s

कोरोना प्रभावित देशमा के छ नेपाली विद्यार्थीको हालखबर ?

मञ्जु टेलर 

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको केन्द्रबिन्दु पछिल्लो समय अमेरिका, इटाली, स्पेन, फ्रान्स, इरान, बेलायत, अस्ट्रेलिया, दक्षिण कोरिया, जापान, युएईलगायतका देशहरू बनेका छन् । कोरोनाको प्रकोप खेपिरहेका यी देशमा उच्च शिक्षा अध्ययन र कामको सिलसिलामा थुप्रै नेपाली बसोबास गर्छन् । कोरोना नियन्त्रण र रोकथामका लागि धेरै देश अहिले लकडाउनमा छन् । जसका कारण अधिकांशको रोजगारी गुमेको छ । पढाइ ठप्प भएको छ । काम गर्दै पढिरहेका विद्यार्थीहरूलाई लकडाउनको समयमा खानबस्न समस्या भइरहेको छ । रोजगारीविना खर्च धान्न नसक्ने विद्यार्थीहरूका लागि प्रवास बसाइ बिस्तारै कठिन बन्दै गएको छ । अधिकांश विद्यार्थी नेपाल फर्किन चाहन्छन्, तर सरकारले बाटो बन्द गरिदिएसँगै समस्यासँग जुध्नुबाहेक विकल्प छैन । अस्ट्रेलिया, बंगलादेश र जापानमा अध्ययन गरिरहेका केही नेपाली विद्यार्थीले कोरोनाले पारेको प्रभाव र त्यसबाट सिर्जित समस्याबारे आफ्ना पीडा सुनाएका छन् : 

लकडाउनमा पनि कलेज र बजार खुलै छन् : केशव विष्ट, जापान 

जापानमा लकडाउनको समयमा पनि बजार खुला भएकाले  विद्यार्थीहरूलाई गाह्रो छैन । रोजगारीको समस्या छैन । कलेज, विश्वविद्यालय, कम्पनी, रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोर खुलै छन् । 

अहिले पनि मानिसहरूले नियमितजसो काम गरिरहेका छन् । लकडाउन हुन सक्ने भन्दै खाद्यान्न स्टोर गरेर राखिएकाले खानलाई समस्या छैन । नेपाली सामान पाइने पसलहरू पनि खुला भएकाले जापानमा विद्यार्थीलाई गाह्रो छैन । कलेजहरूमा गर्मी बिदा चलिरहेको छ भने केही कलेजहरू खुलिसकेका छन् । 

नियमितजसो पढाइ सञ्चालन भइरहेको छ । प्रदेश सरकारले केही स्वास्थ्य समस्या देखिएमा खबर गर्न नेपाली तथा जापानिज नम्बरमा कल गरेर जानकारी दिन निर्देशन दिएको छ । 

समस्या परेमा सरकारले उद्धार गर्ने व्यवस्था गरेको छ । सरकारले सामाजिक दूरी कायम राख्न, भिडभाड नगर्न, सरसरफाइ गर्ने, कीटनाशक औषधि छर्किनेजस्ता विषयमा कडाइ गरेको छ । तर, सामान्य दैनिक कामहरू भने नियमित सुचारु भएकाले आमनागरिकलाई लकडाउनले गर्दा गाह्रो भएको अवस्था भने छैन । 

नेपाल सरकारले उद्धार गर्न सक्छ भन्ने विश्वास छैन : विजय सापकोटा, अस्ट्रेलिया 

अस्ट्रेलियाले केही ठाउँमा लकडाउन गरेको छ, तर सबैजसो स्थानमा क्षेत्र बन्दजस्तै भएकाले अधिकांश घरमै बस्न बाध्य छन् । अधिकांशको जागिर गुमेकाले विद्यार्थीलाई खर्च धान्न गाह्रो परिरहेको छ । अस्ट्रेलियामा सामाजिक संगठनको संख्या धेरै छ । नेपाली विद्यार्थीलाई यस्ता संस्थाले खानबस्न सुविधा दिइरहेका छन् । 

अन्य देशका विद्यार्थीभन्दा नेपाली विद्यार्थी सुरक्षित छन् । तर, संक्रमण लम्बिएमा नेपाली सामाजिक संगठनहरूले धान्न सक्ने अवस्था हुँदैन । बेरोजगारी बढ्दै गएकाले काम गर्दै पढ्ने विद्यार्थीहरू बढी मारमा छन् । अन्तर्राष्ट्रिय विद्यार्थी संगठनहरूले यहाँको केन्द्र सरकारलाई विभिन्न देशका विद्यार्थीलाई आवश्यक सुविधा दिन माग गरिरहेका छन् । 

केन्द्रीय सरकारले कुनै ठोस निर्णय नदिए पनि स्थानीय सरकारले विद्यार्थीलाई घरभाडाजस्ता विषयमा सुविधा दिइरहेका छन् । यस्तै, विश्वविद्यालय र कलेजहरूले पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सहयोग गरीरहेका छन् । नेपाली विद्यार्थीलाई अहिले नै खानबस्न त्यति गाह्रो छैन, तर संक्रमणको समय लम्बिएमा ठूलो समस्या निम्तिन्छ । अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीको संख्या धेरै छ, एकैचोटि उद्धार गर्न सम्भव छैन । 

