s

कोरोनाका कारण नेपालमा ७३.१ प्रतिशतले रोजगारी गुम्ने

गोरखापत्र समाचारदाता 

काठमाडौँ, भदौ ५ गते । कोभिड–१९ का कारण सन् २०२० मा नेपालमा ७३.१ प्रतिशतले रोजगारी गुमाउने एक अध्ययनले देखाएको छ । एसिया तथा प्रशान्त क्षेत्रका मुलुकमा कोभिड–१९ का कारण रोजगारीमा पर्ने प्रभावबारे । अन्तर्राष्ट्रिय श्रम सङ्गठन र एसियाली विकास बैङ्कले संयुक्त रूपमा गरेको अध्ययनमा उक्त अनुमान गरिएको हो ।

कृषि, खुद्रा व्यापार, होटल र रेस्टुरेन्ट, आन्तरिक यातायात, अन्य सेवा, निर्माण तथा कपडा तथा कपडाजन्य उत्पादन गरी सातवटा क्षेत्रमा गरेको अध्ययनमा सबैभन्दा बढी रोजगारी गुमाउन सक्नेमा कम्बोडिया (९०.६ प्रतिशत) र सबैभन्दा कम भियतनाम (५७.८ प्रतिशत) रहेका छन् ।

अध्ययन गरिएका देशमा बङ्गलादेश, कम्बोडिया, फिजी, भारत, इन्डोनेसिया, लाओस, मङ्गोलिया, नेपाल, पाकिस्तान, श्रीलङ्का, फिलिपिन्स, थाइल्यान्ड र भियतनाम रहेका छन् ।

दक्षिण एसियाली मुलुकमा सबैभन्दा बढी रोजगारी गुमाउनेमा पाकिस्तान (७७.४), भारत (७७.३ प्रतिशत), बङ्गलादेश (७५.९ प्रतिशत, नेपाल (७३.१ प्रतिशत) र श्रीलङ्का सबैभन्दा कम (६३.९ प्रतिशत) ले रोजगारी गुमाउने जनाइएको छ ।

प्रतिवेदन अनुसार क्षेत्रगत आधारमा नेपालले सबैभन्दा बढी निर्माण क्षेत्रमा (२१.७) प्रतिशत रोजगारी गुमाउनेछ । त्यसपछि खुद्रा व्यापारमा १३.५ प्रतिशत, होटल र रेस्टुरेन्टमा १२.८ प्रतिशत, कृषिमा १२.७ प्रतिशत, अन्य सेवामा ७.९ प्रतिशत र कपडा तथा कपडाजन्य उत्पादनमा ४.५ प्रतिशतले रोजगारी गुम्नेछ । आन्तरिक यातायातमा भने शून्य प्रतिशतले रोजगारी गुम्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२० मा युवा बेरोजगारी दर अल्पकालमा ४.८ प्रतिशत र दीर्घकालीन ६.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । सन् २०१९ मा उक्त दर २.३ प्रतिशत रहेको छ ।

Published on: 21 August 2020 | Gorkhapatra

Link

Back to list

;