s

धार्चुलामा अलपत्र नेपालीलाई उतै रोक्ने निर्णय, ३ जना महाकालीमा पौडिँदै आए

१७ चैत, काठमाडौं । नेपाल र भारतको सीमा दार्चुलापारि धार्चुलामा अलपत्र परेकाहरूलाई नेपाल प्रवेश गर्न नदिने निर्णय प्रशासनले गरेको छ । स्थानीय प्रशासनले स्वदेश आउन नदिएपछि तीन जना नेपाली भने महाकाली नदीमा पौडी खेल्दै नेपाल प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली भूमिमा आउनासाथ प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको छ । 

कोरोना भाइरस रोकथामको उद्देश्यले गरिएको  लकडाउनपछि भारतका विभिन्न स्थानबाट घर फर्किन लागेका पाँच सय ६३ जना नेपाल–भारत सीमा धार्चुलामा तीन दिनदेखि अलपत्र छन् । लामो समयदेखि सीमा नाका नखोलिएपछि दार्चुलाका दुई र बैतडीका एक गरी तीन जना नेपालीहरु सोमबार दिउँसो महाकालीमा हामफालेर पौडी खेल्दै नेपाल आएका थिए । अर्धनग्न उनीहरुलाई नेपाल प्रवेश गर्नासाथ प्रहरीले पक्रेको थियो । 

भारतमा अलपत्र रहेकाहरूले घर फर्कन संघर्ष गरिरहेका बेला सरकारले प्रवेश नदिने निर्णय गरेको हो । सोमबार बिहान गृहमन्त्रालयको निर्देशनपछि भारतीय पक्षसँग छलफल गरी धार्चुलामा रहेका नेपालीलाई लडकडाउनको अवधिभर  नेपाल प्रवेश गर्न नदिने निर्णय भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यदुनाथ पौडेलले जानकारी दिए । प्रजिअ पौडेलका अनुसार, धार्चुलामा रहेका सबै नेपालीलाई खाने-बस्ने प्रवन्ध भारतीय सरकारले गर्नेछ । 

धार्चुलामा अलपत्र नेपालीहरु

‘लकडाउनको पालना गर्दै नेपालको सीमा धार्चुला (भारत) मा रहेका नागरिकलाई नेपाल प्रवेश गर्न नदिने निर्णय भएको छ,’ प्रजिअ पौडेलले अनलाइनखबरसँग भने, ‘उनीहरूको बसोबास, खानपानलगायतका सबै व्यवस्थापन भारतले गर्नेछ । केही सहयोग आवश्यक परे हामीले पनि सहजीकरण गर्छौं ।’ 

सीमा नाका धार्चुलामा रोकिएका नेपालीहरुलाई चार समूहमा विभाजन गरेर भारतीय पक्षले स्थानीय विद्यालय लगायतका सार्वजनिक स्थान राखेको प्रजिअ पौडेलले बताए । 

नेपालतर्फ अलपत्र परेका भारतीयको भने आफूहरूले नै व्यवस्थापन गर्ने उनले जानकारी दिए । यद्यपि, नेपाली भूमिमा अलपत्र परेको भनेर अहिलेसम्म कुनै पनि भारतीय नागरिक सम्पर्कमा नआएको उनले बताए ।

Published on: 30 March 2020 | Onlinekhabar

Link

Back to list

;