s

दक्षिण भारतमा एक नेपाली दम्पतीमा कोरोना संक्रमण

सुरेशराज न्यौपाने 

नयाँदिल्ली — कामको सिलसिलामा भारतमा बस्दै आएको एक नेपाली दम्पतीमा कोरोना संक्रमण  भएको खुलेको छ । दक्षिण भारतको बेंग्लोरमा बस्दै आएको एक नेपाली परिवारका ४५ वर्षीय पुरुष र ३५ वर्षीया महिलामा कोभिड–१९ पुष्टि भएको हो । 

नेपालको बझाङ घर भएको त्यो दम्पतीमध्ये पहिले श्रीमतीमा दुई साताअघि कोरोना संक्रमण देखिएको थियो। उनी एक भारतीय परिवारमा घरेलु कामदारका रुपमा कार्यरत थिइन्। त्यो परिवारकी एक महिला सदस्य गत १२ मार्चमा लण्डनबाट बेंग्लोर आएकी थिइन्। दुई दिन घरमा बसेकी उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। पछि स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उक्त भारतीय परिवारको घरमा काम गर्नेहरु सबैलाई बेंग्लोरकै भिक्टोरिया अस्पतालमा आइसोलेसनमा राखेर स्वास्थ्य परीक्षण गरियो। दुई दिनपछि अएको स्वास्थ्य परीक्षण रिपोर्टमा ती नेपाली महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको हो। 

ती नेपाली महिलामा कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनलाई उनका श्रीमान् र चारजना छोराछोरीलाई पनि तत्कालै आइसोलेसनमा राख्नका लागि स्थानीय केसी जनरल अस्पताल पुर्याइएको थियो। त्यहाँ तत्कालै उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो। स्वास्थ्य परीक्षणमा आफूलाई मात्र कोभिड १९ संक्रमण देखिएको श्रीमानले कान्तिपुरसँग बताए। छोराछोरीको रिपोर्ट भने नेगेटिभ आएको उनले बताए। ‘मेरो मात्र पोजिटिभ रिपोर्ट आयो, धन्न छोराछोरीमा केही देखिएन,’ उनले भने। 

हाल उनी र चारै जना छोराछोरीलाई बैंग्लोरकै केसी जनरल अस्पतालमा राखिएको छ। रिपोर्ट पोजिटिभ आए पनि आफूलाई खासै गाह्रो नभएको उनले कान्तिपुरलाई बताए। ‘त्यही हो बेलाबेलामा ज्वरो आउँछ नत्र धेरै गाह्रो छैन। सुधार हुँदै गएको छ,’ उनले भने। 

१४ दिनको उपचारपछि महिलाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। र, उपचारपछि गरिएको पछिल्लो स्वास्थ्य परीक्षण कोरोना समेत देखिएको छैन। फेरि अर्को परीक्षण गरिएको र उनको तेस्रो रिपोर्ट भने आउन बाँकी रहेको बताइएको छ। साथै त्यो नेपाली परिवारको सम्पर्कमा आएका अन्य पाँच जनालाई आइसोलेसनमा राखिएको छ। 

बिहीबार साँझसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ हजार ३२ पुगेको छ भने ५८ जनाको मृत्यु भएको छ।

Published on: 2 April 2020 | Kantipur

Link

Back to list

;