s

दक्षिण कोरियाले नेपाली कामदार थप्ने

दक्षिण कोरियाले नेपाली कामदारको संख्या बढाउने भएको छ । यसअघि गएका नेपाली कामदारले राम्रो काम गरेको भन्दै संख्या बढाउन कोरिया सहमत भएको हो । रोजगार अनुमति प्रणाली (इपिएस) को दसौं वार्षिकोत्सवको अवसरमा दक्षिण कोरिया भ्रमणमा गएका बैदेशिक रोजगार विभागका महानिर्देशक जगन्नाथ देबकोटालाई त्यहाँको सरकारले नेपाली कामदारको संख्या बढाउने जानकारी दिएको हो ।

नेपाली कामदार इमान्दारी र मेहनती भएको कोरिया सरकारको ठम्याइ छ । नेपाल सरकारले लामो समयदेखि आफ्नो कामदारको संख्या बढाउन कोरियासँग आग्रह गर्दै आएको थियो । आन्तरिक श्रम बजारमा वार्षिक रुपमा प्रबेश गर्ने कामदारको संख्या पहिल्यै निश्चित नहुने भएकाले विदेशी कामदारको कोटा निश्चित गर्न नसकेको जानकारी कोरियाले गराएको छ । संख्या बढाउने बताए पनि आगामि वर्ष कति कामदार लैजाने भन्ने यकिन जानकारी भने कोरियाले गराएको छैन । कोरियाले औपचारिक रुपमा लैजाने संख्याका बारेमा जानकारी नदिए पनि अनौपचारिक रुपमा दुई हजार देखि तीन हजारसम्म बढ्न सक्ने संकेत गरेको छ । कोरियाले लैजाने कामदारको संख्या गोप्य राख्ने बताउँदै आइरहेको आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

Published on: 19 August 2014 | Annapurna Post

Back to list

;