s

क्रोएसिया गएकी युवती इराकमा पाँच महिना बन्धक, घटनामा संलग्न एक अभियुक्त पक्राउ

युरोपेली राष्ट्र क्रोएसियामा आकर्षक रोजगारी दिने प्रलोभनमा पारेर इराक पुर्‍याइएकी एक युवतीलाई पाँच महिनासम्म बन्धक बनाउने लमजुङ दोर्दी गापा–६ का ५० वर्षीय देवराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो ।

उनी स्वयम्भूमा जडीबुटी पसल सञ्चालन गर्दै आएका थिए । प्रहरीका अनुसार उनले पीडित युवतीलाई आकर्षक तलब हुने भन्दै क्रोएसिया जान राजी गराएका थिए । त्यसबापत मोटो रकम असुलेका थिए । त्यसपछि उनले पीडितलाई ९ मंसिर ०७८ मा भिजिट भिसाबाट दुबई हुँदै इराक पठाएका थिए । तर, इराकमा रहेका दलालले पीडित महिलालाई क्रोएसिया नपठाई बन्धक बनाएका थिए ।

प्रहरीका अनुसार महिलालाई इराकको अपार्टमेन्टमा बन्धक बनाई राखिएको थियो । त्यसक्रममा युवतीको पासपोर्ट जफत गरिएको थियो । पीडित युवतीले क्रोएसिया पठाउने वा नेपाल फर्काउन प्रस्ताव गर्दा उल्टै ४३ सय अमेरिकी डलर माग गरेका थिए । रकम दिन नसकेपछि युवती पाँच महिना अपार्टमेन्टमा बन्धक बनेकी थिइन् ।

यसक्रममा युवतीलाई शारीरिक तथा मानसिक यातना दिइएको अनुसन्धानमा संलग्न ब्युरोका प्रवक्ता एसपी कृष्ण पंगेनीले बताए । उनले भने, ‘आकर्षक तलब हुने प्रलोभनमा युवतीलाई इराक लगियो । र, बन्धक बनाइयो । यसक्रममा युवतीलाई शारीरिक तथा मानसिक यातना दिएको अनुसन्धानबाट देखिएको छ । धन्दामा संलग्न एक अभियुक्तलाई पक्राउ गरेका छौँ ।’

ब्युरोका अनुसार यातना सहन नसकेपछि पीडित युवतीले नेपालमा रहेका आफन्तमार्फत एजेन्टलाई पटक–पटक गरी पाँच लाख ४८ हजार रुपैयाँ भुक्तानी गरेकी थिइन् । त्यसपछि मात्रै उनी ७ वैशाख ०७९ मा नेपाल आउन सफल भएकी थिइन् । त्यसलगत्तै युवतीले घटनामा संलग्न अभियुक्तविरुद्ध ब्युरोमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा ब्युरोले घटनामा संलग्न तामाङलाई गत १७ असारमा पक्राउ गरेको थियो । घटनामा संलग्न अन्य अभियुक्तको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

Published on: 7 July 2023 | Naya Patrika

Link

Back to list

;