s

क्रसर उद्योग खुलेपछि मजदुरहरु खुसी

अमरराज नहर्की

तनहुँ, माघ १२ गते । सरकारले क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेपछि त्यसमा आश्रित मजुदुरहरु खुसी भएका छन् । उद्योग बन्द हुँदा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा आश्रित करिब एक हजार मजदुर बेरोजगार हुनुपर्दा मजुदरहरु मारमा परेका थिए ।

गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो । तनहुँमा उद्योग बन्द हुँदा ज्यालादारी गरेर जीवनयापन गरेर परिवारलाई बिहान र बेलुकाको दुई छाक खान खान समेत मुस्किल बनेको थियो ।

ऋषिङ गाउँपालिका–१ झापुटार निवासी इशारा थापाले क्रसर उद्योग बन्द हुँदा के गरेर खाने भनेर चिन्ता परेको र खुलेपछि जीवनयापनको लागि सहज भएको बताउनुभयो ।

सोही ठाउँ निवासी उषा थापाले विगत १० वर्ष देखि नै यसै क्षेत्रमा काम गरेर जीवनयापन गरेको उद्योग बन्दा मानसिक तनाव भएकोमा खुलेपछि खुसी लागेको बताउनुभयो । ‘छोराछोरीलाई कसरी पढाउने र घर खर्च कसरी चलाउने भन्ने चिन्ता थियो अहिले हटेको छ’ थापाले भन्नुभयो ।

तनहुँको क्रसरले उत्पादन गरेको सामग्री नेपालकै नम्बर १ भएकाले माग धेरै हुँदा क्रसर उद्योगले ठूलो सङ्ख्यामा रोजगारी दिँदै आएको थियो । गण्डकी क्रसर व्यवसायी सङ्घका सदस्य तथा शिवशक्ति क्रसर उद्योगका सञ्चालक धर्मकुमार जोशीले तनहुँमा सङ्घमा आबद्ध २० वटा उद्योगमा एकबाट कम्तिमा पनि ५० जनाले रोजगारी प्रदान गरेको र उद्योग बन्द हुँदा एक हजार भन्दा धेरै मजुदुरको रोजगारी खोसिएको सरकारले खोल्ने निर्णय गरेपछि काममा फर्किने वातावरण बनेको बताउनुभयो ।

गृह मन्त्रालयले पुरानो मापदण्डअनुसार दर्ता भएको र हालको मापदण्ड नपुगेकाले नवीकरण नभएका तथा अन्य मापदण्ड पालना नगरी सञ्चालनमा रहेका जिल्लामा सञ्चालनमा रहेका २० वटा क्रसर उद्योगमा ताला लगाएको थियो ।

जिल्लामा शुक्लागण्डकी नगरपालिकामा १३, आँबुखैरेनी गाउँपालिकामा ३, म्याग्दे गाउँपालिकामा ३ र बन्दीपुर गाउँपालिकामा एउटा क्रसर उद्योग सञ्चालनमा छन् । मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिने गरी दर्ता भएका उद्योगहरु चल्न दिने निर्णय भएपछि तनहुँमा पनि खुल्ने भएका हुन् ।

विना अनुमतिपत्र चलिरहेको सबै क्रसर उद्योग बन्द रहने उहाँले बताउनुभयो । आयोजना विशेषका लागि खुलेका तर आयोजना सम्पन्न भएपछि पनि चलिरहेका क्रसर उद्योगहरु पनि अब बन्द हुनेछन् । क्रसर उद्योग बन्द भएपछि आयोजनाहरुमा काम प्रभावित भएको थियो भने मजदुरहरु समेत बेरोजगार बन्नुपरेको थियो ।

Published on: 27 January 2023 | Gorkhapatra

Link

Back to list

;