s

‘दक्षिण कोरिया गएका मौसमी कामदारमाथि शोषण’

२८ जेठ, काठमाडौं । मौसमी कामदारको रुपमा दक्षिण कोरियामा गएका नेपाली सहितका प्रवासी मजदुरहरुमाथि श्रम शोषण भएको पाइएको छ ।

दक्षिण कोरियामा नेपालसहित फिलिपिन्स, भियतनाम, मंगोलिया, लाओस, कम्बोडिया, उज्बेकिस्तान, थाइल्याण्ड लगायत देशबाट मौसमी कामदारहरुलाई लैजाने गरिएको छ । ती कामदारहरु धेरैजसो कृषि क्षेत्रमा छन् ।

द डनका अनुसार थम्प्सन रोयटर्स फाउन्डेसनले गरेको अनुसन्धानको क्रममा करिब एक दर्जन कामदारहरुसँग उनीहरुको अनुभवबारे कुराकानी गरिएको थियो । कतिपयले भनिए अनुसारको तलब नपाएको र कतिपयले बिचौलियाको फन्दामा परेको सुनाए ।

समाचारमा दाबी गरिए अनुसार काम दिलाइदिने बहानामा बिचौलियाहरुले महँगो रकम असुलेको, रकम जुटाउन नसक्दा जग्गाजमिन बन्धक राख्नुपरेको अनुभवसमेत कामदारहरुले सुनाएका छन् ।

ज्वाइन्ट कमिटी अफ माइग्रेन्ट्स इन कोरिया, कोरियामा प्रवासी श्रमिकहरुको स्थितिमा सुधार ल्याउनका लागि काम गर्ने एक संस्था हो । सो संस्थाका प्रतिनिधिहरुलाई जिकबो नामका एक कामदारले भनेका छन्, ‘कतिपय मौसमी कामदारहरु मानव तस्करी र जबरजस्ती जोखिम क्षेत्रमा काम गर्न बाध्य भइरहेका छन् ।’ उनले दक्षिण कोरियामा लगिएका कामदारहरुलाई आधुनिक युगको गुलामको एक रुपको संज्ञासमेत दिएका छन् । ‘अहिले यो मानव तस्करीजस्तो देखिएको छ । एजेन्टहरुले मौसमी कामदारहरुसँग गुलाम जस्तो ठानेर व्यवहार गर्दछन्,’ उनले भनेका छन् ।

यसबारे दक्षिण कोरिया सरकारको तर्फबाट प्रतिक्रिया सार्वजनिक भएको छैन ।

वैदेशिक रोजगार ऐनले तय गरेको विधि, प्रक्रिया र पद्धति विपरीत स्थानीय तह चुनावको मुखमा नेपालका धेरै स्थानीय तहहरुले कानुन विपरीत कोरियामा मौसमी कामदार पठाएका थिए । स्थानीय तहहरुले दक्षिण कोरियाका स्थानीय तहबाट कागजात मगाएर नेपाली कामदार पठाएको पाइएको थियो । दक्षिण कोरिया सरकारले आफ्ना प्रदेश र स्थानीय तहहरुलाई विदेशबाट ‘समझदारी’ (एमओयू) मार्फत मौसमी कामदार ल्याउन अनुमति दिएको छ ।

त्यसैको फाइदा उठाउँदै कतिपय स्थानीय तहका जनप्रतिनिधिहरुले कोरियामा मौसमी कादार पठाउने नाममा असुली धन्दा चलाएको आरोप छ ।

फिलिपिन्स सरकारका प्रतिनिधिले द्वीपक्षीय समझदारी अनुसार मौसमी कामदार पठाउने योजना रहेको बताएका छन् । यसमा कम्तिमा ४५ स्थानीय सरकार संलग्न थिए । यो योजना अनुसार काम गर्नेमा फिलिफिन्सका स्थानीय सरकार मातहत एक हजार ६०० इकाइ छन् । ती इकाइहरुले दक्षिण कोरिया प्रशासनसँग मिलेर काम गर्दछन् ।

दक्षिण कोरिया सरकारले सन् २०२२ देखि मौसमी कामदारको योजना सुरु गरेको थियो । यस योजना अन्तर्गत ३ हजार ५०० भन्दा बढी फिलिपिनी कामदारहरु कोरिया पुगिसकेका छन् । ती कामदारहरुलाई आफ्नो गाउँमा कमाइ हुनेभन्दा पाँच गुणा बढी कमाइ हुने बाचा गरेर कोरिया पठाइएको थियो । तर भनेअनुसारको तलब नपाएको कामदारहरुको गुनासो छ ।

दक्षिण कोरियामा वृद्धवृद्धाको जनसंख्या र श्रम गर्नेहरुको जनसंख्या कम छ । त्यसैले सरकारले विभिन्न देशहरुबाट कामदार लैजाने गरेको छ । स्थानीय कामदारले कम तलबमा काम गर्न नमान्ने क्षेत्रमा पनि प्रवासी कामदारहरुको योगदान हुने गरेको छ ।

त्यस्ता प्रवासी कामदारहरुले आफूहरुमाथि हुँदै आएको शोषणबारे बोल्न डर लाग्ने गरेको बताएका छन् । किनकी विरोध गर्दा बेरोजगार भइने डर उनीहरुमा थियो ।

रोयटर्सले दक्षिण कोरियामा काम गरिसकेका फिलिफिन्सका १२ मौसमी कामदारहरुको कागजातमा पनि अनुसन्धान गरेको थियो । त्यसमा पनि प्रक्रिया नपु¥याएको पाइएको थियो ।

कामदारहरुले मुख्य गरी सामाजिक सुरक्षासँग सम्बन्धित नियम पालना नभएको, बिचौलियाबाट ठगिने गरेको, कामअनुसार कम तलब भएको र पिरमर्का सम्बोधन नभएको गुनासो गरेका छन् ।

यस्तै एक श्रमिक हुन् युआन (परिवर्तित नाम) । उनी फिलिपिन्समा धान खेती गर्दछन् । उनलाई दक्षिण कोरियामा करिब ७५० डलर मासिक तलब दिने भनिएको थियो । उनी त्यही आश्वासनमा दक्षिण कोरिया पुगेका थिए । उनलाई घाँस काट्ने काममा लगाइयो । त्यसका लागि उनले दुई घण्टाको यात्रा गरेर पहाडमा उक्लिनुपथ्र्यो र चर्को घाममा काम गर्नुपथ्र्यो । उनले एजेन्टलाई काम परिवर्तन गरिदिन आग्रह गरे । तर उल्टै उनलाई फिलिपिन्स फर्किन भनियो ।

युआन भन्छन्, ‘मलाई फिलिपिन्स फर्किन बाध्य पारियो ।’

एजेन्टहरुले दक्षिण कोरिया जान चाहने कामदारहरुसँग नगद वा त्यसको साटो जग्गा जमिन लिने गर्दछन् । युआनले पनि पाँच एकड जमिन एजेन्टलाई बुझाउनु परेको थियो ।

उनी फिलिपिन्स फर्किएर एजेन्टविरुद्ध कानुनी लडाइ लडे । त्यसका लागि चार महिना समय लाग्यो भने वकिललाई पनि महँगो शुल्क बुझाउनु परेको उनी बताउँछन् ।

Published on: 10 June 2024 | Onlinekhabar

Link

Back to list

;