s
कान्तिपुर संवाददाता
काठमाडौँ — सरकारले दैनिक रुपमा अधिकतम् ५ सय जनासम्मलाई मात्रै उद्धार गरेर विदेशबाट ल्याउने निर्णय गरेको छ ।
कोरोना भाइरस फैलन थालेपछि सरकारले विदेशस्थित कूटनीतिक नियोगको सिफारिसमा ३ सय र वैदेशिक रोजागर कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरि २ सय जना गरेर जम्मा ५ सय जनालाई मात्रै उद्धार गर्ने भएको हो ।
दैनिक अधिकतम् ५ सय जना नेपाली नागरिकलाई मात्रै उद्धार उडान अनुमति दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले बताएका छन् । मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता खतिवडाले उद्धार गरिएका नेपालीहरुलाई संक्रमण मुक्त भएको यकिन भएपछि मात्रै गन्तव्यस्थल जान दिइने बताए ।
उद्धार गरेर ल्याइएका नेपालीहरुलाई उपत्यकाका ३ जिल्लाले स्थानीय तहसँग समन्वय गरेर क्वारेन्टाइनको व्यवस्थापन गर्ने निर्णय भएको मन्त्री खतिवडाले बताए । यस्तै उनले उनीहरुको ५/७ दिनभित्र पीसीआर परीक्षण गर्ने जिम्मा स्वास्थ्य मन्त्रालयललाई दिइएको छ ।
यस्तै सीमा नाकाहरुमा पनि तोकिएको प्रवेश विन्दुबाट मात्रै आउन दिइने र त्यसरी आएकाहरुको अभिलेख प्रदेश सरकारको समन्वयमा सेनाको सहयोगमा सम्बन्धित जिल्लाले क्वारेन्टाइनको व्यवस्थापन गर्ने निर्णय भएको उनले बताए ।
यस्तै भारतमा कामदार नल्याउन पनि सरकारले भनेको छ । सरकारी निर्णय अटेर गरेर उद्योगहरुले लुकीछिपी कामदार ल्याए कारबाही गरिने मन्त्री खतिवडाले बताएका छन् ।
Published on: 11 August 2020 | Kantipur
GET IN TOUCH