s

दलालको दलदलमा नेकपा : विजय मिश्रको ‘केस स्टडी’

३ चैत, काठमाडौं । सुरक्षण मुद्रण (छापाखाना) खरीदका लागि तत्कालीन सञ्चार मन्त्री गोकुल बास्कोटासँग ७० करोड कमिसनको प्रस्ताव गरेर अडियो रेकर्ड गराउने विजय मिश्र को हुन् ? कमिसन प्रकरणपछि गुपचुप रहेका मिश्रबारे पर्याप्त सूचना बाहिर आइसकेका छैनन् । हामीले मिश्रको ‘ट्रयाक रेकर्ड’ पहिल्याउँदा उनको पहुँच नेकपाका उपल्ला नेताहरुसम्मै रहेको भेटियो । पूर्वएमालेका कार्यकर्ता रहेका लमजुङ निवासी मिश्र म्यानवापर दलालसमेत रहेको खुलासा भएको छ । कम्युनिस्ट नेताहरुलाई कसरी बिचौलियाले र्‍याइँर्‍याइँ घुमाइरहेका रहेछन् भन्ने थाहा पाउन विजय मिश्र प्रकरण एउटा बलियो सन्दर्भ सामाग्री हुन सक्छ । नेताको आड लिएर बिचौलियाले कसरी प्रधानमन्त्री, मन्त्री र कर्मचारीहरुलाई समेत आफू अनुकूल प्रयोग गर्दा रहेछन् भन्ने दृष्टान्त पनि यो प्रकरणले खुलासा गरिको छ । श्रम विभागमा भेटिएको रेकर्ड अनुसार विजय मिश्र पुराना म्यानपावर दलाल हुन् । उनीविरुद्ध पुराना उजुरीका फाइलहरु अहिले पनि श्रम कार्यालय र सरकारी वकिलको कार्यालयतिर घुमिरहेका छन् । गोकुल बास्कोटासँग ७० करोड कमिसनको बार्गेनिङ गर्ने मिश्र लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ७ निवासी हुन् । हाल उनको घर टोखा नगरपालिका वडा नम्बर ८, बानियाँटार हाइटमा छ । गोकुल बास्कोटा र विजय मिश्रको अडियो प्रकरणलाई नेकपा नेताहरुले ढिसमिस पार्ने प्रयास गरिरहेका छन् अञ्दाजी ५५ वर्षका मिश्रको विगत विवादास्पद मात्र छैन, उनीविरुद्ध सरकारी निकायमा ठगीको मुद्दासमेत विचाराधीन छ । तर, उनले राजनीतिक शक्तिका आडमा आफूविरुद्धको मुद्दालाई ढिसमिस बनाउँदै आएका छन् । उनीविरुद्ध लमजुङकै एक व्यक्तिले २९ लाख बिगोसहित श्रम कार्यालयमा ठगीको मुद्दा हालेका छन् । यो मुद्दा सरकारी वकिलको कार्यालयमा पुगेर थन्किएको छ । उनले यसवीचमा पुतली सडकमा कृष्ण पाउरोटी नजिकै पद्मश्री नामको कम्पनी खोलेर मानिसहरुलाई जापान पठाउने गर्थे । बिजनेश भिसा, टुरिस्ट भिसा र स्टुडेन्ट भिसामा मानिस विदेश पठाएर अलपत्र पारेपछि उनीविरुद्ध श्रम कार्यालयमा उजुरी परेको हो । मिश्रले केही समय भगवती बहालमा रेस्टुरेन्ट पनि चलाए । नक्सालमा ‘सेटेलाइट कार्यालय’ पनि खोले । सन् २००८ तिर ब्रोकर अफिस खोलेका थिए, तर झमेलामा परेपछि बन्द गरे । जापानमा मान्छे पठाउने व्यवसाय नफापे पनि मिश्रसँग अहिले लगानी बोर्डले दिएको एउटा चिठी छ, जुन चिठीकै आधारमा उनले नेकपाको दुईतिहाई सरकारका मन्त्रीलाई थर्काउने र पदच्युत गराइदिने हैसियत बनाएका हुन् । नेकपा अध्यक्ष प्रचण्ड २०७३ साउन ३० मा प्रधानमन्त्री बने । प्रचण्डको मन्त्रिपरिषदमा कृष्णबहादुृर महरा उपप्रधान तथा अर्थमन्त्री भए । कानूनतः लगानी बोर्डको अध्यक्षमा प्रधानमन्त्री र उपाध्यक्षमा अर्थमन्त्री रहने प्रावधान छ । यही प्रावधानअनुसार प्रचण्ड अध्यक्ष र महरा सहअध्यक्ष भएको लगानी बोर्डले म्यानवापर व्यवसायी मिश्रलाई सुरक्षण मुद्रण खरीद प्रकरणका लागि सम्भाव्यता अध्ययन गर्ने लिखित अनुमति दिएको हो । तर, प्रचण्ड सरकारका पालामा लिएको अनुमति अनुसार मिश्रले कुनै काम गरेनन् ।

श्रम कार्यालयमा ठगीको उजुरी, पृथ्वी सुब्बाको सोर्स !

जापानमा कामदार पठाइदिन्छु भनेर ठगी गरेको अभियोयो लागेका मिश्रले श्रम कार्यालयमा आफूविरुद्ध उजुरी गर्ने पीडितलाई नेकपाका ठूला नेताको बलमा थर्काएर तह लगाएको अर्को तथ्य भेटिएको छ । आफूलाई स्वीसस्थित केबीए–नोटासी कम्पनीको नेपाल प्रतिनिधि बताउनूपूर्व मिश्र जापानको टोकियोमा बस्थे । उनले त्यहाँ जापानी महिलासँग विवाह गरेका थिए । त्यसैक्रममा उनले नेपालबाट मानिसहरुलाई जापान लैजाने म्यानपावर सप्लायर्सको काम गरे । त्यही क्रममा आफ्नै जिल्लाबासी अर्थात्, लमजुङतिरका मानिसबाट रकम लिएर ठगी गरेको आरोपमा उनीविरुद्ध श्रम विभागमा उजुरी पर्‍याे । जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेको उनीविरुद्धको मुद्दाको फायल अहिले हराएको छ । मिश्रबाट पीडित बनेका व्यक्ति अनलाइनखबरको सम्पर्कमा आएका छन् ।

Published on: 16 March 2020 | Onlinekhabar 

Link

Back to list

;