s

कोरोना महामारी : तत्काल आर्थिक राहत प्याकेज नआउने

काठमाडौं : सरकारले कोरोना भाइरसको महामारी नियन्त्रण हुने समयावधि अनिश्चित रहेकाले अहिले नै कुनै राहत प्याकेज घोषणा गर्नु अपरिपक्व हुने बताएको छ। कोरोना भाइरसको महामारी सामना गरिरहेका सबै देशले मानवीय सुरक्षा र अर्थतन्त्र जोगाउन र रोजगारी संरक्षण गर्न एकसाथ काम गरिरहेका छन्।

विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण पर्यटन व्यवसाय, वैदेशिक व्यापार, विकास परियोजना कार्यान्वयन र विप्रेषणका क्षेत्रमा असरको आँकलन भइरहेको अर्थसचिव शिशिरकुमार ढुंगानाले बताए। ‘अहिले हामी क्षतिको आँकलन गरिरहेका छौं’, उनले भने, ‘यो समस्या कति लामो जान्छ भन्ने अहिलेसम्म अनिश्चित नै रहेकाले राहत प्याकेज कसरी दिने भन्ने यकिन गर्न केही समस्या भइरहेको छ।’

अर्थ मन्त्रालयले यसका लागि तयारी गरिरहेको र क्षतिको परिमाण यकिन गरेर राहत दिने उनको भनाइ छ। अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको प्रभावले प्रत्यक्ष मारमा परेका व्यवसायलाई राहत दिने सरकारको तयारी रहेको बताइसकेका छन्। अर्थतन्त्र पुनस्र्थापनाको विस्तृत योजनामा उनले वैदेशिक रोजगारमा जानबाट बञ्चित भएका र वैदेशिक रोजगारबाट फर्केकाका लागि मुलुकभित्र रोजगारीका कार्यक्रम सञ्चालन गर्ने बताएका छन्। उनले कोरोनाको प्रत्यक्ष मारमा परेका व्यवसायको पुनस्र्थापनाका लागि सरकारले राहतसहितका विकल्प दिने उल्लेख गरेका छन्।

उद्यम, व्यवसाय बन्द भएपछि दैनिक ज्याला मजदुरी गर्ने सबैभन्दा ठूलो मारमा परेका छन्। उनीहरूका लागि तत्काल केही राहत घोषणा गर्ने सम्बन्धमा विमति नरहे पनि राहत दिने विधिका सम्बन्धमा अन्योल रहेको बताइन्छ। पूर्व अर्थसचिव रामेश्वर खनाल सरकारले स्थापना गरेको कारोनाविरुद्घको कोषको उद्देश्यमा दैनिक ज्यालामजदूरी गर्नेलाई राहत दिने प्रावधानलाई समेत समावेश गर्नुपर्ने बताउँछन्। ‘हरेक विवेकी सरकारले चुल्हो बाल्नै धौ-धौ भएका जनताको समस्या हेर्नुपर्छ’, उनले भने।

अर्थमन्त्री खतिवडा बुधबार दिनभर उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा व्यस्त थिए। अहिलेको महामारीबाट उत्पन्न हुने शिथिलताबाट वित्तीय क्षेत्रको उत्थानशीलता कसरी कायम गर्नेलगायत विषयमा छलफल भएको बताइएको छ।

Published on: 26 March 2020 | Annapurna post

Link

Back to list

;