s

कोरोनाले काम गुमेपछि चेपाङ बस्तीमा अनिकाल, गिट्ठा र चिउरीकाे भर

शिवकुमार काशी

हेटौँडा । जेठ ९ गते । पश्चिम मकवानपुरका अधिकाँश चेपाङ बाहुल्यता रहेका बस्तीहरुमा यतिखेर भोकमरी देखिएको छ । खोरियामा उत्पादित अन्नले बढीमा ६ महिनामात्रै खान पुग्ने ती बस्तीका बासिन्दालाई बाँकी महिनाका लागि अन्यत्र गएर श्रम गर्नुपर्ने बाध्यता छ । तर, यसबर्ष कृषि लगायत श्रम गर्ने क्षेत्रमा कोभिड १९ का कारण अबसर गुमेकाले भोकमरीको समस्या बढ्दो क्रममा रहेको चेपाङ नेताहरूले बताउनुहुन्छ ।

मकवानपुरको राक्सिराङ, कैलाश, मनहरी, भीमफेदी गाउँपालिका र हेटौँडा उपमहानगरपालिकामा चेपाङ बाहुल्यता रहेको छ । ती गाउँपालिकाहरूमा जंगल छेउमा जोडिएका अधिकाँश बस्तीहरूमा चेपाङ जातिको बाक्लो बसोबास छ ।

नेपाल चेपाङ संघका पूर्व केन्द्रीय अध्यक्ष तथा संविधानसभा सदस्य गोविन्दराम चेपाङका अनुसार निषेधाज्ञापछि काम गर्ने अबसर नपाएका कारण मानिस गाउँमै छन् । गाउँमा रहेका अन्नपात पनि सकिएपछि भोकमरी टार्न यतिखेर चेपाङ बस्तीका मानिस जंगली गिट्ठा र कन्दमूलको सहारामा पुगेका छन् । अहिले निषेधाज्ञाका बेला दिनभरि घरमै बस्नुभन्दा जंगल पुगेर गिट्ठा भ्याकुर खोजेर ल्याउने र उसिनेर खाने गरेको संविधानसभा सदस्य गोविन्दराम बताउनुहुन्छ ।

भोकमरीकै समयमा पहिलो छिमलको चिउरी पनि पाकेपछि पनि केही राहत मिलेको बागमती प्रदेश सभा सदस्य सन्तबहादुर चेपाङले बताउनुभयो । ‘अब दोस्रो लटको चिउरी असारको पहिलो साताबाट पाक्न थाल्छ’, प्रदेश सभा सदस्य सन्तबहादुर भन्नुहुन्छ–‘जंगली गिट्ठा, भ्याकुर र चिउरीले चेपाङ बस्तीको अनिकाललाई राहत दिएको छ ।’

संघीयता कार्यान्वयनसँगै स्थानीय तहहरुमा मोटरबाटो पुगेकाले मानिसहरुले श्रमको अबसर पाउन थालेका थिए भने स्थानीय उत्पादनले मूल्य पाउन थालेका थिए । तर, लगातार करीब बर्षदेखि कोरोनाका कारण निषेधाज्ञा घोषणा भएपछि चेपाङ बस्तीमा खाद्यान्न संकट बढ्दै जान थालेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल बताउनुहुन्छ ।

स्थानीय सरकारबाट सहयोगको अपेक्षा

यसैबीच चेपाङ र तामाङ बस्तीहरुमा कोरोना फैलिएसँगै देखिएको भोकमरी समस्या टार्नका लागि राक्सिराङ गाउँपालिकाले सहयोगी दातृ निकाय सामु आग्रह गरेको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जारी गर्नु भएको सार्बजनिक अपिलमा गाउँपालिकाका दुर्गम चेपाङ र तामाङ बस्तीहरुमा भोकमरीका कारण दैनिक गुजारा चलाउन समेत समस्या हुन थालेकाले सहयोगका लागि आह्वान गरिएको छ ।

२०६८ को जनगणनामा मकवानपुर जिल्लामा २३ हजारको संख्यमा चेपाङको बसोबास रहेको देखिएपनि नेपाल चेपाङ संघले उक्त संख्यालाई मानेको छैन । संघका अनुसार जिल्लामा ४० हजारको हाराहारीमा चेपाङको जनसंख्या रहेको छ ।

Published on: 24 May 2021 | Gorkhapatra

Link

Back to list

;