गत १९ चैतमा अस्ट्रेलियन नागरिक पुर्‍याउन अस्ट्रेलिया आएको नेपाली विमान रित्तै नेपाल फर्केको छ । त्यतिवेला नेपाल फर्किन चाहने विद्यार्थीलाई नेपाल लान सकिन्थ्यो । नेपाल सरकारले उद्धार गर्छ भन्ने विश्वास छैन । 

हाम्रो खाँचो नेपालका कोरोना प्रभावित क्षेत्रमा छ : नवीन यादव, बंगलादेश 

उच्च जनघनत्वका कारण बंगलादेश कोरोना संक्रमणको उच्च जोखिममा छ । बंगलादेश सरकारसँग कोरोना परीक्षणका लागि आवश्यक मेडिकल साम्रगी पर्याप्त रूपमा उपलब्ध छैनन् । यस्तो अवस्थामा संक्रमण फैलिएमा यहाँका नेपाली विद्यार्थीहरू जोखिममा पर्छन् । मजस्ता धेरै नेपाली विद्यार्थी अध्ययनका लागि बंगलादेशमा बसोबास गरिरहेका छन् । 

यहाँ विद्यार्थीहरूले अध्ययनको समयमा जागिर गर्न नपाउने भएकाले लकडाउनको समय कतिसम्म लम्बिने भन्ने यकिन नहुँदा खानबस्न नै मुस्किल हुने अवस्था छ । संक्रमण फैलिएर अवस्था भयावह हुनुभन्दा अगाडि नै बंगलादेशमा रहेका विद्यार्थीलाई उद्धार गरियोस् । बंगलादेशमा चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीको संख्या धेरै छ । 

महामारीले सताएको यो समयमा हामी नेपालमा सेवा दिन सक्छौँ । हाम्रो समाज र देशलाई सेवा दिन हामीले चिकित्सा शिक्षा पढिरहेका हौँ । आफूले सिकेको ज्ञान र सीप यतिवेला स्थानीय तहमा आवश्यक छ । सरकारले हामीलाई यहाँबाट चाँडो उद्धार गरी नेपाल लगे र आवश्यक सुरक्षाका साम्रगी उपलब्ध गराएमा हामी गाउँगाउँँमा पुगेर निःशुल्क सेवा दिन तयार छौँ । सरकारले तोकेको आवश्यक क्वारेन्टाइनमा बस्न तयार छांँ । 

अहिलेको समयमा हामीलाई स्वदेश फर्कन जति आवश्यक छ, त्योभन्दा बढी हाम्रो आवश्यकता कोरोनाको कहर फैलिएको हाम्रो समाज र देशलाई छ । बंगलादेशमा रहेका विद्यार्थीलाई नेपाल ल्याउन सरकारले चाँडो पहल गरोस् । 

घरभाडा र कलेज शुल्क तिर्न विद्यार्थीलाई गाह्रो छ : आयुषा खतिवडा, अस्ट्रेलिया 

म अस्ट्रेलियाको सिड्नीमा बस्न थालेको साढे दुई वर्ष भयो । सिड्नीमा लकडाउन भएको छैन । मेरो सर्कलमा अधिकांश विद्यार्थीहरूले पढाइ सँगसँगै काम गरिरहेका छन् । यहाँ रहेका धेरै विद्यार्थी रेस्टुरेन्ट क्षेत्रमा काम गर्दै आएका छन् । कोरोना संक्रमणका कारण अधिकांशले रोजगारी गुमाएका छन् । 

यहाँका रेस्टुरेन्ट, बार, सबै बन्द भइसकेका छन् । जागिर गर्दै काम गरिरहेका विद्यार्थीलाई केही समस्या छ । धेरै विद्यार्थीको नेपालबाट खर्च पठाउन सक्ने अवस्था छैन । अधिकांश ठाउँमा खाद्यान्न स्टोर बन्द भएको र बाँकी रहेका ठाउँमा पनि मूल्य बढेकाले खर्च धान्न गाह्रो छ । घरभाडा र कलेज शुल्क तिर्न विद्यार्थीलाई गाह्रो छ । 

नेपाली विद्यार्थीका लागि अस्ट्रेलियन सरकारले स्वदेश फर्कन भनेर दिइएको भनिएको विज्ञप्ति गलत हो । नेपाली मिडियाले गलत समाचार दिइरहेका छन् । प्रधानमन्त्रीले स्टेटमेन्टमा ‘विद्यार्थी र भिजिट भिजामा अस्ट्रेलिया आएको एक वर्ष नपुगेका र समस्या आएमा स्वदेश फर्किन सक्छौ’ भनेको हो । 

जागिर नगरीकन खर्च धान्न नसक्ने विद्यार्थी नेपाल फर्किन चाहन्छन् ।  अस्ट्रेलियामा कति विद्यार्थी अध्ययनरत छन् भन्ने तथ्यांक नेपाली दूतावाससँग पनि छैन । दूतावासले अनलाइन फर्ममार्फत डाटा संकलन गरिरहेको बताएको छ ।

Published on: 15 April 2020 | Nayapatrika

Link

Back to list

;