s

दक्षिण कोरियामा कोभिड–१९ को प्रकोप, थेगु सहरका ८ हजार नेपाली त्रासमा

अर्जुन अधिकारी

पछिल्लो चार दिनमा दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेको छ । सोमबार एक सय ४६ जनामा कोरोना भाइरसको जीवाणु पत्ता लागेको रोग नियन्त्रण महाशाखाले जनाएको छ । मृत्यु हुनेको संख्या आठ पुगेको छ । अहिलेसम्म आठ सय ३३ जना संक्रमित भइसकेका छन् । संक्रमणसँगै मृत्युको दरसमेत बढ्न थालेपछि त्यहाँ रहेका नेपालीमा त्रास बढ्न थालेको छ ।

नेपाली जनसम्पर्क समिति कोरियाका पूर्वअध्यक्ष नवराज सिवाकोटीले कोरोना भाइरसको संक्रमण बढेसँगै नेपाल जाने वा बस्ने भन्नेमा अन्योल देखिएको बताए । शनिबार भाइरसका कारण थेगु सहरमा एक कोरियन नागरिकको मृत्यु भएको थियो । मृत्यु हुनेमा मोटर पार्टस् कम्पनीका चालक हुन् । सोही कम्पनीमा काम गर्दै आएका १६ जना नेपाली बढी त्रासमा रहेको सिवाकोटीले नयाँ पत्रिकालाई बताए ।

‘उनीहरू स्वदेश फर्कन खोजिरहेका छन् । कोरिया सरकारले क्वारेन्टाइन (सुरक्षित स्थान)को व्यवस्था गरेको छैन, तर उनीहरू आफैँ सुरक्षित तवरले बसिरहेका छन् । कम्पनीले भने काममा फर्कन आग्रह गरेको छ,’ उनले भने, ‘थेगुमा आठ हजार नेपाली छन् । अहिलेसम्म सुरक्षित भएको जानकारी आएको छ, तर खतरा भने प्रत्येक सेकेन्ड बढिरहेको छ ।’ यही गतिमा भाइरस बढ्दै गए नेपाली नागरिक थप जोखिममा पर्ने देखिएको छ ।

Published on: 25 February 2020 | Naya Patrika

Link

Back to list

;