s

कोरोनाबाट विदेशमा रहेका एक सय २१ नेपालीको मृत्यु

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार (३० मे २०२०) साँझसम्म मुलुकबाहिर मृत्यु हुने नेपालीको संख्या एक सय २१ पुगेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सातजना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएईमा एकजना, युकेमा एकजना, अमेरिकामा एकजना, बहराइनमा दुईजना, कुवेतमा एकजना र साउदी अरबमा एकजना नेपालीको  ज्यान गएको छ ।

संघअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६६ जना गैरआवासीय नेपालको मृत्यु भएको छ । समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स (युएई) मा १९ जना नेपालीको निधन भएको छ ।

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १७ पुगेको छ । यस्तै साउदी अरबमा आठजना, बहराइनमा तीनजना, कुवेतमा दुईजना, कतारमा एकजना, आयरल्यान्डमा एकजना, जापानमा एकजना, टर्कीमा एकजना, नेदरल्यान्डमा एकजना र स्वीडेनमा एकजनाको मृत्यु भएको छ । 

संयोजक डा. सापकोटाका अनुसार विदेशमा १४ हजार चार सय २५ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् ।

स्वास्थ्य समितिका अनुसार कतार, अमेरिका, युएई, युके, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, पाेर्चुगल, क्यानाडा, आयरल्यान्ड, माल्दिभ्स, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जिमय, स्वीट्जरल्यान्ड, फिनल्यान्ड, जर्मनी, साइप्रस, न्युजिल्यान्ड, हङकङ, भारत, माल्टा, पोल्यान्ड, रुस, फ्रान्स, म्यानमार, रोमानिया, स्वीडेन, नेदरल्यान्डलगायतका ३४ देशका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये चार हजार पाँच सयभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको सापकोटाले जानकारी दिए । यो साता डेनमार्क र टर्कीमा पनि नेपालीमा नयाँ संक्रमण देखिएको हो ।

Published on: 31 May 2020 | Nayapatrika

Link

Back to list

;