s

दलाल समातिए, युवती सिरियामै

प्रतिमा बाँस्कोटा

एक महिनाअघि एक युवतीले आफ्नो फेसबुकमा अनुरोध गरिन्, ‘सरकार, म बाँच्न चाहन्छु, यो नर्कबाट म नेपाल आउन चाहन्छु।’ उनले आफू मर्नु र बाँच्नुको दोसाँधमा सिरियामा रहेको भन्दै उद्धारका लागि अनुरोध गरेकी थिइन्। युवतीले आफ्नो आर्थिक स्थिति सुधार्न दलालको प्रलोभनमा परी कागजात जिम्मा लगाएको भन्दै दोषीलाई कानुनबमोजिम कारबाही गर्न पनि माग गरेकी थिइन्।

त्यसैअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को खोजतलासपछि मंगलबार बुटवलका एसके भनिने शोभाकान्त भट्टराईलाई प्रहरीले चाबहिलस्थित डेराबाट पक्राउ गर्योि। प्रहरीले भट्टराईको कोठाबाट ४ थान राहदानी, युवतीका नाममा जारी भएका १५ थान पुलिस रिपोर्ट, १२ थान मेडिकल रिपोर्ट र भिसा लागेको कागजपत्र २० वटा बरामद गर्योग। सीआईबीका अनुसार वैदेशिक रोजगारसम्बन्धी कुनै संस्था दर्ता नगरेका भट्टराईले थापा मगरसँगै अन्य तीन युवतीलाई समेत सुनौली नाका हुँदै भारतको महिपालपुरमा १५ दिन राखेको र त्यहाँबाट सिरिया पठाएका थिए। भट्टराईले अहिलेसम्म ३० भन्दा बढी युवतीलाई कुवेत, १५ जनालाई दुबई र ३ जनालाई सिरिया पठाएको स्वीकार गरेका छन्। भट्टराईसँग मिलेमतो भएका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सीआईबीका प्रहरी उपरीक्षक (एसपी) श्यामलाल ज्ञवालीले आफूहरूले युवतीको उद्धारका लागि पहल गर्न गृह हुँदै परराष्ट्र मन्त्रालयलाई आग्रह गरी पत्र पठाएको बताए। द्वन्द्वग्रस्त मुलुक सिरियामा नेपालको दूतावास वा कूटनीतिक नियोग छैन।

अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) मार्फत समेत उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ। ‘द्वन्द्वको चपेटामा परेका कारण त्यो पनि सम्भव देखिएको छैन,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘सरकारले आफ्नो खर्चमा उद्धार गर्न सक्ने स्थिति छैन।’ ती महिलाले फेसबुकमा उद्धारको अनुरोध गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, श्रम तथा रोजगार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वैदेशिक रोजगार तथा श्रम सहचारी समन्वय शाखाले प्रहरीलाई अनुसन्धानका लागि पत्राचार गरेका थिए। बुटवलमा ब्युटिपार्लर चलाउँदा चलाउँदै चिनजान भएका शोभाकान्त भट्टराईले दुबईमा राम्रो कम्पनीबाट जागिरको अफर आएको भन्दै युवतीलाई प्रलोभनमा पारेका थिए।

चलाउँदै आएको ब्युटिपार्लर बहिनीको जिम्मा लगाएर दुबई जान उनी भट्टराईको साथ लागेर हिँडेकी थिइन्। काठमाडौं आएको केही समयपछि अरू तीन महिलालाई पनि भट्टराईले ल्याए र चार जना नै एउटै कम्पनीमा जाने भन्दै प्रलोभनमा पारेका थिए। उनले भिसा आएको भन्दै २०७१ वैशाख १८ गते दिल्ली पठाएका थिए।

काठमाडौंबाट सोझै दुबई जान नमिल्ने भन्दै भट्टराईले दिल्लीमा पन्चु लामा नामका व्यक्तिलाई भेट्न लगाए। लामा पनि दलाल नै रहेछन्। उनले वैशाख २५ गते उनीहरूलाई दिल्लीबाट दुबई भनेर सिरिया पुर्यानएका रहेछन्। त्यहाँ पुगेपछि थाहा भयो, उनीहरूलाई प्रतिव्यक्ति ६ हजार डलरमा बेचिएको रहेछ। उनले सिरियामा बिहान ४ देखि राति १२ बजेसम्म काम गर्नुपरेको बताएकी छन्। छातीमा स्वास्थ्य समस्या देखिएकी उनको छातीबाट रगत र घाउ पाकेपछि पीप आउने गरेको उल्लेख गरेकी छन्।

उनले घाउ सुक्ने र नदुख्ने औषधि खाएर बाँचिरहेको बताएकी छन्। उद्धारको अनुरोध गर्दागर्दै उनले आफूलाई बिक्री गर्ने दलाललाई कानुनी दायरामा ल्याउन अनुरोध गरेकी थिइन्। उनले सरकारका साथै प्रतिपक्षी दलका नेता, मानव अधिकारवादी र समाजसेवीसँग पनि आफूलाई बचाउन अनुरोध गरेकी छन्। उनले आफूलाई बेच्ने भट्टराई, लामा र सिरियास्थित कम्पनीको मान्छेका बारेमा समेत लेखेकी छन्।

Published on: 8 July 2015 | Kantipur
 

Back to list

;