s

कोभिड–१९ असर : भारतमा नेपालीको रोजगारी गुम्ने त्रास

भारतका विभिन्न सहरमा होटल, रेस्टुराँलगायतको व्यवसाय ह्वात्तै घटेपछि त्यसको मारमा नेपाली पनि पर्ने देखिएको छ

सुरेशराज न्यौपाने

नयाँ दिल्ली — भारतमा कोरोना भाइरस (कोभिड–१९) को त्रास बढ्दै जाँदा आर्थिक क्षेत्र पनि नराम्ररी प्रभावित हुन थालेको छ । सोमबार साँझसम्म भारतमा १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये १७ जना विदेशी नागरिक छन् । कोभिड–१९ का कारण विशेषगरी पर्यटन र उद्योग क्षेत्र नराम्ररी प्रभावित छन् ।

कोभिड–१९ महामारीको प्रकोप सबैभन्दा बढी चीन र युरोपमा देखिएको त्यसको सबैभन्दा बढी असर भारतको निर्यात व्यापारमा परेको हो । चीन एवं युरोपका इटाली, जर्मनीलगायत मुलुक भारतीय उत्पादनको प्रमुख बजारमा पर्छन् । यसले पनि यहाँको उद्योग व्यवसायमा नराम्रो धक्का लागेको छ ।

विदेशीहरूको प्रवेशमा रोक लगाइएका कारण भारतको पर्यटन क्षेत्र झन् बढी प्रताडित भएको छ । कोभिड–१९ को त्रास र भयका कारण भारतीय पर्यटक पनि घुम्न छाडेका छन् । कतिपय होटलका बुकिङ खारेज भएका छन्, कतिपय पछि सारिएको छ । हवाई क्षेत्रले पनि ठूलो धक्का बेहोरेको छ । अहिले नै अन्तर्राष्ट्रिय उडानमा ७५ प्रतिशत र आन्तरिकमा २० प्रतिशतको कमी आएको अनुमान छ ।

पर्यटन र उद्योग भारतीय अथर्तन्त्रका प्रमुख आधार भएकाले ती क्षेत्रमा पर्ने असरले आर्थिक वृद्धिदरमा पनि स्वतः पर्ने निश्चित छ । कोभिड–१९ को असरबारे विस्तृत विश्लेषण हुनुअघि नै भारतीय अर्थतन्त्रको वृद्धिदर यो वर्ष ५ प्रतिशत मात्र हुने प्रक्षेपण गर्न थालिएको छ । व्यापार एवं विकासका लागि संयुक्त राष्ट्र सम्मेलन (अन्कटाड) ले कोभिड–१९ का कारण सबैभन्दा बढी प्रभावित हुने मुलुकहरूमा भारतलाई पनि सूचीकृत गरिसकेको छ ।

पर्यटन क्षेत्रमा मन्दी र उत्पादनशील क्षेत्रमा सुरु भएको गिरावटका कारण अर्थतन्त्रमा ल्याउने संकुचनको प्रत्यक्ष असर यहाँको श्रम बजारमा पनि पर्ने नै छ । त्यसका संकेत देखिन थालेका छन् । यसबाट हजारौंको संख्यामा रहेका नेपाली पनि समस्यामा पर्नेछन् । यकिन तथ्यांक नभए पनि भारतमा काम गर्नेमध्ये ६० प्रतिशतभन्दा बढी होटल, रेस्टुराँ, कलकारखानालगायतमा नेपालीले काम गर्ने गरेको अनुमान छ । सुदूर र मध्यपश्चिम पहाडबाट भारत काम गर्न आउने नेपालीमध्ये प्रायः होटल र रेस्टुराँमा काम गर्छन् । विशेषगरी गोवा, मुम्बई, दिल्ली, जयपुर, सिमला, चण्डीगढलगायत पर्यटकीय सहरमा नेपाली कामदारको उपस्थिति ठूलो छ ।

भारतमा वर्षभरि आउने पर्यटकमध्ये १५ प्रतिशतभन्दा बढी यो दुई महिना मात्र भित्रिने गरेका छन् । तर यही समयमा कोभिड–१९ को महामारी विश्वव्यापी बनेकाले भारतको पर्यटन क्षेत्रमा नराम्रो धक्का लाग्न पुगेको छ ।
भारतको गृह मन्त्रालयका अनुसार गत २० फेब्रुअरीमा ३३ हजार विदेशी पर्यटक भारत आएकोमा १० मार्चमा त्यो घटेर १८ हजारमा झरेको छ ।

