s

'डायस्पोरा'बारे विमर्शको खाँचो

२०७० जेठ २५ को कोसेलीमा प्रकाशित वरिष्ठ कथाकार एवं गजलकार मनु ब्राजाकीको 'यहुदीहरूले फ्याँकेको थोत्रो बोरा- डायस्पोरा' शीर्षकको लेख पढेर म केही हरफहरू लेख्न अभिप्रेरित भएँ । ब्राजाकीजीको लेखमा उठान गरिएको विषय मजस्तै बिदेसिएका लाखौं नेपालीसँग ठाडो सम्बन्ध राख्ने भएकाले धेरैको जिज्ञासाको विषय हो । मानिसको नाम, ठाउँको नाम, अझ विदेशमा त आँधीबेरीको नाम, सडकको नाम तिनको प्रकृति, प्रवृत्ति, विकासक्रमको अध्ययन सहजताका लागि दिइन्छ । नेपालमा पनि काठमाडौंबाहिरका स्थान वा व्यक्तिहरूलाई जनाउन 'मोफसल' शब्द प्रयोग गर्ने गरिएको पाइन्छ । 

सन् १९९० को दशकदेखि नेपालीहरू अत्यधिक संख्यामा बिदेसिने क्रम चलेको छ । यसरी संसारका थुप्रै मुलुकहरूमा 'घरबाहिर घर' बनाएर बसिरहेका नेपाली जनसमूहलाई कुन शब्दले सम्बोधन वा इंगित गर्ने भन्ने खोजका क्रममा उत्पन्न भएको एउटा शब्द हो- नेपाली डायस्पोरा । 

कुनै उपयुक्त नेपाली शब्दको साटो अंग्रेजीबाट शब्द सापटी लिनु उपयुक्त हो होइन, त्यो शब्दशास्त्रीहरूले चर्चा गर्नुपर्ने महत्त्वपूण्र्ा विषय हो । बिदेसिएका नेपालीहरूलाई 'डायस्पोरा' भन्ने वा 'प्रवासी' वा 'गैरआवासीय नेपाली' भन्ने वा अझ बढी उपयुक्त शब्दको खोजी गर्ने ? त्यसैगरी बिदेसिएका नेपालीहरूले सिर्जना गरेका सिर्जनात्मक कृतिहरूलाई 'डायस्पोरिक'  प्रवासी वा गैरआवासीय कृति वा साहित्य के भन्ने ? मनु ब्राजाकीजीले माथि उल्लिखित लेखमा आफू डायस्पोरा र डायस्पोरिक साहित्य शब्दहरूको विरोध गर्नुहुन्छ भन्ने घामजत्तिकै छर्लङ्ग पार्नुभएको छ । तर, उहाँ डायस्पोराको साटो कुनै वैकल्पिक शब्द सुझाउनु हुन्न । उहाँको यो लेख 'डायस्पोरा' वा 'डायस्पोरिक' शब्दको उपयुक्तकताबारे वस्तुनिष्ठ विश्लेषण्ा नभएर बढी मनोगत र नकारात्मक हुनपुगेको छ ।

डायस्पोरा शब्दको विरोधमा उहाँले प्रस्तुत गर्नुभएका दुई तर्कहरूलाई हेरौं । पहिलो तर्क, डायस्पोरा साहित्य म्याद सकिसकेको साहित्यिक प्रवृत्ति हो । त्यसकारण्ा उहाँका अनुसार आगामी दिनहरूमा डायस्पोरिक फेसन विश्वभरि छरिएका यहुदीहरूले फ्याँकेको थोत्रो बोरासरी हुनेछ । यस तर्कपछाडि यहुदीहरूको विस्थापनगाथा, इतिहास र त्यससम्बन्धमा डायस्पोरा शब्दको प्रादुर्भावबारे उहाँले गर्नुभएको अध्ययन, विलियम सापनका पुस्तक र पुस्तकालयमा पुस्तकहरू उपलब्ध गराउन सहयोग गर्ने एक सहायिकाले ब्राजाकीजीको अध्ययनको मूल उद्देश्यबारे आफैंले अनुमान लगाई गरेकी अनायास टिप्पण्ाीलाई आधार बनाएको देखिन्छ । डायस्पोरा शब्दको प्रादुर्भाव यहुदीहरूको विस्थापनसँग जोडिएको भए तापनि यस शब्दको अर्थको विस्तार र अन्य जातजाति, संस्कृति र धर्मावलम्बीहरूमा अचेल प्रयुक्त हुने गरेको प्रशस्त लेख र पुस्तकहरू उपलब्ध छन् र यो 'म्याद सकिएको प्रवृत्ति' नभएर अहिले पनि उत्तिकै जीवन्त विषय हो । इच्छुक पाठकहरूलाई उदाहरण्ाका लागि सन् १९९७ मा प्रकाशित 'ग्लोबल डायस्पोराज ः एन इन्ट्रोडक्सन' लेखक रोबिन कोहेन, सन् २००५ मा प्रकाशित 'डायस्पोरा डायस्पोरा' लेखक रोजर्स ब्रुबेकर, सन् २०११ को १५ मईको श्रीलंकाको सन्डे अबजर्भरमा प्रकाशित 'डायस्पोरा एन्ड डायस्पोरिक लिटरेचर' लेखक इन्दिवारा तिलकरत्ने र सन् २०१२ मा प्रकाशित 'च्यालेन्जिङ द थ्योरी अफ डायस्पोरा पम द फिल्ड' लेखक आन्ना अरुत्युन्यान पढ्न सकिन्छ ।

