s

कोभिड-१९ बारे आकलन रिपोर्ट तयार पार्दै परराष्ट्र

जगदीश्वर पाण्डे

काठमाडौँ — विदेशमा रहेका नेपाली श्रमिकहरुलाई उच्च प्राथमिकतामा राख्दै परराष्ट्र मन्त्रालयले कोभिड–१९ आकलन रिपोर्ट तयार गर्न थालेको छ । नेपाली नागरिक रहेका विदेशी मुलुकहरुमा कोरोना भाइरसको अवस्था, सम्बन्धित मुलुकमा भइरहेको काम, नेपाल सरकारले गरिरहेको कूटनीतिक नियोगहरुबाट गरिरहेको पहल र कोरोना भाइरस संक्रमण सकिएपछि भविष्यमा आउन सक्ने सम्भावित समस्यालाई मध्यनजर राख्दै उक्त रिपोर्ट तयार गर्न लागिएको हो ।

सम्पूर्ण नेपाली नागरिकहरु बसोबास गर्दै आएका मुलुकका बारेमा चासो दिँदै आकलन रिपोर्ट तयार गरिने भए पनि उच्च प्राथमिकता भने नेपाली श्रमिकहरु रहेका खाडी मुलुक र मलेसियालाई दिइने परराष्ट्रले जनाएको छ।

५ खाडी मुलुक र मलेसियामा गरी करिब १४ लाख नेपाली श्रमिकहरु कार्यरत छन्। कोरोना भाइरसको प्रकोपका कारण ती मुलुकहरुको पनि अर्थतन्त्र कमजोर हुने भएपछि आउन सक्ने सम्भावित समस्याहरुलाई मध्यनजर राखेर आकलन रिर्पोट तयार पार्न लागिएको हो। 

यूएईमा २ लाख ५० हजार, साउदी अरेबियामा ३ लाख ५० हजार, बहराइनमा ३० हजार, कुवेतमा ८० हजार, कतारमा ३ लाख ५१ हजार र ओमानमा १५ हजार नेपाली श्रमिक कार्यरत छन्। यस्तै, मलेसियामा ३ लाख २५ हजार नेपाली श्रमिक कार्यरत छन्। 

परराष्ट्रले आकलन रिपोर्ट तयारीका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग पनि छलफल गरेको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार श्रमिक भएका मुलुकहरुपछि मन्त्रालयले नेपाली विद्यार्थी भएका मुलुकहरुलाई प्राथमिकतामा राखेको छ। नेपाली विद्यार्थी बढी भएका मुलुकहरुमा अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्युजिल्यान्ड, जापान, साइप्रस, बेलायत, जर्मनी, फ्रान्स, बंगलादेश, थाइल्यान्ड, सिंगापुरलगायत पर्छन्।

मन्त्रालयले उक्त आकलन रिपोर्ट विदेशमा रहेका नेपाली नियोगहरुको सहयोगमा निर्माण गर्न लागेको हो। विश्वका विभिन्न देशमा नेपालका ३० राजदूतावास, तीन संयुक्त राष्ट्र संघीय स्थायी नियोग र ६ महावाणिज्य दूतावास छन्। ‘हामीले हाम्रा नियोगहरुसँग छलफलका आधारमा यो रिपोर्ट तयार गरिरहेका छौं,’ प्रवक्ता पौड्यालले भने।

मन्त्रालयले यसअघि नै आफ्ना कूटनीतिक नियोगहरुलाई दैनिक रुपमा सम्बन्धित महाशाखामा रिपोर्ट पठाउनका लागि पनि निर्देशन दिएको थियो। त्यहीअनुसार मन्त्रालयमा दैनिक रुपमा रिपोर्ट आउने गरेका छन्। योसँगै मन्त्रालयले आकलन रिपोर्टका लागि आ–आफ्ना मुलुकको बारेमा पनि जानकारी दिन भनेको थियो। त्यहीअनुसार सम्बन्धित मुलुकका राजदूत तथा नियोग प्रमुखहरुले मन्त्रालयलाई जानकारी दिएका छन्।

दुई दिनअघि खाडीमा रहेका नेपाली राजदूतहरुले भिडियो कन्फरेन्समार्फत त्यहाँको अहिलेको अवस्था र भविष्यको लक्ष्यको बारेमा छलफल गरेका थिए। उक्त छलफलमा सहभागी ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले नेपाली श्रमिकहरुको हकहित र सुरक्षाको विषयमा कुरा भएको बताइन् ।

खाडी मुलुकहरुमा अहिले कम्पनीसँग आफ्नो कन्ट्रयाक्ट सकिएका, घुम्न आएका र आममाफी पाएका नेपाली नागरिकहरु अलपत्र परेको उनले बताइन्। कोरोना भाइरसको संक्रमण रोकिएपछि सबै एकै पटक सबै यात्रा गर्ने तयारीमा हुने भएकाले त्यो बेला आउन सक्ने समस्याको समाधान गर्नु पर्ने चुनौती रहेको राजदूत पराजुलीले बताइन्।

मन्त्रालयका प्रवक्ता पौड्यालले कोरोना भाइरस नियन्त्रण भएपछि एकैपटक जहाज खुलेपछि पर्न सक्ने आन्तरिक र बाह्य प्रभावबारे पनि आकलन रिपोर्टमा समेटिने बताए। 

आकलन रिपोर्टमा विदेशस्थित नेपाली नियोगहरुले गर्नु परिरहेको काम, त्यहाँको समस्या र समाधानका विषयमा पनि समेटिने छ। खाडी मुलुक र मलेसियामा रहेका नेपाली नियोगहरुले अहिलेको अवस्थामा चार विषयमा ध्यान केन्द्रित गरेर काम गर्नु परेको छ। पहिलो, त्यहाँ रहेका नेपाली श्रमिकहरुको संरक्षण र सुरक्षा गर्नु। दोस्रो, नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत दिने निर्णयहरुलाई कार्यान्वयन गर्ने। तेस्रो, सम्बन्धित मुलुकहरुले त्यहाको परिस्थितिअनुसार जारी गरेका निर्णयहरुलाई पालना गर्नु र नेपाली नागरिकहरुलाई त्यसको जानकारी दिनु। र, दैनिक रुपमा गर्दै आइरहेका कामलाई निरन्तरता दिनु। 

कूटनीतिज्ञ अर्जुनकान्त मैनाली परराष्ट्रले आकलन रिपोर्ट निर्माण गर्न सबैभन्दा पहिला सम्बन्धित राजदूतावासहरुबाट अनुमानित योजना माग गर्नुपर्ने बताउँछन्। ‘कोराना भाइरसले प्रभावले खाडीका मुलुकहरु र मलेसियाको अवस्था अझै नाजुक हुन सक्छ। त्यसका लागि नेपाल सरकार पहिले नै तयारी अवस्थामा रहनुपर्छ। त्यसको योजना सम्बन्धित राजदुतावासहरुलाई तत् तत देशको आंकलन रिर्पोट बनाएर पठाउन लगाउनु पर्छ। यदि राजदूतहरुले बनाएका आकलन रिर्पोट भविष्यमा गलत सावित भए कारबाही गर्नसमेत पछि पर्नु हुन्न,’ मैनालीले सुझाव दिए।

Published on: 25 April 2020 | Kantipur

Link

Back to list

;