s

कोरोनाबाट विदेशमा थप तीन नेपालीको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट विदेशमा यो साता थप तीनजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता बेलायतमा एकजना र युएईमा दुईजनाको निधन भएको हो । 

शनिबार साँझसम्म विदेशमा मात्र  १६ देशका एक सय ९५ जना नेपालीको निधन भएको छ ।  साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरबलगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ  । अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड– १९ को दोस्रो चरणकाे संक्रमण सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रूपमा बढेको हो ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार  हालसम्म विश्वका ३८ देशमा रहेका नेपाली कोरोना संक्रमित भएका छन्।

कोरोना भाइरसका कारण नेपालसहित बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, स्वीडेन, भारत, साउथ अफ्रिकालगायत १७ देशमा नेपालीको ज्यान गएको छ।

हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार  सात सय एकजनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार पाँच सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ। 

यस्तै नेपालमा मात्र ३७ हजार तीन सय ४० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने तीमध्ये २० हजार पाँच सय ५५ जना कोरोनामुक्त भएका छन् ।  यो कुल संक्रमितको ५५ प्रतिशत हो।

शनिबार साँझसम्म नेपालमा दुई सय सातजनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालसहित विश्वभर कोरोना संक्रमणका कारण हालसम्म चार सय दुईजनाको निधन भएको छ।

जोखिम कम नभएकोले सावधानी अपनाउन आग्रह

स्वास्थ्य समितिले कोरोना भाइरसको संक्रमणको जोखिम कम नभइसकेकोले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ ।

समितिका संयोजक डा. सापकोटाले सार्वजनिक स्थल मात्रै नभई बन्द कोठामा गरिने भेला र जमघटले पनि संक्रमण बढाउने भएकाले त्यस्ताखाले कार्यक्रम कम गर्न र गर्नैपर्ने भए सीमित संख्या र सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् । उनले मानसिक तनावबाट सकेसम्म मुक्त हुन साथीभाइसँग कुराकानी गर्न, गीतसंगीत सुन्न र योग तथा ध्यान गर्न अनुरोध गरेका छन् ।

‘कोभिड-१९ विरुद्ध खाेप आगामी वर्षको पहिलो महिना (जनवरी) भित्र सर्वसाधारणका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ,’ उनले भने, ‘जापान, अमेरिका, रुस, बेलायत, चीन, स्विट्जरल्यान्डलगायतका देशमा खोपको तीव्र गतिमा उत्पादन र परीक्षणको प्रक्रिया अघि बढेको  छ ।’

५३ हजार ६ सय ९९ जना नेपालीको उद्धार

विदेशमा अलपत्र परेका ५३ हजार ६ सय ९९ जना नेपालीको उद्धार भएको छ  ।  नेपाल सरकार, विदेशस्थित कूटनीतिक नियोग एवं दूतावास तथा गैरआवासीय नेपाली संघको सहकार्यमा उनीहरूको उद्धार गरिएको हो ।

Published on: 30 August 2020 | Nayapatrika

Link

Back to list

;