s

कोभिडले खोस्यो रोजगारी, बन्द–हडतालले झन् बढायो त्रास

विमल खतिवडा

काठमाडौँ — काभ्रे तिमाल गाउँपालिका–२ का ३९ वर्षीय खड्कलाल तामाङलाई राम्रोसँग निद्रा नपरेको महिना दिन हुन लाग्यो । कारण हो, सहकारीको ऋण । लगनखेल–रत्नपार्क रुटमा २२ वर्ष सवारी चलाएका उनले दुःखजिलो गरेर गाडी किन्ने साहस जुटाए । कोभिडअघिसम्म आम्दानी राम्रै थियो । त्यही आम्दानीले उनलाई गाडी मालिक बन्ने हिम्मत दियो । नभन्दै दुई वर्षअघि मासिक ४२ हजार रुपैयाँ तिर्ने गरी २६ लाख रुपैयाँमा सहकारीमार्फत ऋण लिएर हाइस माइक्रो किने ।

आम्दानी राम्रै थियो । समयमै गाडीको किस्ता तिर्थे । चार जनाको परिवार पालिएकै थियो । दुई छोरालाई काठमाडौंमै पढाएका थिए । जब कोभिडपछि लकडाउन भयो, गाडी थन्किए । आम्दानीको स्रोत गुम्यो । परिवारलाई गाउँ फर्काइदिए । छोरालाई पढाउन काठमाडौं ल्याउन सकेनन् । लकडाउनमा कमाइ नभएपछि गाडीको किस्ता तिर्न पाएनन् । सहकारीले आम्दानी गरेको छैन भन्ने हेरेन । देखेन । पटकपटक फोन र चिठी पठाएर लकडाउन अवधिको साँवाब्याज भुक्तानी गर्न ताकेता गरिरह्यो । यति हुँदा पनि उनले गाडी चल्छ, कमाएर तिर्छु भन्दै आत्मबल बढाइरहे ।

तर जब ३५ दिनभित्र तोकेको रकम नबुझाए गाडी लिलामी गर्ने पत्र सहकारीले थम्यायो, त्यसपछि उनलाई निद्रा परेको छैन । मानसिक तनावमा छन् । ‘३५ दिने सूचना सकिन १० दिन मात्र बाँकी छ,’ उनले बिलौना गरे, ‘खै के आम्दानीले तिर्नु ? गाडी नै लिलाम भयो भने मेरो उठीबासै लाग्छ ।’

१३ लाख रुपैयाँ तिर्न बाँकी छ । घट्दो किस्ता हो । पाँच वर्षका लागि सम्झौता गरेर लिएको उनले सुनाए । अहिले पनि गाडी चढ्ने यात्रु हुँदैनन् । दिनमा हजार, बाह्र सय जति कमाइ हुन्छ । परिवार यसैले पाल्नुपरेको छ । गाडी बिग्रिए बनाउने पनि यही पैसा हो । तेल सकिए हाल्ने पनि यही हो । ‘फेरि अहिले बन्द–हडताल सुरु भयो,’ उनले भने, ‘दिनहुँ जस्तो सडकमा नाराजुलुस, सभा हुन थालेका छन्, यसले झन् बढी मार खेप्नुपरेको छ, सहकारीले भने मर्का बुझ्दैन ।’

– दोलखाका नारायण खड्काको पीडा पनि उस्तै छ । उनले सहचालकका रूपमा काम गर्न थालेको ६ वर्ष भयो । अहिले रोजगारविहीन छन् । २८ वर्षीय उनले सुरुमा काँकडभिट्टा–काठमाडौं चल्ने रात्रिबसमा काम गरे । लकडाउनपछि गाडी ठप्प बने । रोजगारी गुम्यो । त्यसपछि काठमाडौंका लोकल बसमा काम पाइन्छ भनेर यतै अडिए । लकडाउन खुलेपछि काम पनि पाए । लगनखेल–रत्नपार्क चल्ने माइक्रोमा काम थाले । तर बिहीबार आमहडताल हुने सूचना बाहिरिँदै गर्दा गाडी मालिकले बुधबार नै फोन गरेर अब काममा नआउनू भने । ‘गरिब मान्छे कहिल्यै कसैका आफ्ना हुन सक्दैनन् भन्थे,’ उनले भने, ‘आज त्यो म आफैं भोग्दै छु ।’ चार जनाको परिवार छ । इमाडोलमा बस्ने उनले मासिक ८ हजार रुपैयाँ कोठाभाडा तिर्छन् । केही सीप नलागेपछि पहिला काम गरेका रात्रि बसका मालिकलाई पनि फोन गरे । उनले पनि अहिले नआउनू भन्ने जवाफ दिए । ‘फेरि बन्द–हडताल सुरु भएको छ, यो बेला गाडी चल्दैनन्,’ उनले भने, ‘त्यसैले काम पनि पाइँदैन, कसरी बाँच्ने ? तनाव छ ।’

