s

डाबर ईन्टरनेशनलद्वारा युएईका नेपालीलाई ३० लाख रुपैयाँ बराबरकाे राहत सहयोग

रामकुमार परियार

डाबर ईन्टरनेशनलले युएईमा कोरोनाका कारण समस्यामा परेका नेपालीहरुको सहयोगका लागि ३० लाख नेपाली रुपैयाँ बराबरको राहत सामाग्री प्रदान गरेको छ ।

नेपाल एसोसिएसन एनआरएनएको द्रुत उद्दार दल (क्विक रेस्पोन्स फोर्स) मार्फत परिचालन हुनेगरी प्रदान गरिएको राहत सामाग्री विभिन्न राज्यमा रहेका एनआरएनएका क्षेत्रीय समितिहरुमार्फत वितरण गरिने द्रुत उद्दार दलका संयोजक एवं एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पाले जानकारी दिए ।

कोरोनाका कारण उत्पन्न विषम परिस्थिति भोगिरहेका नेपालीहरुलाई खाद्यान्नका साथै व्यक्तिगत स्वास्थ र सरसफाईमा समेत ध्यान दिनुपर्ने भएकोले डाबरका हर्बल उत्पादनहरु साबुन , हेण्ड सेनिटाईजर , टुथपेष्ट , ग्लुकोज डि आदि सहयोग गरिएको डाबर ईन्टरनेशनलले जनाएको छ । यी सामाग्रीहरु डाबर ईन्टरनेशनलका प्रडक्ट डेभ्लपमेन्ट कृयेटिभ टिमका तर्फबाट द्रोणजंग श्रेष्ठले एनआरएनएका उपाध्यक्ष पासाङ शेर्पालाई हस्तान्तरण गरेका थिए ।

डाबर ईन्टरनेशनल यूरोप , अमेरीका , अफ्रिका तथा मध्यपुर्वमा प्रकृतिक हर्बलमा आधारीत सामानहरु उत्पादन गर्ने डाबर ईन्डिया कम्पनी कै भगिनी कम्पनी हो । 

३५ सयले पाए ९० लाख बराबरको राहत

युएईमा कोरोना भाईरसको प्रकोपका कारण व्यापार–व्यवसाय , कलकारखाना तथा रोजगारीमुलक क्षेत्रहरू प्रत्यक्ष प्रभावित भएका छन् । जसका कारण धेरैले रोजगार गुमाएका छन् भने कैयन बेतलबी बनेका छन् । यसरी समस्यामा परेका नेपालीहरुको उद्दार तथा सहयोगका लागि नेपाल एसोसिएसन – एनआरएनएले द्रुत उद्दार दलमार्फत राहत वितरण गरिरहेको छ ।

विभिन्न चरणमा गरि अहिलेसम्म झण्डै ३५ सय जनालाई ९० लाख बराबरको राहत वितरण गरि सकिएको एनआरएनएले जनाएको छ । समस्यामा परेका नेपालीहरुको आवास स्थलमै गएर दैनिक उपभोग्य खाद्यन्न तथा स्वास्थ सामाग्री प्रदान गर्दै आएको एनआरएनए युएईका अध्यक्ष प्रकाश कोईरालाले जानकारी दिए । टोलिसंग दुबई प्रहरीले उपलब्ध गराएको एउटा हटलाईन नम्बर समेत रहेको छ । जसमा युएईका सातैवटा राज्यमा रहेका नेपालीहरुले कोरोनाको लक्षण देखिए र आपतकालीन सहयोग चाहिए फोन गर्न मिल्ने कोईरालाले बताए ।

दूतावाससंग आधिकारिक तथ्यांक नभएपनी एनआरएनएले युएईमा अहिलेसम्म २ सय भन्दा बढि नेपाली कोरोना भाईरसबाट संक्रमित भएको जनाएको छ ।

Published on: 16 May 2020 | Nagarik

Link

Back to list

;