s

दक्षिण कोरियाबाट हुन्डीमै कारोबार

धेरैलाई थाहा छ, दक्षिण कोरियामा काम गर्ने नेपालीले मासिक एक लाख रुपैयाँभन्दा बढी कमाउँछन्। अहिले २६ हजार नेपाली रोजगारीका लागि कोरिया आएका छन्। यसअनुसार मासिक करोडौं रुपैयाँ नेपाल भित्रन्छ। तर, नेपालीको कमाइ सबैजसो हुन्डीमार्फत नेपाल पुग्छ। अर्थात्, अवैध रूपमा पठाइन्छ। यो विषयमा सरकार र नेपाल राष्ट्र बैंक दुवै जानकार छन्। तर, यसलाई रोक्न अहिलेसम्म प्रभावकारी कदम चालिएको छैन। कामदारको पारिश्रमिकको धेरै अंश अवैध बाटोबाट नेपाल पुगेको छ। 

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७०/०७१ मा मध्यपूर्वका खाडी मुलुकबाट भन्दा कोरियाबाट बैंकमार्फत भित्रिएको रकम कम छ। मासिक पारिश्रमिकअनुसार रेमिटेन्स अन्य देशको तुलनामा कोरियाको बढी हुनुपर्ने हो। तर, अधिकांश रकम अवैध बाटो भएर भित्रिरहेको छ। 

नेपाल राष्ट्र बैंकको गत आवको तथ्यांकअनुसार विदेशबाट रेमिटेन्स भित्रने मुलुकमा कोरिया १४औं स्थानमा छ। आर्थिक वर्ष २०७०/७१ मा कोरियाबाट बैंकिङ प्रणालीमार्फत पाँच लाख ८४ हजार अमेरिकी डलर आएको छ। 

यसैगरी रेमिट कम्पनीहरूमार्फत एक करोड ४० लाख ३७ हजार अमेरिकी डलर भित्रिएको छ। राष्ट्र बैंकले पनि कोरियाको रकम हुन्डीबाट नै बढी आउने गरेको बताउने गरेको छ। 

नेपाल राष्ट्र बैंकको गत आवको तथ्यांकअनुसार विदेशबाट रेमिटेन्स भित्रने मुलुकमा कोरिया १४औं स्थानमा छ। आर्थिक वर्ष २०७०/७१ मा कोरियाबाट बैंकिङप्रणालीमार्फत पाँच लाख ८४ हजार अमेरिकी डलर आएको छ। यसैगरी रेमिट कम्पनीहरूमार्फत एक करोड ४० लाख ३७ हजार अमेरिकी डलर भित्रिएको छ।

राष्ट्र बैंकले यहाँका स्थानीय बैंकसँग अन्तर आबद्धता लिएरमात्रै नेपाली बैंकहरूलाई रेमिटेन्स कारोबारका लागि सेवा सुचारु गर्न दिने प्रावधान छ। यसले गर्दा कामदारले दोहोरो सेवाशुल्क तिर्नुपर्छ।

रकम पठाउँदा र प्राप्त गर्दा दुईतर्फी सेवाशुल्कले कामदार हुन्डीप्रति आकर्षित छन्। केही दिनअघि राष्ट्र बैंकले विदेशमा शाखा खोल्न बैंकहरूलाई बाटो खुला गरिदिए पनि कोरियामा शाखा खोल्न कुनै बैंकले अहिलेसम्म पहल गरेका छैनन्। रेमिटेन्स कारोबारका लागि केही बैंकले पहल गरे पनि प्रतिफल न्यून देखेपछि आफ्ना बैंक कर्मचारी फिर्ता गरेका छन्। 

नबिल र केईबी, ग्लोबल आईएमई र कुक्मिन, सानिमा र हाना बैंकबीच एकआपसमा विप्रेषण कारोबार गर्ने सम्झौता भएको छ। केही महिनादेखि एभरेस्ट बैंक र उरी बैंकले विप्रेषण सम्झौता गरेका छन् भने हालैमात्र बेस्ट रेमिटको माध्यमबाट कुक्मिन र सिटिजन बैंकले सहकार्य गरेका छन्। 