– सिन्धुपाल्चोकका रवि केसी कपन बगलामुखी यातायातको बुकिङ काउन्टरमा बस्थे । अहिले यसलाई कपन नगर बस यातायात प्रालि बनाइएको छ । सबै गाडी पुराना थिए । ‘लकडाउनले गर्दा ६ महिनाभन्दा बढी गाडी थन्किए,’ उनले भने, ‘पछि लकडाउन त खुल्यो तर गाडी पुराना भएकाले लामो समय थन्किँदा चल्न सकेनन् ।’ उनका अनुसार कम्पनी नै टाट पल्टियो । अहिले गाडी चल्न सकेका छैनन् । ‘त्यसपछि मेरो पनि रोजीरोटी गुम्यो,’ उनले भने, ‘चार जनाको परिवार छ, मेरै कमाइले पालिएको थियो, अहिले ऋण लिएर परिवार पाल्नुपर्ने बाध्यता छ ।’ उनले बुकिङ काउन्टरमा १४ वर्ष काम गरे । अहिले काम खोज्दा पाएका छैनन् ।

उल्लिखित पात्र लकडाउनपछि रोजगारी गुमाउने र समस्यामा परेका प्रतिनिधि मात्र हुन् । लामो समय कोभिडको मारमा परेका यातायात मजदुर फेरि सुरु भएको बन्द– हडतालले रोजगारी गुम्ने हो कि भन्ने चिन्तामा छन् । कोभिडपछि यातायातका साधन अझै राम्रोसँग सञ्चालनमा आइसकेका छैनन् ।

कोभिडको असर नसकिँदै राजनीतिक घटनाक्रमले यातायात क्षेत्र थिलथिलो बन्दै गएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई सुनाउँछन् । ‘अझै जीवन सामान्य बनेको छैन,’ उनले भने, ‘कोभिडले गर्दा करिब डेढदेखि दुई लाख यातायात मजदुर पेसाबाट पलायन भइसकेका छन् ।’ यो क्षेत्रमा २१ लाखभन्दा बढी रोजगार थिए । त्यसमा कतिपयले पेसा छाडे भने, कतिपयले परिवर्तन । कति व्यवसायी विस्थापित बने । ‘यसमा चालक, सहचालक, स्वरोजगार, बुकिङ, चेकिङदेखि यातायात क्षेत्रमा पर्ने सबै मजदुर छन्,’ राईले भने, ‘अझै पनि विस्थापनबारे तथ्यांक खोजिरहेका छौं ।’

बैंकले किस्ताका लागि ताकेता गरिरहेका छन् । तिर्ने समय पछि सार्ने कुरा भए पनि कार्यान्वयनमा नआएको उनको भनाइ छ । बिहीबार नेकपाको दाहाल–नेपाल समूहले देशव्यापी आमहडताल गर्‍यो । त्यसको मार यातायात व्यवसायीले खेपे । शुक्रबार नेकपाको ओली समूहले उपत्यकाको यातायातलाई अस्तव्यस्त पार्दै दरबारमार्गमा सभा आयोजना गर्‍यो । त्यसको मार पनि यातायात व्यवसायीलाई नै पर्‍यो ।

‘बन्द–हडतालको पहिलो निसानामा हामी व्यवसायी पर्ने गरेका छौं, गाडी ठप्प पारिन्छ, चलाए आगजनी र तोडफोड गरिन्छ,’ एक चालकले आक्रोश पोखे, ‘तर गाडीमा काम गर्ने मजदुरले कसरी गुजारा गरेका छन्, यो बुझ्ने सोध्ने कोही हुँदैन ।’

‘सवारी तोडफोड गर्न पाए बन्द सफल भयो भन्ने मानसिकता हाबी छ,’ उनले भने, ‘तर एक दिन गाडी बन्द गर्दा त्यसमा आबद्ध मजदुर कर्मचारीले कसरी गुजारा गर्छन् भनेर सोचिदिने कोही छ ?’

लकडाउनयता अहिलेसम्म सरकार र राजनीतिक दलबाट यातायात क्षेत्रलाई सहानुभूति मिल्ने कुनै काम नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । ‘यातायात क्षेत्र अलिअलि बामे सर्न सुरु गरेको मात्र के थियो, सत्तापक्ष नै आपसमा झगडा गर्दै राजनीतिक दुर्घटना निम्ताउनेतर्फ लागे,’ उनले भने, ‘त्यसको मार भने हामीलाई परेको छ ।’ यातायात क्षेत्रमा १० खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको उनले जानकारी दिए । जसमा ७० प्रतिशत हाराहारी लगानी बैंकको रहेको उनले सुनाए ।

कोभिडपछि गाडी गुडेका त छन् । तर खर्च धान्ने गरी कमाउन नसकेको सिटौलाले बताए । ८० प्रतिशत गाडी मात्र गुडेका र २० प्रतिशत थन्किएकै अवस्थामा रहेको उनको भनाइ छ । खिया लागेका गाडी बनाएर चलाउने पैसासमेत व्यवसायीसँग नभएको उनले गुनासो गरे । अहिले ऋणको किस्ता तिर्न नसक्दा व्यवसायी गाडी लिलामीमा छाड्नुपर्ने अवस्थामा पनि पुगेको उनले जानकारी दिए । ‘राजनीतिक दलले एक दिन बन्द भएर यातायात नचल्दा त्यो दिनको बैंकको ब्याज तिरिदिने जिम्मा लिनुपर्‍यो,’ सिटौलाले भने, ‘होइन भने हामी राजनीतिक दलका चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो होइनौं, अब बन्द हडताल र अवरोधको विकल्प खोज्नैपर्छ ।’

Published on: 6 February 2021 | Kantipur

Link

Back to list

;