोजी क्रममा एक सशस्त्र प्रहरी घाइतेसमेत भएका छन्।

खोजी र उद्धार जति लम्बिँदैछ, आफन्त खोज्दै आइपुगेकाको चिन्ता उत्ति बढ्दैछ। हराइरहेकाहरूको सास फेला पर्ने त उनीहरूले आसै गरेका छैनन्, लाससम्म पाइदिए पनि किरिया थाल्न हुन्थ्यो भन्ने सोचिरहेका छन्।
‘आज १२ दिन भइसक्यो, लाससम्म फेला परे पनि काजकिरिया गर्न हुन्थ्यो,' खोपेन्द्रले भने, ‘हामीले यसबारे प्रशासन कार्यालयमा कुरा राख्दा उहाँहरूसँग पनि ठोस जवाफ छैन। पूरै जिल्लामा तहसनहसको अवस्था छ। केन्द्रले यसमा ध्यान दिनुपर्यो ।'

Published on: 7 May 2015 | Nagarik

Back to list

;