s

कोरोनाका कारण विदेशमा तीन श्रमिकले ज्यान गुमाए

सीता शर्मा 

काठमाडौँ, वैशाख १७ गते । कोरोना भाइरस (कोभिड १९)का कारण वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) र टर्कीमा रहेका तीन नेपाली श्रमिकले ज्यान गुमाएको जनाइएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार यूएईमा दुई र टर्कीमा एक गरी तीन नेपालीको कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गएको हो ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले अहिलेसम्म वैदेशिक रोजगारीमा रहेका तीन जनाको कोभिड १९ कारण ज्यान गएको आधिकारिक जानकारी आएको बताउनुभयो । उहाँका अनुसार यूएईमा मृत्युपछि कोरोना सङ्क्रमण भन्ने पुष्टि भएकी रुपन्देही स्थायी घर बताउने बिनु पराजुली र यूएईमै कोरोनाका कारण ज्यान गुमाउने धरानका युवाको शव परिवारको सहमतिमा यूएईमै अन्त्येष्टि गरिएको छ । यस्तै टर्कीमा कोरोनाका कारण ज्यान गुमाउने युवाको पनि परिवारसँग सहमति लिएर उतै अन्त्येष्टि गरिएको उहाँले जानकारी दिनुभयो ।

कोरोनाका कारण कोही नेपाली श्रमिकको विदेशमा ज्यान गएमा अहिलेलाई नेपाल ल्याउन सम्भव छैन । अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै कोरोनाका कारण ज्यान गुमाउनेको शव नेपाल ल्याउन कठिन हुने र गन्तव्य देशले पनि नदिने भएकाले गन्तव्य देशमै अन्त्येष्टि गर्नुको विकल्प छैन।

बन्दाबन्दीले विदेशमा ९१ शव अलपत्र

बोर्डका अनुसार कोरोना भाइरसका कारण बन्दाबन्दीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ९१ जनाको शव पनि उतै रोकिएको छ । यस्तै यो अवधिमा वैदेशिक रोजगारीमा रहेका ९४ जना नेपाली श्रमिकको ज्यान गएको छ । बोर्डका अनुसार विभिन्न कारणले मलेसियामा २९, साउदी अरेबियामा ३०, कुवेतमा छ, कतारमा आठ, संयुक्त अरब इमिरेट्स (यूएई)मा दुई जनासहित १७, बहराइन, साइप्रस, टर्की (कोरोना) दक्षिण कोरियामा एक÷एक जना गरी ९४ जना नेपालीको ज्यान गएको हो ।

बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले खाडीका देश र मलेसियामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले तत्काल ती शव स्वदेश ल्याउनसक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले सम्बन्धित परिवारको सहमति भएमा सबै शव विदेशमै अन्त्येष्टि गर्ने विषयमा स्थानीय तहमार्फत मनोसामाजिक परामर्श थालेको तर केहीले सहमति दिए पनि धेरैले स्वदेश ल्याउन आग्रह गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, धेरैले जे जस्तो वा जति समय लागे पनि आफ्ना आफन्तको शव स्वदेशमै ल्याउने भन्नुभएको छ, उहाँहरूका परिवारको इच्छाविपरीत हामीले काम गर्दैनौँ, अहिलेको अवस्था सामान्य हुन समय लाग्नसक्छ उहाँहरू कुर्न तयार रहनुभएको छ । 

विदेशमा आफन्त गुमाउनेलाई मनोसामाजिक परामर्श सुरु

वैदेशिक रोजगार बोर्डले कल सेन्टरमार्फत विदेशमा आफन्त गुमाउनेका परिवारलाई मनोसामाजिक परामर्श दिन थालेको छ । आफन्त गुमाउनुको पीडा र शव पनि उतै रोकिँदाको पर्खाइले परिवारलाई पर्ने मानसिक असर कम गर्न मनोसामाजिक परामर्श दिन थालिएको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले बन्दाबन्दी खुलेर अन्तर्राष्ट्रिय उडान खुलेपछि विदेशमा रहेका शव ल्याउनका लागि भने बोर्डले व्यवस्थापकीय तयारी गरेको पनि उहाँले जानकारी दिनुभयो । ती शवलाई घरघरमा पु¥याउन बोर्डले शववाहन, एम्बुलेन्सदेखि व्यक्तिगत सुरक्षाका लागि पीपीईको समेत व्यवस्था गरिसकेको बोर्डले जनाएको छ ।

Published on: 29 April 2020 | Gorkhapatra

Link

Back to list

;