s

दक्षिण कोरियाद्वारा श्रमिक लैजान रोक

गोरखापत्र समाचारदाता 

काठमाडौँ, माघ २९ गते । दक्षिण कोरियामा कोरोनाको सङ्क्रमण बढ्न थालेसँगै श्रमिक लैजान रोक लगाएको छ । नेपालबाट रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत आउँदो सोमबार (फागुन २ गते)का लागि तय भएको नियमित उडान तालिका पनि स्थगित गरिएको जनाइएको छ । दक्षिण कोरियास्थित नेपाली दूतावासले दक्षिण कोरियाको श्रम तथा रोजगार तथा मानव संसाधन मन्त्रालयलाई उद्धृत गर्दै तत्कालका लागि कोरिया आउने अन्तर्राष्ट्रिय उडान स्थगित भएको जानकारी गराएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान ईपीएस पास गरी लामो पर्खाइपछि फागुन २ गते (१४ फेब्रुअरी)मा उडान तय भई रोकिएका श्रमिकको अर्को उडान तालिका कोरियामा कोरोना केही मत्थर हुनेबित्तिकै पहल गरिने जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठले सङ्क्रमण दर कम हुनासाथ रोकिएका श्रमिकलाई तत्काल पठाउने व्यवस्था हुने विश्वास दिलाउँदै केही समय धैर्य गर्न आग्रहसमेत गर्नुभयो । साथै श्रेष्ठले दक्षिण कोरियामा कोरोना भाइरसले पुनः महामारीका रूप लिएकाले त्यहाँ रहेका नेपालीलाई पनि सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।

Published on: 14 February 2022 | Gorkhapatra

Link

Back to list

;