s

दक्षिण अफ्रिकी १३ मुलुकहरुमा नेपालीलाई रोजगारी छैनः दूतावास

दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले त्यस क्षेत्रका १३ वटा मुलुकमा वैदेशिक रोजगारीका कुनै सम्भावना नरहेको भन्दै भ्रममा नपर्न नेपालीहरुलाई आग्रह गरेको छ । प्रिटोरियास्थित नेपाली दूतावासले विज्ञप्तीजारी गर्दै दक्षिण अफ्रिकी देशहरु दक्षिण अफ्रिका, कङ्गो, केन्या, ग्याबोन, जाम्बिया, जिम्बावे, तान्जनिया, मोजाम्बिक मौरिसस, वोत्साना, लेसोथो, सेसेल्स र स्वाजील्याण्डमा हाल रोजगारीको कुनै सम्भावना नरहेको जनाएको छ ।
 
हाल ती देशमा रोजगारीका लागि पुगेका नेपालीहरुले दुःख पाइरहेको र विशेष गरी महिलाहरुलाई अनेक बाहानामा सताई यौन शोषण गर्ने गरिएको भन्दै दूतावासले सचेत हुन महिलाहरुलाई विशेष आग्रह गरेको छ । दूतावासले आकर्षक रोजगारीका लागि भन्दै दलालहरुले नेपालमा नै केही रकम लिने र बीचमा दलाल परिवर्तन हुने र परिवर्तन भएको नयाँ दलालले पनि रकम माग गरी समस्यामा पार्ने भन्दै नेपालबाट रोजगारी गर्न वा अध्ययन गर्दै रोजगारी गर्ने भनी गएकाहरु समस्यामा परेको र समस्यामा पर्ने क्रम दैनिक बढीरहेको बताइएको छ ।
 
दक्षिण अफ्रिकी मुलुकमा नेपाली दूतावासको पहुँच र उपस्थिती पनि अत्यन्त पातालो रहेको छ । ५४ वटा देश रहेको अफ्रिकामा हाल नेपालका २ वटा मात्र दूतावास रहेका छन् । इजिप्टको कायरो र दक्षिण अफ्रिकाको प्रिटोरियामा रहेको नेपाली दुतावासले अफ्रिकी मुलुक हेर्ने गरेका छन् ।
 
दक्षिण अफ्रिकाका देशलाई कायरो र पूर्वी अफ्रिकी मुलुकलाई प्रिटोरियाले हेर्दै आएको छ । हाल ती सबै क्षेत्रमा गरी करिव ५ हजार नेपाली रहेको गैरआवासीय नेपाली संघको अनुमान छ ।
 
Published on: 1 February 2018 | Madhyanha

Back to list

;