s

काेराेनाका कारण विदेशमा मात्र एक सय ९१ नेपालीको ज्यान गयाे

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) संक्रमणका कारण विदेशमा मात्र एक सय ९१ जना नेपालीको ज्यान गएकाे छ । गैरआवासीय नेपाली संघका अनुसार भारतमा यो साता थप दुईजनाको कोरोनाका कारणले निधन भएकाे छ । 

नेपालसहित विश्वभर दुई सय ६४ नेपालीको मृत्यु

शनिबार साँझसम्म नेपालसहित विश्वभर दुई सय ६४ जना नेपालीको कोरोना भाइरसले ज्यान लिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार प्राप्त तथ्यांकअनुसार यो साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्यान्ड, फ्रान्स, कतार तथा साउदी अरेबियामा रहेका नेपालीमा थप नयाँ संक्रमण देखिएको छ ।

संघका अनुसार गत हप्ताको तुलनामा मध्यपूर्वका देशहरू कतार, युएई, साउदी अरबलगायतका देशमा कोरोना संक्रमणको दरमा कमी आएको छ । यो साता अष्ट्रेलियामा रहेका एक सय ४६ जना नेपालीमा नयाँ संक्रमण थपिएको समितिले जनाएको छ ।

समितिका अनुसार गत साता लग्जेम्बर्गमा रहेका नेपालीमा सामूहिक रूपमा देखिएका कोरोना संक्रमितहरू संक्रमणमुक्त हुँदै गएका छन् । संघका अनुसार लग्जेम्बर्गमा करिब दुई दर्जन नेपालीमा कोरोना संक्रमण रहेको र बाँकी आइसोलेसनमा रहेका छन् । लग्जेम्बर्गमा थप संक्रमण देखिएको छैन। 

विश्वमा ३८ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएको संघले जनाएको छ । तीमध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ ।

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, स्विडेन, भारत, नेपाल, साउथअफ्रिकालगायतका देशमा रहेका नेपालीको ज्यान गएको थियो ।

शनिबार साँझसम्म नेपालसहित विश्वभर दुई सय ६४ जना नेपालीको कोरोना भाइरसले ज्यान लिएको गैरआवासीय नेपाली संघले जनाएको छ । हालसम्म नेपालसहित ५५ हजार नाै सय २५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ४७ हजार ४ सय ३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हालसम्म नेपालसहित ५५ हजार नाै सय २५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ४७ हजार चार सय ३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

४६ हजार तीन सय ३१२ जनाको उद्धार

जारी लकडाउनका कारण विदेशमा अलपत्र परेका ४६ हजार तीन सय १२ जना नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा ५८ देशबाट उनीहरूको उद्धार गरिएको हो । 

संयुक्त अरब इमिरेट्सबाट सबैभन्दा धेरैको उद्धार गरिएको छ । त्यहाँबाट १२ हजार पाँच सय एकजनाको उद्धार गरिएको छ । साउदी अरेबियाबाट ६ हजार नाै सय ९७, मलेसियाबाट ६ हजार सात सय ९४, कुवेतबाट ६ हजार तीन सय २९ र कतारबाट पाँच हजार  दुई सय ५१ जनाको उद्धार भएको छ ।

यसैगरी अफगानिस्तानबाट ३३, ओमानबाट ६ सय ३६, म्यानमारबाट २६, थाइल्यान्डबाट तीन सय २६, दक्षिण कोरियाबाट सात सय २०, बंगलादेशबाट आठ सय ४१, माल्दिभ्सबाट सात सय नाै, सिंगापुरबाट दुई सय ९७, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट नाे सय ८०, अमेरिकाबाट चार सय २३, बेलायतबाट दुई सय २९, इजरायलबाट एक सय २७, चीनबाट दुई सय आठ, टर्कीबाट एक सय १० जना स्वदेश फर्किएका छन् ।

यसैगरी फिलिपिन्सबाट दुई सय एकजना, स्विट्जरल्यान्डबाट १० जना, इराकबाट ३९ जना, दक्षिण सुडानबाट दुई सय ५० जना, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६८ जना, श्रीलंकाबाट पाँचजना जापानबाट एक हजार २३ जना स्वदेश फर्किएका छन् । भारतबाट हवाई उडानमार्फत ८५ जना स्वदेश फर्किएका छन् । तर, स्थलमार्ग हुँदै भारतबाट आएकाहरूको  तथ्यांक  यकिन छैन ।

दुई सय ४६ जनाको शव नेपाल ल्याइयो

विदेशमा विविध कारणले मृत्यु भएका दुई सय ४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । एक सय ७२ जनाको गन्तव्य मुलुकमै अन्त्येष्टिका लागि सहमति प्राप्त भएको  छ ।  विदेशमा मृत्यु भएका चार सय ९४ जनाको मध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी छ ।

Published on: 9 August 2020 | Nayapatrika

Link

Back to list

;