s

कोभिड–१९ः ११ लाख यातायात मजदुरको बिचल्ली

हिमाल लम्साल 

कोभिड–१९ को दोस्रो लहरले सार्वजनिक यातायात क्षेत्रका ११ लाखभन्दा धेरै मजदुर बिचल्लीमा परेका छन्। सरकारले गत वैशाख १६ गतेदेखि लागू गरेको निषेधाज्ञाले सार्वजनिक यातायातका साधनमा काम गर्ने ११ लाखभन्दा धेरै मजदुर प्रत्यक्ष प्रभावित भएका हुन्। पहिलो लहरको कोभिड–१९ को कारण झण्डै ६ महिना थिल्थिलो परेको यातायात क्षेत्र दोस्रो लहरले पनि झण्डै डेढ महिनादेखि ठप्प छ। 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई कोभिड–१९ को दोस्रो लहरका कारण यातायात मजदुर रोगले भन्दा पनि भोकले मर्ने अवस्था आएको बताउँछन्। ‘मजदुरहरू रोगले भन्दा पनि भोकले मर्न थालिसकेका छन्,’ उनले भने, ‘फ्रन्ट लाइनमा खटिएका मजदुरलाई खोपको माग गरिरहेका छौं। तर सरकारले सुनेको छैन।’ उनका अनुसार यातायात क्षेत्रका मजदुर र सञ्चालकले दिनहुँ यातायात सेवा सञ्चालन गरेर गर्जो टार्छन्। दिनभरी सार्वजनिक यातायात चलाएर साँझ–विहानका खाद्यान्न खरिद गरी गुजारा चलाउनेमा पर्छन् यस क्षेत्रका मजदुर भन्छन् अध्यक्ष राई। यसअघि लकडाउनबाट लामो दूरीका सार्वजनिक यातायात ६ महिना ठप्प भयो। 

अहिलेको निषेधाज्ञा पनि ४० दिनभन्दा धेरै भइसकेको छ। १० खर्बभन्दा धेरै लगानी रहेको सार्वजनिक यातायात पछिल्लो समय लगभग ठप्प जस्तै छ। अध्यक्ष राईले कोभिड–१९ को दोस्रो लहरमा संगठन अन्तर्गतका १४ मजदुरको मृत्यु भएको बताए। ‘हाम्रो संगठन मातहतका १४ जनाको कोभिड–१९ ले ज्यान लिएको छ। मृतकका परिवारको बिचल्ली भएको छ,’ उनले भने, ‘संगठन मातहतका ४४ जना संक्रमित उपचार गराइरहेका छन्।’ 

अध्यक्ष राईले कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित सार्वजनिक यातायात मजदुरलाई सरकारले राहत तथा सहुलियतको कुनै पनि प्याकेज घोषणा नगरेको गुनासो गरे। ‘यातायात मजदुर विहानदेखि बेलुकासम्म काम गरेर बेलुका गुजारा चलाउने खालका हुन्,’ उनले भने, ‘निषेधाज्ञा घोषणा भएको पनि डेढ महिना बित्न लागिसक्यो। तर एक मुठी राहत पाउन सकेका छैनन्।’

कोरोनाको दोस्रो लहर नियन्त्रण तथा रोकथामको लागि भन्दै गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो। देशका लगभग सबै जिल्लामा निषेधाज्ञा छ।

गत वैशाख १६ गतेदेखि मालबाहक बाहेकका सवारी साधन घर र ग्यारेजमा थन्किएका छन्। सार्वजनिक यातायात व्यवसायीको एक सुको आम्दानी छैन। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यस क्षेत्रमा १० खर्बभन्दा धेरै लगानी भएको जनाएको छ। मानव जीवनको लाइफलाइन मानिने सार्वजनिक यातायात ठप्प हुँदा अर्थतन्त्रमा गम्भीर प्रकृतिको समस्या देखिन थालेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला निषेधाज्ञाको कारण निजी क्षेत्रले सार्वजनिक यातायातमा लगानी गरेको १० खर्ब रूपैयाँ जोखिममा परेको बताउँछन्। 

‘एकातर्फ सार्वजनिक यातायात ठप्प हुँदा १० खर्बभन्दा धेरै लगानी जोखिममा परेको छ, अर्कोतर्फ सार्वजनिक यातायातसँग जोडिएका ११ लाखभन्दा धेरै मजदुरको बिचल्ली भएको छ,’ उनले भने, ‘अधिकांश सार्वजनिक यातायातका साधनहरू बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सञ्चालनमा आएका हुन्। बैंकले अहिले पनि साँवाब्याजको किस्ता माग्दा व्यवसायी निकै तनावपूर्ण वातावरण झेलिरहेका छन्।’ महासचिव सिटौला यातायात क्षेत्रमा लगानी भएको १० खर्बमध्ये ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको रहेको बताउँछन्। 

तिमध्ये मालबाहक सवारी साधन र ट्रिपरबाहेक करिब तीन लाख यात्रुबाहक साधन छन्। लकडाउनको कारणले सबैभन्दा प्रभावित पनि ती तीन लाख यात्रुबाहक सवारी साधन हुन्। अटो रिक्सा, टेम्पो, माइक्रोबस, मिनिबस, हायस, ठूला बस लगायत यात्रुबाहक सार्वजनिक यातायात हुन्। महासचिव सिटौलाले बैंकले सवारी साधनको किस्ता तिर्न बारम्बार ताकेता गरे पनि व्यवसायीले तिर्न नसकेको बताउँछन्। ‘निषेधाज्ञाको कारण व्यवसायीले एक सुको कमाउन सकेका छैनन्, कसरी तिर्ने बैंक किस्ता ?,’ उनले भने ।

Published on: 10 June 2021 | Nagarik

Link

Back to list

;