s

कोरोनाले यूएईमै रोकियो सुदीपको शव

खोटाङ– यूएई (दुबई)मा ज्यान गुमाएका खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका २२ वर्षीय सुदीप तामाङको शव स्वदेश ल्याउन समस्या भएको छ। भिजिट भिसामा यूएई पुगेको अवस्थामा गत मार्च १३ तारिखका दिन ज्यान गुमाएका तामाङको शव कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा स्वदेश फर्काउन समस्या भएको हो। 

कम्पनीमा आवद्ध हुनु अगावै ज्यान गुमाएका तामाङको शव हाल रसिदिया अस्पताल दुबईमा राखिएको छ। उनको हृदयघातका कारण मृत्यु भएको अस्पतालको रिपोर्टमा उल्लेख छ। ‘लकडाउन’ सुरु भएपछि मात्र तामाङको मृत्यु भएको जानकारी प्राप्त भएकाले यस अवधिमा शव नेपाल पठाउन नसकिएको खोटाङ सेवा समाज यूएईका अध्यक्ष हिमाल गुरुङले बताए। ‘हामीलाई पनि सुदीपको बारेमा ढिलोगरी जानकारी भयो, पहिल्यै जानकारी भएको भए केही गर्न सकिन्थ्यो,’ गुरुङले भने, ‘अहिलेको अवस्थामा शवलाई नेपाल पठाउन समस्या सिर्जना भएको छ।’ 

तामाङको शव निकाल्नका लागि अस्पतालले पटक–पटक फोन गरिरहेको भए पनि ‘लकडाउन’का कारण उडान नहुँदा शव अस्पतालमै राखिएको छ। भिजिट भिसामा यूएई गएको र कम्पनीमा आवद्ध भइनसकेकाले तामाङको शव नेपाल ल्याउनका लागि नेपाली दुताबासले पनि अपेक्षित सहयोग गर्न नसकेको यूएईमा रहेका नेपालीको गुनासो छ। तत्काल ‘लकडाउन’ खुल्ने सम्भावना नभएको र अस्पतालले बारम्बार शव हटाउनका लागि फोन गरिरहेकाले शव यूएईमै अन्त्येष्टी गर्नुपर्ने बाध्यता आएको हिराधन चाम्लिङले बताए। 

सुदीप परिवारका एक्लो छोरा हुन्। रोजगारीका सिलसिलामा यूएई पुगेको केही समयपछि उनको मृत्यु भएको हो। परिवारले भने सुदीपको शव नेपाल ल्याउनका लागि याचना गरिरहेका छन्। उनको शव घरसम्म ल्याउने वातावरण मिलाइदिनका लागि परिवारले पटक–पटक आग्रह गरिरहेको चाम्लीङले बताए। उडान नहुँदा यूएईमा ११ नेपालीको शव रोकिएको जनाइएको छ।

Published on: 11 April 2020 | Nagarik

Link

Back to list

;