s

दलालको भर पर्दा यता न उता

शिवहरि घिमिरे

काठमाडौं – अफ्रिकी मुलुक माल्टा जाने चक्करमा गुल्मीका कृष्ण खड्काले काठमाडौंको सुन्धारास्थित ‘ग्लोरियस वेलनेस स्पा प्रा.ली’ कम्पनीका सञ्चालन बावुराम श्रेष्ठलाई गत असोजमा ६ लाख नगदसहित पासपोर्ट जिम्मा लगाए। त्यसको एक सातापछि सञ्चालक श्रेष्ठले आधा काम भइसकेको भन्दै कृष्णसँग थप पाँच लाख रुपैयाँ मागे। माल्टा जाने सपना साकार पार्न कृष्णले श्रेष्ठलाई खुरुखुरु पैसा बुझाउँदै गए।

श्रेष्ठले उनलाई कात्तिकसम्म माल्टा पठाइसक्ने बचन दिएका थिए। तर गाउँबाट ऋण खोजेर काठमाडौं आएर श्रेष्ठ (दलाल) लाई पैसा बुझाएका कृष्णको माल्टा जाने सपना मात्रै तुहिएन, ऋण काढेर बुझाएको पैसाले पुर्पुरो समाउनुपर्ने बनायो। ‘होला त नि भनेर ऋण काढेरै पैसा बुझाएँ, दलालले यता न उता पारिदिए,’ आइतबार टेकुमा भेटिएका उनले भने।

कात्तिकमा विदेश पठाउँछु भनेका श्रेष्ठ कार्यालय बन्द गरी फोन स्विच अफ गरेर भागेको कृष्णले बताए। ठगिएपछि उनी माघको पहिलो साता महानगरीय प्रहरी परिसरमा जाहेरी बोकेर पुगेका थिए। उनीजस्तै श्रेष्ठबाट ठगिएर परिसरमा जाहेरी दिने धेरै छन्। श्रेष्ठबाट ठगिएको भन्दै ६० भन्दा बढीले परिसरमा उजुरी दिएका छन्। ६० जनाबाट दुई करोडभन्दा बढी रकम ठगेर भागेका श्रेष्ठलाई पक्राउ गर्न प्रहरी लागिप-यो। अर्घाखाँची छत्रदेव गाउँपालिका–७ भगवती घर भई काठमाडौंको सुन्धारा बस्ने ३८ वर्षीय श्रेष्ठलाई नेपालगन्जबाट पक्राउ गर्न प्रही सफल भयो। उनले २६ जनालाई माल्टा पठाउँछु भन्दै प्रतिव्यक्ति १० लाखका दरले रकम असुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार श्रेष्ठले महिनामा १२ सय युरो कमाइ हुन्छ भन्दै उनीहरूलाई प्रलोभनमा पारेका थिए। अन्य ३४ जनालाई कुवेत पठाउँछु भनेर जनही ६/६ लाख उठाएर श्रेष्ठ फरार भएका थिए। पीडितहरूले जाहेरी दिएपछि जिल्ला अदालत काठमाडौंले श्रेष्ठलाई पक्राउ गर्न भनी एक साताअघि पक्राउ पुर्जी जारी गरेको थियो।

परिसरका प्रवक्ता होविन्द्र बोगटीले श्रेष्ठको कार्यालय खानतलासी गर्दा नक्कली कागजात र ५६ थान राहदानी फेला परेको बताए। उनका अनुसार अमेरिका, अस्ट्रेलिया, पोल्यान्ड, माल्टालगायत युरोपेली मुलुकमा पुग्ने सपना बुनेर हचुवामा दलाललाई पैसा बुझाउँदा युवा ठगिने क्रम बढेको छ। मेनपावर कम्पनी र पठाउने व्यक्तिको पृष्ठभूमि नै नबुझी पैसा बुझाउँदा ठगिन पुगेका हुन्। ‘कालो कोट र टाई, कालो चस्मा, कार्यालय देखेपछि हामीले खुरुक्क विश्वास गर्छौं, त्यो कम्पनी कस्तो हो, मान्यता प्राप्त छ वा छैन, विगतमा कसकसलाई पठायो, श्रम विभागबाट स्वीकृति लिएको छ वा छैनलगायत कुराको हेक्का राख्दैनौं,’ प्रवक्ता बोगटीले भने, ‘दंग पर्दै सर्लक्क पैसा निकालेर बुझाउँछन्, अनि किन नफस्नु ?’

उनका अनुसार सजिलै विश्वास गर्ने बानीले कैयौं युवा दलालबाट फस्ने गरेका छन्। चार दिनअघि श्रेष्ठजस्तै ठगी गर्ने अन्य दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। २६ जनालाई ठगी गरेर फरार रहेका २४ वर्षीय राधे शाह र चारजनाबाट १३/१३ लाख ठगी गर्ने ३६ वर्षीय ललित तामाङलाई परिसरको टोलीले काठमाडौंबाट पक्राउ गरेको छ। प्रहरी हिरासतमा राखेर उनीहरूमाथि अनुसन्धान भइरहेको छ।

विदेश जाने सपनामा लाखौं रकम दलाललाई बुझाएका युवा जाहेरी बोकेर दैनिक प्रहरी कार्यालय धाउने गरेका छन्। काठमाडौं र ललितपुर परिसरमा दैनिक पाँचवटाभन्दा बढी वैदेशिक ठगीका जाहेरी पर्छन्। ठगिएकामध्ये अधिकांश ग्रामीण भेगका युवा रहेको ललितपुर परिसरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए। उनले वैदेशिक रोजगारका क्रममा ठगिएका युवामा डिप्रेसनको समस्या देखिएको बताए। ‘युवाले सामान्य विषयमा ध्यान नदिँदा फस्ने गर्छन्, कम्तीमा आफूले विदेश जान प्रयास गरेको कम्पनीबारे राम्ररी बुझ्नु त पर्छ नि तर दलालकै भरोसामा सबै कुरा छाडिन्छन्, फसेपछि मात्रै थक्क भन्छन्,’ उनले भने।

वैदेशिक रोजगार विभागका अनुसार काम नबुझीकनै दलालको विश्वासमा विदेसिएका युवा अलपत्र परेर फर्कने क्रम बढेको छ। विभागको तथ्यांक अनुसार असारयता कतार, दुबई, साउदी अरेबिया, मलेसिया, कुबेतलगायत देश गएका एक सय ६५ जना अलपत्र परेर फर्किएका छन्। विभागका सूचना अधिकारी भोलानाथ गुरागाईंले दलालको विश्वासमा विदेसिएका युवा ऋणको भारी बोकेर फर्कने गरेका छन्। ‘आवश्यक पराशर्म नलिईकन दलालको भरमा विदेश जाँदा अलपत्र पर्नेको संख्या धेरै छ,’ उनले भने, ‘त्यसैले व्यक्ति आफैं सचेत हुनुपर्छ।’

Published on: 10 March 2020 | Nagarik

Link

Back to list

;