s

क्रोएसिया पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सरदार पक्राउ

बिर्तामोड, मंसिर ३ गते । झापाका सयभन्दा बढी युवाको रोजगारीका लागि क्रोएसिया उडाइदिने भन्दै करोडौँ रुपियाँ ठगी गर्ने युवा सञ्जय सरदार शनिवार साँझ विराटनगबाट पक्राउ परेका छन् ।

झापा कनकाई नगरपालिका ३ सुरुङ्गा बजार र कनकाई टोल र झापा गाउँपालिका क्षेत्रका एक सय बढी युवालाई राम्रो देशमा रोजगारी लगाइदिने भन्दै प्रतिव्यक्ति १ लाखदेखि ३ लाखका दरले रकम उठाएर मोरङ पोखरिया घर भई हाल कनकाई नगरपालिका ३ मा डेरा गरी बस्ने ३९ वर्षीय सञ्जय सरदारलाई विराटनगरको कटहरीस्थित आदर्शनगरबाट शनिवार राति ९ बजे प्रहरीले पक्राउ गरेको हो ।

सरदारलाई विशेष सुराकीको आधारमा प्रहरीले पक्राउ गरी हाल जिल्ला प्रहरी कार्यालय विराटनगरमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सरदारले त्यहाँका अन्य मानिसलाई समेत विदेशकाे राम्रो देश पठाइदिने भन्दै करोडौँ रकम ठगी गरेको पाइएको र उनी हाल लुकिछिपी बस्दै आएको प्रहरीको भनाइ छ । सरदारको ठगीको विषयमा जिल्ला प्रशासन कार्यालय झापा, मोरङ र वैदेशिक रोजगारी विभागमा समेत उजुरी परेको छ ।

सरदारले स्थानीय युवालाई आकर्षक तलबमा रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम ठगेर गत साउन महिनाबाट बेपत्ता बनेका थिए । सरदारले रकम ठगी गर्नेहरूमध्ये २ महिलासहित १६ जनाको समूहलाई भारतको डिल्ली समेत पुर्‍याएर त्यहाँ मेडिकल र बायोमेट्रिक गराएको नाटक गरेको स्थानीय सनम राईले बताउनुभयो । भारतको डिल्लीमा त्यहीको अर्को ठगलाई बोलाएर आफूहरू बसेकै होटेलमा आएर बायोमेट्रिक गराएको र नेपाल ल्याएपछि उनीहरू चाँडो उड्छन् भन्दै गाउँका अन्य युवाबाट १ लाखदेखि ३ लाखसम्म सुरुमा डकुमेन्ट बनाउन भन्दै रकम र पासपोर्ट लिएको राईले बताउनुभयो । दिल्लीमा पुगेर १६ जनाको समूह फर्किएपछि झन् विश्वासमा परेर अधिकृतको जागिर सेना प्रहरीको जागिर समेत छाडेर गाउँले युवाहरूले रकम दिएको बताइएको छ ।

सरदारले सय जनाभन्दा बढी युवाको यसरी रकम उठाएर एकाएक फरार बनेपछि आफूहरू ठगिएको थाहा पाएको पीडित युवा कनकाई नगरपालिका ३ का सुवास श्रेष्ठले बताउनुभयो । श्रेष्ठले आफूले विदेश जान भनेर खादै गरेको नेपाली सेनाको जागिर समेत छाडेको बताउनुभयो ।

यसरी सरदारबाट ठगिनेहरूमा कनकाई ३ कनकाई टोलका सनम राई २ लाख ५० हजार, सुभाष श्रेष्ठ भूतपूर्व सरकारी जागिरे रहेकाबाट १ लाख ५० हजार, कनकाई ३ का बाबुलाल सोनीबाट १ लाख, सम्राट सिवाकोटीबाट २ लाख, विशाल राईबाट डेढ लाख, कनकाई २ जामुनवारीका सन्तोष श्रेष्ठबाट १ लाख ५० हजार, झापा गाउँपालिकाका गणेश कार्कीबाट १ लाख ५० हजार, रञ्जित न्यौपानेबाट १ लाख ५० हजार लगायताका सयभन्दा बढी युवाबाट ३ करोडभन्दा बढी रकम ठगी गरेको पीडितको गुनासो रहेको छ । सरदारले यसअघि आफ्नो गाउँमा समेत गाउँलेलाई मोरङमा ठगेर झापा सुरुङ्गा आएर अर्की श्रीमती बिहे गरेर डेरामा राखी युवालाई ठगी गरेको पाइएको छ । सरदारकी घरमा जेठी श्रीमती र छोराछोरी बाबु रहेको पाइएको छ । सुरुङ्गाका युवाले आफू ठगिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेपछि भने सरदारबाट ठगिनेहरूको सङ्ख्या बढ्दै गएको छ । सरदारले मोरङमा पनि थप सयभन्दा बढी युवालाई वैदेशिक रोजगारीमा लैजाने भन्दै २ करोड जति ठगी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसरी सरदारबाट ठगिनेहरू सम्पर्कमा आउने क्रम रहेकोले उनीबाट हालसम्म ५ करोड जति ठगिएको हुनसक्ने प्रहरीको अनुमान छ । ठगीको उजुरी परेपछि सरदार भने भारत तथा नेपालको काठमाडौँ आसपास क्षेत्रमा लुकेर बसेको प्रहरीले जनाएको छ । दुई श्रीमती रहेका सरदार हाल घरमा रहेकी जेठी श्रीमतीसँग सम्बन्धविच्छेद गर्नका लागि विराटनगर आएको बखत पहिले ठगीमा परेका पीडितहरूले थाहा पाएर कुटपिट गर्न थालेपछि प्रहरी चौकी हाटखोला विराटनगरले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय विराटनगरमा बुझाएकाे हो ।

सरदार हाल प्रहरी हिरासतमा रहेको र आइतबारबाट आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय मोरङ विराटनगरले जनाएको छ ।

Published on: 20 November 2023 | Gorkhapatra

Link

Back to list

;