s

दैनिक दुई अर्ब रेमिटेन्स

 
काठमाडौं-विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक १ अर्ब ८० करोड रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा २ खर्ब ७१ अर्ब ३७ करोड रुपैयाँ औपचारिक माध्यमबाट भित्रेको छ।
गत वर्ष दैनिक करिब १ खर्ब ७१ अर्ब रुपैयाँ औपचारिक माध्यमबाट भित्रेको थियो । अघिल्लो आर्थिक वर्ष ०७१/७२ मा ६ खर्ब १७ अर्ब २८ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो ।
गत वर्षको ५ महिनामा २.७ प्रतिशतले बढेको रेमिटेन्स यो वर्ष भने १९.४ प्रतिशतको उच्च दरले बढेको छ ।
दैनिक ११ सय ५० हाराहारी नेपाली रोजगारीका लागि विदेश जाने गरेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २ लाख १० हजार नेपाली रोजगारीका लागि बिदेसिएका छन् ।
 
सबैभन्दा बढी रेमिटेन्स मलेसिया, कतार, साउदी अरेबियाबाट आउने गरेको तथ्यांकले देखाउँछ । रोजगारीमा गएका कामदारले देशको अर्थतन्त्र नै जोगाउने गरी रेमिटेन्स भिœयाए पनि त्यस्तो रकमबाट पुँजी निर्माण भने हुन सकेको छैन । कामदारबाट भित्रिएको रेमिटेन्सको झन्डै ८० प्रतिशत दैनिक उपभोग्य वस्तु र मनोरन्जनमा खर्च हुने गरेको केन्द्रीय तथ्यांक विभागको एक सर्वेक्षणले देखाएको छ ।
 
रेमिटेन्सबाट प्राप्त हुने कुल रकमको २.४ प्रतिशत हिस्सामात्र पुँजी निर्माणमा आउने गरेको छ । तर वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमबाट उनीहरुको जीवनस्तर सुध्रिएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । त्यस्तै वैदेशिक रोजगारीमा जानेले कुल रेमिटेन्सको ७ प्रतिशत ऋण तिर्न र ३.५ प्रतिशत बालबालिकाको शिक्षामा खर्च गर्ने गरेको अध्ययनले देखाएको छ ।
 
सर्वेक्षणअनुसार ५५.८ प्रतिशत घरपरिवारमा रेमिटेन्स आउँछ । गरिबी न्यूनीकरणमा रेमिटेन्सको योगदान महŒवपूर्ण रहेको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले बताए ।
 
बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुनुमा रेमिटेन्सको योगदान रहेको बैंकर बताउँछन् । हाल नेपालमा ४९ भन्दा बढी रेमिटेन्स कम्पनी र ३० वाणिज्य बैंकले रेमिटेन्स भित्रयाइरहेका छन् । तीमध्ये इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई) अग्रस्थानमा छ । प्रभुलगायत कम्पनी बढी रेमिटेन्स भिœयाउनेमा पर्छन् ।
 
औपचारिक रेमिटेन्सको अवसर भने बैंकिङ विस्तारले नै दिएको हो । यसले कामदार, सरकार र वित्तीय संस्था सबैलाई फाइदा भएको छ । कामदारको कमाइ सुरक्षित रुपले परिवारसम्म पुगेको छ । रेमिटेन्स औपचारिक बन्न थालेको डेढ दशक भएको छ । रेमिटेन्स कम्पनीमा आइएमई र बैंकमा हिमालयनलगायत बैंक सुरुदेखि सेवा दिनेमा पर्छन् ।
 
पछिल्लो समय रेमिटेन्स कारोबार पनि बैंकहरुको मुख्य व्यवसायमा पर्न थालेको छ । पछिल्लो समयमा ग्रामीण क्षेत्रमा समेत बैंकका शाखा खोल्ने क्रम बढेसँगै विदेशबाट पठाएको पैसा सिधै बैंकबाट लिन सहज भएको छ । विशेष गरी चाडपर्वमा रेमिटेन्स बढी भित्रिने गरेको नेपाल राष्ट्र बैंकको भनाइ छ ।
 
असोज र कात्तिकमा दसैं, तिहार, छठ, इद जस्ता ठूला पर्व पर्ने भएकाले त्यो बेला रेमिटेन्स बढ्ने उनीहरुको भनाइ छ ।
 
हुन्डीलगायत अनौपचारिक माध्यमबाट भित्रिएको रकम पनि लगभग त्यत्तिकै हाराहारीमा हुने अनुमान गरिन्छ । गैरकानुनी तरिका हुन्डीबाट पैसा पठाउने क्रम भने रोकिएको छैन ।
 
बढ्दो आयातले अर्थतन्त्र धराशयी बनाइरहेको बेला रेमिटेन्सले विदेशी मुद्रा आर्जनमा ठूलो योगदान दिएको छ ।
 
Published on: 3 February 2016 | Nagarik

Back to list

;