भारत सरकारले अप्रिल १५ सम्मका लागि सबै विदेशीहरूको भिसा रद्द गरिसकेको छ । त्यसमाथि नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको महाराष्ट्रमा कोभिड–१९ को प्रकोप अन्य राज्यको तुलनामा बढी छ । त्यहाँ सबैभन्दा बढी ३७ जनामा भाइरस पुष्टि भएको छ ।

मुम्बईमा पनि नेपालीहरूले होटल/रेस्टुराँमा काम गर्ने गरेका छन् । मुम्बईमा मात्र ३२ वटा आउटलेट रहेको चाइना गेट रेस्टुराँमा मात्र हजारभन्दा बढी नेपाली काम गर्छन् । अधिकांश डडेलधुरा, डोटी, कैलाली र कन्चनपुरका रहेको उक्त रेस्टुराँमा क्याप्टेन पदमा कार्यरत टिकापुरका रोहित टमाटाले बताए । तर चिनियाँलाई लक्ष्य गरी सञ्चालित यो रेस्टुराँ केही सातादेखि प्रायः खाली छ । अरू बेला दिनहुँ डेढ सयभन्दा चिनियाँ आउने गरेकोमा अहिले मुस्किलले चारपाँच जना मात्र पाहुना लाग्ने गरेको टमाटाले बताए ।

‘यो लामो समयसम्म चलेको रेस्टुराँ नै बन्द हुन सक्छ,’ उनले भने । व्यवसाय ओरालो लाग्दै गएपछि रेस्टुराँले पनि कर्मचारी कटौतीका लागि छलफल सुरु गरिसकेको र अहिलेसम्म १० प्रतिशत घटाइसकेको उनको भनाइ छ । १० वर्षदेखि भारतको पर्यटकीय नगरी गोवाको एउटा रेस्टुराँमा सेफको काम गर्दै आएका राजेश योन्जनले पनि पछिल्लो समय व्यवसाय सुस्त भएको प्रतिक्रिया दिए । ललितपुर लेलेका योन्जनको भनाइमा पछिल्लो समय पर्यटकको संख्यामा करिब ६० प्रतिशत कमी आएको छ ।

कोभिड–१९ को प्रभाव नयाँदिल्लीमा समेत देखिन थालेको छ । दिल्लीमा पनि रोजगारीमा रहेका नेपालीको संख्या उल्लेख्य छ । उनीहरू विशेषगरी उद्योगधन्दा, होटल र रेस्टुराँमा कार्यरत छन् । पाँचतारे होटलदेखि सडकपेटीमा चाइनिज ढावासम्ममा नेपालीहरूले रोजगारी पाएका छन् । दिल्लीको अन्य होटलका सञ्चालक गौरव अग्रवालले पर्यटकको संख्यामा ९० प्रतिशत कमी आएको बताए । ‘यस्तो अवस्थामा कर्मचारीलाई कहिलेसम्म पाल्न सकिन्छ, हैर्दै जाऊँ,’ उनले भने ।

कोभिड–१९ को यस किसिमको असर कति समयसम्म लम्बिने हो भन्ने टुंगो नभएपछि यहाँका नेपालीलाई चिन्तित बनाउँदै लगेको छ । दिल्लीको पाँचतारे होटल ताजमान सिंहको ‘हाउस अफ मिङ’ रेस्टुराँमा डेढ दशकदेखि हेड सेफका रूपमा कार्यरत कमल थापाले पनि उस्तै चिन्ता व्यक्त गरे ।

दिल्लीको रोहिणीस्थित होटल ग्रान्ड प्लाजामा सेफ रहेका गुल्मीका वसन्त कौशलले पनि महिनामा कम्तीमा पनि २०/२२ वटा ठूला पार्टी हुने गरेकोमा यो महिनामा अहिलेसम्म एउटा पनि पार्टी नभएको बताए । यही क्रम रहने हो भने जागिर नै संकट पर्न सक्ने उनको भनाइ छ ।

Published on: 17 March 2020 | Kantipur

Link

Back to list

;