नेपालबाट कोरिया आउने समयमा ग्लोबल र नबिलमा अधिकांश कामदारले बैंक खाता खोलेर आएका हुन्छन तर रकम बैंकिङ प्रणालीबाट नेपाल पुग्दैन। एक लाख नेपाली रकम नेपाल पठाउँदा हुन्डीको भन्दा बैंकको विनिमय दरबाट दुई हजारदेखि पाँच हजार रुपैयाँसम्म फरक पर्ने हुनाले कामदार हुन्डीप्रति आकर्षित भएका छन्। 

कोरियामा धेरै नेपालीका लागि हुन्डी व्यवसाय बनेको छ। हुन्डी सञ्चालकको संख्या दिनहुँ बढिरहेको छ। यहाँका अधिकांश रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोर तथा मार्टका सञ्चालक हुन्डीको कारोबारमा संलग्न छन्। 

केही संस्थाका प्रमुख पर्दापछाडि रहेर हुन्डी सञ्चालन गरिरहेका छन्। बेस्ट रेमिटका कोरिया प्रबन्धक गंगा राईका अनुसार नेपालीहरू सन् १९९१ देखि हुन्डी कारोबारमा संलग्न छन्। एक हुन्डी सञ्चालकका अनुसार नेपालीको संख्या बढेको अनुपातमै हुन्डी कारोबारी बढेका छन्। 

पछिल्लो समय ईपीएसमार्फत आएका केही युवा सक्रिय भएर हुन्डी कारोबार गरिरहेका छन्। ईपीएसमार्फत आएका युवाले कमिसनका आधारमा काम गरेको पाइएको छ।

यस्तै एक युवाका अनुसार सम्पर्कमा भएका साथीको रकम उठाई उनले आफूभन्दा उपल्लो तहको हुन्डी कारोबारीलाई दिने गर्छन्। नेपाली दूतावासका उपनियोग प्रमुख राजाराम बरतौलाले युवा हुन्डी कारोबारमा लागेको जानकारी नभएको बताए। 

हुन्डी सञ्चालकले उठेको रकम चिन वा हङकङमा समन्वय गरी कारोबार सञ्चालन गरेका हुन्छन्। अमेरिकी डलर, चिनियाँ युआन र कोरियन वनको विनिमय दरअनुसार कारोबारीले हुन्डी रेट निर्धारण गर्ने गरेका छन्। 

एक हुन्डी कारोबारीका अनुसार चीनबाट आयातीत अवैधानिक समान सुरक्षा निकायले नेपालमा जफत गरेको अवस्थामा कारोबारीलाई अप्ठ्यारो पर्ने गरेको छ। 

केही दिनपहिले नेपालमा अवैधानिक सुन चरणबद्ध जफत हुँदा हुन्डी सञ्चालकलाई केही असहज भएको उनले बताए। उनी भन्छन्, 'नेपालले सामान आयात नै बन्द गरेमात्रै हुन्डी कारोबार नियन्त्रण हुन्छ।' 

हुन्डी सञ्चालकले आफ्नो बैंक खाता प्रयोग गरेको पाइँदैन। एक खाताबाट वर्षमा ५० हजार डलर भन्दा बढी रकम स्थानान्तरण गर्न कानुनी रोक भएकाले एकै कारोबारीले दर्जनौं बैंक खाता प्रयोग गर्ने पाइएको छ। ईपीएसमार्फत आएका नेपाली युवालाई केही आर्थिक प्रलोभनमा पारेर सञ्चालकले उनीहरूको बैंक खाता प्रयोग गरेका हुन्छन्। 

रकम उठाएर गुमनाम हुने हुन्डी सञ्चालक पनि छन्। गत साल बुफेंगमा रेस्टुरेन्ट सञ्चालन गरिरहेका बलराम सापकोटा करोडौं रकम उठाएर सम्पर्कविहीन भएका छन्। 

Published on: 19 January 2015 | Annapurna Post

Back to list

;