s

कोरोनाबाट विदेशमा एक सय ९१ नेपालीको मृत्यु, ५८ देशबाट ४६ हजारभन्दा बढीको उद्धार

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विदेशमा मात्रै एक सय ९१ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघले जनाएको छ । संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता भारत, अस्ट्रेलिया, बेल्जियम, पोल्यान्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप संक्रमण देखिएको छ । अस्ट्रेलियामा एक सय ४६ जना नेपालीमा संक्रमण देखिएको छ । गत साता लग्जेम्बर्गमा रहेका नेपालीमा सामूहिक रूपमा देखिएको कोरोना संक्रमितहरू संक्रमणमुक्त हुँदै गएका छन् । संघका अनुसार लग्जेम्बर्गमा करिब दुई दर्जन नेपालीमा कोरोना संक्रमण रहेको र बाँकी आइसोलेसनमा रहेका छन् ।

विश्वमा ३८ देशमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको र १६ देशमा कोरोनाका कारणले निधन भएको छ । हालसम्म नेपालसहित ५५ हजार नौ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ४७ हजार चार सय ३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । 

विदेशमा अलपत्र परेका ४६ हजार तीन सय १२ जनाको उद्धार

कोरोना भाइरसका कारण जारी लकडाउनका कारण विदेशमा अलपत्र नेपालीको गैरआवासीय नेपाली संघ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा ५८ देशबाट ४६ हजार तीन सय १२ जनाको उद्धार गरिएको छ । सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार पाँच सय एक जनाको उद्धार गरिएको छ । साउदी अरेबियाबाट ६ हजार नौ सय ९७, मलेसियाबाट ६ हजार सात सय ९४, कुवेतबाट ६ हजार तीन सय २९ र कतारबाट पाँच हजार दुई सय ५१ जनाको उद्धार भएको छ ।

अफगानिस्तानबाट ३३, ओमानबाट ६ सय ३६, म्यानमारबाट २६, थाइल्यान्डबाट तीन सय २६, दक्षिण कोरियाबाट सात सय २०, बंगलादेशबाट आठ सय ४१, माल्दिभ्सबाट सात सय नौ, सिंगापुरबाट दुई सय ९७, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट नौ सय ८०, अमेरिकाबाट चार सय २३, बेलायतबाट दुई सय २९, इजरायलबाट एक सय २७, चीनबाट दुई सय आठ, टर्कीबाट एक सय १० जना स्वदेश फर्किएका छन् ।

त्यस्तै, फिलिपिन्सबाट दुई सय ए जना, स्विट्जरल्यान्डबाट १० जना, इराकबाट ३९ जना, दक्षिण सुडानबाट दुई सय ५० जना, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६८ जना, श्रीलंकाबाट पाँच जना, जापानबाट एक हजार २३ जना स्वदेश फर्किएका छन् । भारतबाट हवाई उडानमार्फत ८५ जना स्वदेश फर्किएका छन् । तर, स्थलमार्ग हुँदै भारतबाट आएकाहरूको  तथ्यांक यकिन छैन ।

२४६ जनाको शव नेपाल ल्याइयो

विदेशमा विविध कारण मृत्यु भएका दुई सय ४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । एक सय ७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टिका लागि सहमति प्राप्त भएको छ । विदेशमा मृत्यु भएका चार सय ९४ जनामध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी रहेको एनआरएनएले जनाएको छ ।

Published on: 9 August 2020 | Nayapatrika

Link

Back to list

;