s

‘कोरोनाले विष्रेषणमा नराम्रो असर’

जिपी भण्डारी

काठमाडौं - नेपालको बैंक, वित्तीय क्षेत्रमा पनि विश्वभर फैलिएको नोवल कोरोना भाइरसको असर पर्ने देखिएको छ। कोराना संक्रमणका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेकाले रेमिट्यान्स रकममा कमी आउने नेपाल राष्ट्र बैंकका अधिकारीहरुले अनुमान गरेका छन्।

महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या घटने र दीर्घकालमा विप्रेषण आयमा कमी आई सिंगो अर्थतन्त्र प्रभावित हुने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए। ‘हाल मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी)को २५.४ प्रतिशत हिस्सा बराबर विप्रेषण आउँछ,’ उनले भने, ‘नेपाली कामदार कार्यरत मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिइसकेकाले आगामी दिनमा वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आउँछ भने कार्यरत कम्पनी नै बन्द हुने भएकाले कामदारको आम्दानी समेत बन्द हुन्छ।’

कोरोना भाइरसका कारण मुलुकको होटल, पर्यटन, उद्योगलगायत क्षेत्रमा असर पर्न सुरु गरिसकेको भन्दै उनले थपे, ‘पर्यटन वर्ष २०२० लाई लक्षित गरी बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गरिसकेकाले उनीहरुलाई संयम अपनाएर काम गर्न निर्देशन दिएका छाैँ।’ चालु आवको दोस्रो त्रैमासिक अवधिसम्म विप्रेषण रकम करिब ०.९ प्रतिशतले वृद्धि भएको प्रवक्ता भट्टले बताए। उनका अनुसार गत आवको पुस मसान्तसम्म चार सय ४३ अर्ब रुपैयाँ विप्रेषण भित्रिएकोमा चालु आवको सोही अवधिमा चार सय ४७ अर्ब रुपैयाँ भित्रिएको छ। गत आवमा विभिन्न मुलुकवाट करिब आठ सय ७९ अर्ब २७ करोड रुपैयाँ विप्रेषण भित्रिएको उनले बताए।

नेपाली कामदारको आकर्षक गन्तव्य मुलुकमै कोरोना भाइरसका संक्रमित बढ्दै गएकाले यी मुलुकको अर्थतन्त्रमा समेत असर पर्ने र यसको प्रत्यक्ष असर नेपाली कामदारलाई पर्ने प्रवक्ता भट्टले बताए। हाल कतार, दुबई, मलेसियालगायत मुलुकवाट ठूलो मात्रामा विप्रेषण भित्रिने गरेकोमा यी मुलुकमा माहामारी फैलिनैबित्तिकै यसको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा पर्ने उनले बताए। मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा असर पर्न सक्ने सम्भावित क्षेत्रको पहिचान गरी दीर्घकालीन समाधानका लागि राष्ट्र बैंकले पहल गरिरहेको बताउँदै प्रवक्ता भट्टले भने, ‘कोरोना भाइरस संक्रमणका कारण असर पर्न सक्ने सम्भावित क्षेत्रको पहिचान गरी ती क्षेत्रमा लगानी भएको कर्जाको हकमा पुनर्कर्जा सुविधा, पुनर्संरचना र पुनर्तालिकीकरणमा यसअघि लागू भएको व्यवस्थामा पुनरावलोकन गर्न सकिने व्यवस्था घोषणा गरिसकेका छाैँ।’

सरकारले लामो समयदेखिपर्यटन वर्ष २०२० को प्रचार–प्रसार गर्दै आएकाले बैँक तथा वित्तीय संस्थाले पर्यटन, होटल, पूर्वाधार लगायत क्षेत्रमा लगानी गरिसकेकाले कोरोना भाइरसका कारण यी क्षेत्रमा असर पर्न गई बैंक तथा वित्तीय संस्थालाई समेत असर पर्ने भएकाले केही शीर्षकका कर्जामा पुनरावलोकनका लागि बाटो खुला गरेको उनले बताए। मुलुकका बैंक तथा वित्तीय संस्थाको निक्षेपको मुख्य स्रोत विपे्रषण भएकाले कोरोना भाइरसका कारण विप्रेषण रकम घटे यसले बैंक तथा वित्तीय क्षेत्रलाई धराशयी बनाउने भएकाले सबैलाई सतर्क रहन उनले आग्रह गरे। विदेशी उत्पादनमा निर्भर भएकाले सामानआयातमा समेत असर पर्ने र यसको चपेटमा बैंकिङ क्षेत्रसमेत पर्ने उनले बताए। यस रोगको प्रभावले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य र मागमा कमी आएकाले यी देशमा कार्यरत कामदार मारमा पर्छन् भने विप्रेषण, पर्यटन, होटललगायत व्यवसाय मारमा पर्ने भएकाले यसले विदेशी मुद्रा सञ्चिति प्रभावित हुन्छ।’

कोरोना भाइरसका कारण नेपाल आउने चीन लगायत मुलुकका पर्यटकको संख्या घट्दै गएको छ भने यसअघि नै बुकिङ भएको रुम रद्द भइरहेको सम्बन्धित व्यवसायीले जनाएका छन्। मुलुकमा सबैभन्दा बढी चिनियाँ पर्यटक आउने गरेकोमा हाल त्यहाँको सरकारले विदेशभ्रमण गर्न रोक लगाएकाले होटलका बुकिङ रद्द हुने गरेको होटल संघ नेपाल (हाल)ले जनाएको छ। संयुक्त राज्य अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको तथ्यांक अनुसार संसारभरकोरोना भाइरसको प्रकोपबाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ। सन् २०१९ डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहान सहरमा पहिलोपटक देखिएको यो रोगबाट करिब तीन हजार पाँच सयको मत्यु भइसकेको छ।

Published on: 9 March 2020 | Nagarik

Link

Back to list

;