s

साइप्रसको पैसाले नपुगेर इटाली पुगेकी युवतीको यस्तो विलाप

वसन्त रानाभाट

बार्सिलोना/केही वर्षअघि रोजगारीका लागि साइप्रस आएकी एक युवती लामो समय त्यहाँ सन्तुष्ट रहन सकिनन् । त्यहाँ खासै राम्रो कमाइ नहुने हुँदा उनले इटाली जाने योजना बनाइन् । साइप्रसबाट इटाली पुर्‍याउने थुप्रै बिचौलियाहरुको जमातले उनलाई घेरिहाल्यो।

एकातिर महिनामा ३ सय १४ युरो कमाउन दिनहुँ घन्टौ काम गर्नुपर्ने बाध्यताबाट छुट्कारा पाइने, अर्कोतर्फ महिनामा लाखौ युरो कमाई हुने र छिट्टै रेसिडेन्सी कार्ड बन्ने इटालीको सपना ।
 
आखिर उनी बिचौलियाले देखाएको ठूला-ठूला सपनामा चुर्लम्म डुबिन् ।‘विदेश आउने भनेको पैसा कमाउन नै हो, साइप्रसमा न कमाउनै सकियो, न कागज नै बन्छ । बरु दुई-चार लाख खर्च नै होस, इटाली पुगेँ भने त पैसा पनि हुन्छ, कार्ड पनि बन्छ’ यही सोचेर नै इटाली जाने निधो गरेको उनले सुनाइन् ।
 
साइप्रसको बोर्डर क्रस गरेपछि टर्की पुर्‍याइयो । त्यसपछि बुल्गेरिया, सर्भिया, क्रोयसिया, स्लोभोनिया हुँदै इटाली आउँदा २५ दिन लाग्यो ।‘३ हजार युरोमा इटाली पुर्‍याइदिन्छु भन्थ्यो, तर बिचबिचमा ब्ल्याकमेल गर्दै पैसा असुल्यो । पैसा नदिएको भन्दै एकजना दिदीलाई त कुटपिट पनि गर्‍यो,’ उनले सुनाइन् । इटाली आउँदासम्म उनको झन्डै ९ हजार युरो खर्च भएछ ।
 
साइप्रसबाट उनी एक्लै हिँडेकी भए पनि बिचमा अन्य दुई नेपालीहरु भेटिए । तीन जना नेपाली चेलीसहित अन्य मुलुकका आप्रवासीहरु गरी १२ जनाको टोली अवैध रुपमा स्थलमार्ग हुँदै इटाली त पुग्यो, तर उनीहरुको धन कमाउने सपना भने सपना नै समित रहृयो । न त बिचौलियाले भने जस्तो १२-१५ सय युरो महिनामा नै कमाइ नै हुन्थ्यो, न त सजिलै रेसिडेन्सी कार्ड नै बन्थ्यो ।
 
‘साइप्रस क्रस गरेपछि न यता न उताको बनायो । एउटा देशको बोर्डर क्रस हुनासाथ फेरि नयाँ पेमेन्ट माग्थ्यो । इटालीमा आइपुगेपछि पनि एउटा बन्द कोठामा थुनेर फेरि पैसा माग्ने । मागेको पैसा पूरा नभएसम्म हामीलाई निस्कन दिदैनथ्यो । ट्वाइलेटसमेत जान दिदैनथ्यो ।’भावुक हुँदै उनले भनिन्, ‘मैले कति दुख भोगेँ, त्यो मलाई मात्र थाहा छ । १०-१२ लाख रुपैयाँ कमाउन धेरै समय लाग्छ ।
 
युरोप भन्नेबित्तिकै लाखौ रुपैयाँ खर्च गर्न तयार भइहाल्ने सबैलाई बिनम्र अनुरोध गर्दछु कि, पैसा त खर्च हुन्छ-हुन्छ, मर्ने-बाँच्नेको समेत कुनै ठेगान हुँदैन । बरु साइप्रस र इटाली आउँदा लाग्ने खर्चले नेपालमा नै केही गर्न सकिन्छ ।’
 
अाफ्नो नाम र ठेगाना नखुलाउने शर्तमा अनलाइनखबरसँग कुराकानी गरेकी ती युवती अहिले भने आफू सुरक्षित रहेको बताउँछिन् । एनआरएनए इटालीले आफूसहित ३ नेपालीहरुको उद्दार गरेको उनले बताइन् ।
 
दुबई, सुडान, लिबिया हुँदै काठको डुंगा चढेर १ वर्षअघि इटाली आएका ३० वर्षीय युवाको ब्यथा पनि कारुणिक नै छ । उनी भन्छन्, ‘लिबियाबाट युएनको डुंगाले इटाली पुर्‍याउँछ र महिनामा लाखौ कमाइन्छ भन्ने प्रलोभनमा परियो । तर कमाउने कुरा छाड्नुहोस्, ऋणमाथि ऋण थुपारिएको छ ।’
 
हालसम्म शरणार्थी शिविरमा नै रहेका उनले कमाइको नाममा महिनामा ७५ युरो भत्ता पाउँछन् । उनले भने, ‘पहिले त ७ लाखमा नै पुर्‍याइदिन्छु भन्यो, तर लिबियामा बन्धक बनाउदै परिबारबाट थप पैसा असुल्यो । १० लाख तिरेर धन्न बाँचेर आइयो । यता न कार्ड बन्छ न काम नै पाइन्छ ।’
 
नेपालीको शिविरमा रहेका ती युवाले युरोपको नाममा जोखिम नमोल्न सबैलाई अनुरोध गरेका छन् । केही महिनाअघि लिबियाको जलमार्ग हुँदै इटाली छिर्ने क्रममा म्याग्दी रघुगंगा गाउँपालिका पाखापानीका ३६ वर्षीय धनमान पुर्जाले ज्यान गुमाएका थिए ।
 
Published on: 28 March 2018 | Onlinekhabar

Back to list

;