s

कोरोना भाइरस संक्रमणबाट भारतमा एक नेपालीको मृत्यु

भवानी अधिकारी

 

स्याङ्जा : कोरोना भाइरस संक्रमणबाट भारतको मुम्बइमा स्याङजाका ५० वर्षीय कोषबहादुर विकको ज्यान गएको छ । मुम्बइस्थित एक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । उनका पत्नी (जेठी) सावित्रा विक पनि अस्पतालमा उपचाररत छन्।

कोषबहादुरको ६ दिनअघि मुम्बइस्थित परेलमाको केएम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको पार्थिव शरीर भने आइतबार अन्तिम संस्कार गरिएको भाइ कुलबहादुर विकले जानकारी दिए ।

विकलाई २० दिनअघि कोरोना भाइरसे संक्रमण देखिएको थियो । सुरुमा ज्वरो आएपछि औषधि खाँदा पनि निको नभएपछि परीक्षण गर्दा कोरोना संक्रमित पुष्टि भएको थियो ।

त्यसलगत्तै थप उपचारको लागि अस्पतालमा भर्ना भएको १४ दिनमा उनको मृत्यु भएको भाइ विकले जानकारी दिए । उनले भाउजु भारतमै भएकाले नेपाल ल्याइन दिने वातावरण मिलाइन दिन नेपाल सरकारसँग माग गरेका छन्।

कालीगण्डकी गाउँपालिका ४ घर भएका विक रोजगारका लागि ३० वर्षदेखि मुम्बइमा थिए । मुम्बइको प्याडारोडस्थित विनामी मेटल कम्पनीमा उनी काम गर्थे । उनका दुई पत्नी मध्ये एउटा स्याङजामा छन् भने अर्का पत्नी भारतमै छन्।

विवाह भएको २५ वर्ष पुग्दासम्म सन्तान नभएपछि साबित्राको आग्रहमा ६ महिनाअघि मात्र बिष्णुसँग दोस्रो विवाह गरेका थिए ।  बिहेलगत्तै उनीहरु ३ जना भारत गए । एक महिनापछि कान्छी पत्नी बिष्णु भने स्याङजा फर्किइन्। साबित्रा पतिसँगै भारतमै बसिन् । बिष्णुको गर्भ रहेको छ । गर्भमा अहिले ६ महिने शिशु छ । आफ्ना सन्तानको मुख हेर्ने रहरले ५० वर्षमा दोश्रो विवाह गरेका कोषबहादुरको इच्छा भने पूरा हुन सकेन।

बिहेपछि एक महिनामात्र पतीसँग बिताएकी बिष्णु विगत ५ महिनादेखि स्याङजामा छिन्। बिहेको ६ महिनामै श्रीमान गुमाउनुका पीडासँगै गर्भे टुहुरो सन्तानलाई जन्म र कर्मको जिम्मेवारी पनि उनमै थपिएको छ ।

सन्तान देख्ने कोषबहादुरको सपना अधुरै रह्यो। विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसले उनको ज्यान लियो । श्रीमानको निधनको खबरले गर्भवती बिष्णु यहाँ भावविह्वल छिन् ।

Published on: 26 May 2020 | Annapurna Post

Link

Back to list

;