उहाँको अर्को तर्क छ, 'डायस्पोरा' हेयवाचक शब्द हो । लेखका अनुसार उहाँको यो निष्कर्षको आधार रेस्टुराँमा खान बसेको एक व्यक्तिसँग भएको उहाँको दुई टुक वार्तालाप हो । त्यस व्यक्तिले टाउकोमा कालो बिर्के टोपी लगाएर हिब्रु भाषाको कुनै पुस्तक पढिरहेकाले उहाँले त्यो व्यक्ति शिक्षित, सत्पात्र, यहुदी धर्मगुरु हुनुपर्छ भन्ने अनुमान लगाउनुभयो । ऊ के पुस्तक पढ्दै थियो वा वास्तवमा उहाँले अनुमान लगाएजस्तै ऊ यहुदी धर्मगुरु हो होइन, उहाँले त्यस व्यक्तिलाई सोध्नुभएन । ठाडै, तर विनम्रतापूर्वक क्षमायाचना गर्दै, प्रश्न गर्नुभयो, 'तपाईंहरू अमेरिकामा आइपुगेपछि पनि अझै आफूलाई डायस्पोरा नै सम्भिनुहुन्छ ?' उहाँले प्रश्न गर्नुअघि प्रश्नको प्रयोजन र आफ्नो कौतूहलको कारण्ा त्यस व्यक्तिलाई स्पष्ट पार्नुभयो भएन लेखले बताउँदैन । प्रश्न सुन्नेबित्तिकै त्यो व्यक्ति 'सोडाको बिर्को उघ्रेझैं पड्कियो' भन्नाले के बुझ्नुपर्ने हुन्छ भने, या त ब्राजाकीजीले आफ्नो प्रश्नपछाडिको सन्दर्भ त्यस व्यक्तिलाई बताउनुभएन वा बताउनुभएको भए पनि त्यस व्यक्तिले बुझेन । नेपालीले बोलेको अंग्रेजी अमेरिकीले छिट्टै नबुझ्न पनि सक्छ, बुझेको भए पड्कने कुरो आउँदैन । त्यस व्यक्तिले 'विकट स्वरमा बर्बराएको' कारण्ाले उहाँले निग्रो, रेड इन्डियन, बहादुर, दरबान, कान्छा, पहाडिया, लाहुरेजस्तै डायस्पोरा पनि अपमानजनक र गालीबोधक शब्द रहेछ भन्ने निष्कर्ष निकाल्नुभयो । यस निष्कर्षका पछाडि कुनै अन्य आधार वा सन्दर्भपुस्तक वा लेख उहाँले औंल्याउनुभएको छैन । मैले आफूले गरेको अध्ययनक्रममा यस्तो कुनै लेख वा पुस्तक भेटेको पनि छैन ।

ब्राजाकीजीले डायस्पोरा शब्दलाई चलनचल्तीमा ल्याउन खोज्ने व्यक्ति र संस्थाहरूको उछितो काढ्नुभएको छ । डायस्पोरा शब्दलाई एउटा बिल्लाको रूपमा चित्रण्ा गर्नुभएको छ । पञ्चायतकालीन ध्येयवाक्य 'सबै नेपाली पञ्च र सबै पञ्च नेपाली' जस्तै डायस्पोरा शब्द बिदेसिएका नेपालीहरूलाई थोपरिएको नवछायावादी परिचय मान्नुहुन्छ । डायस्पोरा शब्दको प्रचार प्रसारलाई उहाँले नेपालीहरूमाझ साहित्यलेखन क्षेत्रमा स्थापित हुने लालसाले डलर, पाउन्ड र युरोको प्रलोभन दिएर बुद्धिजीवी, विद्वान र प्राडाहरूलाई परिचालित गरिने निकृष्ट कार्यको रूपमा हेर्नुभएको छ । यतिका नकारात्मकतातर्फ जानुभन्दा ब्राजाकीजीले वस्तुनिष्ठ विश्लेषण्ामा मात्र केन्दि्रत हुनुभएको भए र डायस्पोरा शब्द ठीक छैन भने कुन शब्द उपयुक्त विकल्प हुनसक्छ सुझाउनुभएको भए यस विषयमा गरिने विमर्शलाई अघि बढाउन बढी मद्दत गर्ने थियो । 

यति भनिसक्दा, ब्राजाकीजीको लेखको मूलमर्म भने सबैले आत्मसात् गर्नु आवश्यक छ । डायस्पोराको खोल ओढेर विदेशमा बस्ने कुनै पनि सर्जकले आफूलाई साहित्यकारको बिल्ला भिर्न भएन, नेपाली साहित्यको मूलधारसँगै प्रतिस्पर्धा गर्नुपर्‍यो ।

अन्त्यमा, ठूलो संख्यामा बिदेसिनु र आफ्नो देश र संस्कृतिसँग टाढिएको पीडा साहित्य सिर्जनामार्फत् पोख्न खोज्नु नेपाली समाजको एउटा नयाँ ट्रेन्ड र वास्तविकता हो । यो वास्तविकताले साहित्यसहित समाजका विभिन्न पक्षमा पार्ने प्रभावहरूको अध्ययन, अध्यापन, विश्लेषण्ाका लागि र उनीहरूलाई साहित्य सिर्जनामा अभिप्रेरित गर्ने कार्यलाई लक्षित गर्नका लागि पनि यस्ता समूहलाई जनाउने शब्दको खाँचो छ । यसका लागि डायस्पोरा शब्द नै उपयुक्त हो भन्ने मेरो जीकिर होइन । हामी विदेशमा बस्ने धेरै नेपालीहरू द्विविधामा छौं । हाम्रो चाहना छ, नेपाली साहित्यकार तथा शब्दविज्ञहरू यसमा सकारात्मक वस्तुनिष्ठ छलफल गरून् र एउटा निष्कर्षमा पुगून् ।

Published on: 13 July 2013 | Kantipur

Back to list

;