s

कोरोनाबाट विदेशमा गत साता थप दुई नेपालीको मृत्यु

कान्तिपुर संवाददाता 

काठमाडौँ — कोरोनाबाट गत साता विदेशमा थप दुई जना नेपालीको मृत्यु भएको छ । जर्मनीमा एक र भारतमा एक जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ । 

संघका अनुसार जर्मनीमा पहिलोपटक नेपालीले कोरोनाबाट ज्यान गुमाएका हुन् । यससँगै विदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ३ सय १ जना पुगेको छ । विश्वका विभिन्न २० मुलुकमा गरी उक्त संख्याका नेपालीको मृत्यु भएको हो ।

संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार गत साता जापान, साउदी अरब, यूएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ । शनिबार साँझसम्म विदेशमा ४९ मुलुकमा ४८ हजार ६ सय ३९ जना गैरआवासीय नेपाली संक्रमित भएका छन् । सोही अवधिमा ४४ हजार ६ सय ७१ जना संक्रमणबाट मुक्त भएका छन् । यो कुल संक्रमितको ९१ प्रतिशत रहेको हो ।

हालसम्म नेपालमा मात्र २ लाख १६ हजार ५ सय ९४ जना कोरोना भाइरसबाट संक्रमित पुगेका छन् । तीमध्ये २ लाख ३४ हजार ७ सय ५६ जना निको भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ९२ दशमलव ३ प्रतिशत छ । नेपालमा कोरोना संक्रमणका कारणले १ हजार ५ सय २९ जनाको ज्यान गएको छ ।

Published on: 6 December 2020 | Kantipur

 

 

 

Link

Back to list

;