s

क्रोएसिया पठाइदिन्छु भन्दै डेढ करोड ठगी गर्ने मलंग पक्राउ

प्रहरीले युरोपेली मुलुक क्रोयसिया पठाइदिन्छु भन्दै ठगी गर्ने वैदेशिक रोजगारसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिका–३ महेशपुरपतारीका करिब ३५ वर्षीय साबिर मलंग रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए । मलंगलाई महेशपुरपतारस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार दिउँसो १२ बजेतिर गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । 

पक्राउ गरिएका एजेन्ट मलंगलाई शुक्रबार बिहान विभागमा उपस्थित गराउने गरी बिहीबार राति काठमाडौं लगिने इलाका प्रहरी कार्यालय महेशपुरपतारका प्रमुख प्रहरी निरीक्षक गोविन्दलाल कर्णले बताए । उनका अनुसार १२ र १५ भदौमा विभागको अनुसन्धान तथा मुद्दा शाखाबाट महेशपुरपतार प्रहरीको नाममा वैदेशिक रोजगार कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरी स्वास्थ्य परीक्षणसहित विभागमा उपस्थित गराइदिन पत्राचार भएबमोजिम पक्राउ गरी पठाइएको हो । विभागले उनकी श्रीमती कुरेश खातुनलाई समेत पक्राउ गरी पठाइदिन भने पनि फरार रहेकाले खोजी भइरहेको उनले बताए ।

भारतको नयाँ दिल्ली ६९/जिएफ इस्लाम कोलोनीमा पनि बस्ने गरेका मलंगले कैलालीको घोडाघोडी नगरपालिका– २ घर भएका अर्जुन विक भनेर चिनिने चिता अर्जुन कामीलाई सहायक एजेन्ट बनाएर नेपालका विभिन्न जिल्लाका झन्डै ५० जनासँग एक करोड ६२ लाख रुपैयाँ ठगी गरेको आरोप छ । आकर्षक तलबसहित क्रोएसिया पठाउँछु भन्दै कामीमार्फत मलंगले दाङका ६ जनाबाट साढे २२ लाख, भारतको दिल्ली पुर्‍याएर अछामका पाँचजनासँग १६ लाख, इलामका एकजनासँग २३ लाख, धरानका दुईजनासँग सात लाख र सिराहाको लहान क्षेत्रका तीनजनाबाट सात लाख रुपैयाँ असुलेको एक पीडितले बताए । 

त्यस्तै, मलंग चितवनका चारजनाबाट १३ लाख, स्याङ्जाका चारजनाबाट आठ लाख, सुर्खेतका दुईजनाबाट आठ लाख, काठमाडौंका एकजनासँग सात लाख, कास्कीका २३ जनाबाट ५० लाख रुपैयाँ लिएर आजभोलि भन्दै फोनसमेत नउठाई फरार भएपछि पीडितमध्ये बाग्लुङका एक पीडितले श्रीमतीमार्फत वैदेशिक रोजगारसम्बन्धी कसुरमा गत ४ असारमा विभागमा उजुरी गरेका थिए । विभिन्न माध्यमले अर्जुनको सम्पर्कमा पुग्ने गरेका व्यक्तिलाई उनकी श्रीमतीलाई पोर्चुगल पठाएर राम्रो कमाइ गरिरहेको भन्दै लोभ्याएर मलंगले आफ्नी श्रीमती कुरेशको बैंक खातामा रकम उठाउँदै आएको पीडितको भनाइ छ । अछामका पाँचजनाले भारतको नयाँ दिल्ली–३० महरौली थानामा समेत अर्जुनमार्फत मलंगले वैदेशिक रोजगारीको नाममा धोकाधढी गरेको भन्दै १७ जुन ०२३ मा उजुरी दर्ता गएका थिए ।

Published on: 10 November 2023 | Naya Patrika

Link

Back to list

;