s

कोरोनाका कारण बीचैमा पढाइ छाडेर आएका नेपाली विद्यार्थीलाई छिट्टै चीन फर्काइन्छ : राजदूत होउ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोना महामारीका कारण चीनबाट बीचैमा पढाइ छाडेर स्वेदश आएका नेपाली विद्यार्थी फर्काउने विषयमा छलफल भइरहेको बताएकी छिन् । बिहीबार चिनियाँ दूतवासाले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा राजदूत होउले नेपाली विद्यार्थीलाई क्रमश: फर्काइने बताएकी हुन् । 

‘दुवै देशका परराष्ट्मन्त्रीबीच पनि यस विषयमा छलफल भएको छ । दुवै देशका अधिकारीहरु पनि छलफल भइरहेको छ,’ उनले भनिन्, ‘यसमा क्रमश: काम हुन्छ । विश्वविद्यालयहरु सम्बन्धित विद्यार्थीहरु सम्पर्क हुनुहुन्छ । कोभिड १९ को महामारीको कारण चीनमा पनि अनलाइन कक्षाहरु भइरहेका छन् । मेरो चीनमा रहेको छोरा पनि स्कुल जान पाएको छैन ।’ उनले हवाइ सेवा बन्द रहेको कारण पनि अहिले फर्काउन कठिनाइ रहेको बताइन् ।

कोरोना महामारीका कारण बीचैमा पढाइ छाडेर नेपाल फर्किएका ९ सय ६१ विद्यार्थीले बाँकी अध्ययनका लागि चीन फर्कन पाउनुपर्ने भन्दै शिक्षा मन्त्रालयमा आवेदन दिएका छन् । आवेदकमध्ये मेडिकल र इन्जिनियरिङका विद्यार्थी धेरै छन् । शिक्षा मन्त्रालयले पढाइ पूरा गर्न नपाएर अलपत्र परेका विद्यार्थीसँग आवेदन माग गरेको थियो ।

महामारीका बेला घर आएका नेपाली विद्यार्थीले इन्टर्नसिपलगायत बाँकी कोर्स पूरा गर्न पाएका छैनन् । चीनले प्रवेशमा रोक लगाएकाले उनीहरू सम्बन्धित विश्वविद्यालय र शिक्षणसंस्थामा फर्कन नपाएका हुन् । तीन साताअघि चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा विद्यार्थीको समस्याबारे कुरा उठेको थियो । परराष्ट्र मन्त्रालय र विदेशमन्त्रीको भ्रमण टोलीबीच विद्यार्थीको समस्या प्राथमिकताको आधारमा समाधान गर्ने सम्झौतासमेत भएको छ ।

Published on: 21 April 20222 | Kantipur

Link

Back to list

;