s

'दाहालले भन्दैमा राजदूत छाड्दिनँ'

होम कार्की

कतारस्थित नेपाली राजदूत मायाकुमारी शर्माले राजदूतबाट राजीनामा नगर्ने बताएकी छन् । विवादास्पद छवि बनाएकी शर्मालाई नेपाल सरकारले राजदूतबाट बर्खास्त गर्न लागेपछि सहज बाटो बनाउन अध्यक्ष दाहालले राजीनामा दिई स्वदेश फिर्ता हुन गत शुक्रबार फोन गरी सुझाव दिएका थिए । 'म अहिले माओवादी कार्यकर्ता हैन, सरकारको प्रतिनिधि हुँ, उहाँ -दाहाल) को ठाडो आदेश मानेर राजीनामा दिई फिर्ता हुन मेरो गरिमाले दिँदैन,' कान्तिपुरसँगको टेलिफोन कुराकानीमा राजदूत शर्माले भनिन्, 'औपचारिक रूपमा हुने सबै कारबाही भोग्न म तयार छु । 'उनले दोहाबाट प्रकाशित पेनेन्सुएला अंग्रेजी पत्रिकालाई अन्तर्वार्ता दिँदै आफू पार्टीभन्दा पनि सरकारप्रति उत्तरदायी भएको बताएकी छन् । 'म नेपाल सरकारबाट नियुक्त भएको हुँ, कुनै एउटा पार्टीबाट होइन,' उनले भनेकी छन्, 'म सरकारप्रति मात्रै उत्तरदायी हुने हो । सरकारले मलाई राजीनामा दिन कुनै औपचारिक पत्र पठाएको छैन ।'

नेपालस्थित कतारी राजदूतले शर्मालाई फिर्ता बोलाउन परराष्ट्र मन्त्रालयलाई दोस्रो पठक पत्र पठाएपछि एमाओवादीले आफूले सिफारिस गरेकी शर्मासँग राजीनामा माग्ने निर्णय गरेको थियो । एमाओवादी सिफारिसमा बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला शर्मा राजदूत बनेकी थिइन् । एमाओवादी भ्रातृ संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठनकी उपाध्यक्ष रहेकी उनी चितवनस्थित कृषि विकास बैंककी शाखा अधिकृत थिइन् । त्यहाँबाट राजदूत बनाइएपछि उनी कार्यभर सम्हाल्न ९ मे २०१२ मा कतार आएकी थिइन् । स्रोतका अनुसार एमाओवादीको निर्णय र दाहालको टेलिफोनपछि उनले एक/दुई दिनमै राजीनामा गर्ने अनौपचारिक जानकारी गराएकी थिइन् । आइतबार बेलुकीसम्म परराष्ट्र अधिकारीहरू शर्माको राजीनामा कुरेर बसेका थिए । फेरि उनले राजीनामा नगर्ने प्रतिक्रिया दिएकी हुन् ।

एमाओवादीका विदेश विभाग प्रमुख दीनानाथ शर्माले र्फकने तयारीका लागि केही समय मागेकाले त्यसो भनेको हुन सक्ने बताए । 'छाड्दै छाड्दिनँ चाहिँ भन्नुभएको छैन,' काठमाडौंमा उनले भने । राजदूत शर्माले कतारमा गैरकूटनीतिक क्रियाकलाप प्रदर्शन गर्दै आएपछि हरेक महिना विवादमा पर्दै आएकी थिइन् । 'नेपालीका लागि कतार खुल्ला जेल' भनेर अन्तर्वार्ता दिएपछि कतारको विदेश मन्त्रालयले गत जुन २४ मा स्पष्टीकरण मागेको थियो । उनले लिखित स्पष्टीकरण दिएकी थिइन् । 'मित्रराष्ट्र कतार र कतारी जनताप्रतिको भावनामा ठेस पुगेको अनुभव भएको भए त्यसप्रति क्षमाप्रार्थी छु,' उनले स्पष्टीकरणमा भनेकी थिइन्, 'हाम्रा दुई देशबीचको अत्यन्त सौहार्दपूर्ण सम्बन्धलाई मजबुत र प्रगाढ बनाउन यस घटनाले मलाई सदैव मार्गनिर्देशन गर्नेछ ।' त्यसबाट चित्त नुबझेपछि 'दुई देशको सम्बन्धमा असर पार्न नदिन' राजदूत शर्मालाई फिर्ता बोलाउन आग्रह गर्दै गत बुधबार कतारी राजदूतले परराष्ट्रमन्त्रीलाई औपचारिक पत्र बुझाएका थिए । लगत्तै सरकारले एमाओवादीसँग शर्मालाई फिर्ता बोलाउन सहमति मागेको थियो । एमाओवादीले परराष्ट्र मन्त्रालयलाई सहमति दिनुका साथै अध्यक्ष दाहालले शुक्रबार फोन गरी राजीनामा दिन भनेका थिए ।

कतारमा कार्यरत दीपक भेटवाललाई 'आफूविरुद्ध लेख लेखेको' अभियोगमा फिर्ता पठाउन कतार सरकारलाई पत्रचार गरेपछि राजदूत शर्माको छवि झन् विवादमा परेको थियो । त्यस्ता घटनापछि परराष्ट्रले लिखित र मौखिक स्पष्टीकरण मागेको थियो । अस्वस्थता देखाई आइतबार कार्यालय नगए पनि राजदूत शर्मा सोमबार दूतावास गएकी थिइन् । परराष्ट्रका एक अधिकारीले काठमाडौंमा भने, 'सरकारले बर्खास्ती गर्नुभन्दा आफंैले राजीनामा दिएर आउन शर्मालाई हितकर हुनेछ ।'

Published on: 24 September 2013 | Kantipur

Back to list

;