s

कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको मृत्यु, पाँच हजारभन्दा बढी संक्रमित

विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसकाे (कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ  ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतको ग्रेटर लन्डनमा २७,  मिडल्यान्डमा आठ, साउथइस्ट मा ११, साउथवेस्टमा तीन गरी ४९ जनाको मृत्यु भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या  १५ पुगेको छ । जसमध्ये  मध्यन्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एकजनाको मृत्यु भएको हो ।

यस्तै, संयुक्त अरब इमिरेट्स (युएई) मा पाँच, आयरल्यान्डमा एक, जापानमा एक, टर्कीमा एक र नेदरल्यान्डमा एकजनाको संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए ।

यस्तै, संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर पाँच हजार दुई सय ४७ जना  गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १५ सय ७० जना संक्रमणमुक्त भएको अनुमान सो समितिले गरेको छ ।

सापकोटाका अनुसार मध्यपूर्वका केही देशमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढिरहेको देखिएको छ ।  कतारसहित केही मध्यपूर्वका देशले दुई हजार तीन सय नेपाली श्रमिकमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेका छन् ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडाअनुसार २७ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित छन् । 

स्वास्थ्य समितिका अनुसार विभिन्न मध्यपूर्वका देशमा दुई हजार तीन सय, अमेरिकामा एक हजार पाँच सय, युके एक हजार,  बहराइनमा एक सय २६, युएईमा एक सय, कुवेतमा ७८, नेपाल ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्यान्डमा २२, स्पेनमा १२, अष्टेलियामा १०, बेल्जियममा ६, जापानमा ६, स्वीट्जरल्यान्डमा पाँच, क्यानडामा पाँच, जर्मनीमा चार, साइप्रसमा तीन, मलेसियामा तीन, न्युजिल्यान्डमा तीन, माल्दिभ्समा दुई, माल्टामा दुई, हङकङमा दुई, म्यानमारमा एक, फ्रान्समा एकजना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।

Published on: 3 May 2020 | Nayapatrika

Link

Back to list

;