s

कोरोना कहर : मजदुर भन्छन्– अब बाँच्ने कसरी ?

वसन्तपुर दरबार परिसर । उपत्यकाभित्र चहल–पहल हुने क्षेत्रमध्येको एक । विश्वभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमण र सन्त्रास फैलिएको छ । यसको प्रभाव वसन्तपुरमा नपर्ने कुरै भएन । यहाँ पनि चहल–पहल घटेको छ । कोरोना त्रास फैलिनुअगाडि वसन्तपुर दरबारक्षेत्रमा दैनिक दुई कार्टुनसम्म पानी बिक्री गर्थिन् रीता खड्का । तर, आजभोलि भने उनको ३ बोतल पानी पनि मुस्किलले बिक्री हुन्छ ।

‘आजभोलि कहिले त तीन बोतल पनि बिक्री हुँदैन,’ खड्काले सुनाइन् ।

सन् २०१९ को अन्तिममा चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस संक्रमणको डरले भारत, अमेरिका, स्पेन, इटाली, इराकलगायत दर्जनौँ देशले आफूलाई लक डाउन(बन्द)गरेका छन् ।

नेपालमा कोरोना संक्रमण हालसम्म नदेखिए पनि सरकारले सतर्कता अपनाउँदै ‘लक डाउन’ गरिसकेको छ । होटेल, रेस्टुरेन्ट, पर्यटन, सिनेमा हललगायत व्यवसाय बन्द गर्ने, एसइई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । यसको असर जीविकोपार्जनमा देखिन थालिसकेको छ । सरकारले बाहिर ननिस्कन आग्रह गरेको छ । दैनिक ज्यालादारीमा गुजारा गर्नेलाई हातमुख जोर्न संकट पर्न थालिसकेको छ ।

रिक्सामाथि पल्टेर असनचोकमा सुस्ताइरहेका प्रकाश ढुंगाना भन्छन्, ‘पहिले त दिनको सात–आठ सयसम्म कमाइ हुन्थ्यो । अहिले त दिनको एक सय पनि हात लाग्दैन ।’

करिब एक वर्षअगाडि दोलखाको लादुकबाट परिवारसहित काठमाडौं आएकी खड्कालाई व्यापार घटेसँगै परिवार कसरी पाल्ने भन्ने पिर पर्न थालेको छ । बजारमा मान्छेको आवतजावत सुस्ताएसँगै खड्काको रोजीरोटी संकटमा छ ।

‘गाउँमा दुःख गर्दा–गर्दा केही नभएपछि यता आइयो । यता पनि केही हुन सकेन, यो महिनाको कोठाभाडा कसरी तिर्ने ?,’ निन्याउरो अनुहार पार्दै खड्का गुनासो गर्छिन् । पाँचजना परिवारसहित बस्ने खड्का मासिक सात हजार कोठाभाडा तिर्छिन् ।

खड्काको जस्तै अवस्था छ, असनमा रिक्सा चलाउने प्रकाश ढुंगानाको । असनमा मान्छेकाशे चहलपहल घटेपछि परित्यक्त बस्तीजस्तो देखिन थालेको छ । मान्छे हिँड्न पनि मुस्किल हुने असनका गल्ली निर्जन लाग्छन् । हतारोमा दैडिने रिक्सावाल चोक–चोकमा घाम तापिरहेका भेटिन्छन् ।

रिक्सामाथि पल्टेर असनचोकमा सुस्ताइरहेका ढुंगाना ‘जे पाए पनि बोक्थे’ भन्दै सुनाउँछन्, ‘पहिले त दिनको सात-आठ सयसम्म कमाइ हुन्थ्यो । अहिले त दिनको एक सय पनि हात लाग्दैन ।’  दिनकै एक सय ५० रुपैयाँ रिक्सा भाडा तिर्नुपर्ने बताउँदै ढुंगाना भन्छन्, ‘चारजनाको परिवार, कसरी पाल्ने खै ?’

मान्छेको चहल–पहल घटेपछि ‘खान नपाएरै मरिन्छ कि’ भन्ने चिन्ता खड्कालाई लाग्न थालेको छ । ‘चरिकोटबाट नुन बोकेर जम्मा गरेको पैसाले गाउँमा सानो छाप्रो बनाएका थियौँ । त्यही पनि भूकम्पले भत्कायो,’ खड्का सुनाउँछिन्, ‘त्यसपछि गाउँमा गरीखान सकिँदैन भनेर यता (काठमाडौं) आएको । यहाँ त खानै नपाएर मरिएलाजस्तो छ । केही गर्न सकिएन भनेर रुन मन लाग्छ । दिक्क लाग्छ ।’

विश्व स्वास्थ्य संगठनले नै कोरोनालाई महामारी भनेपछि सरकारले पर्यटन वर्ष २०२० स्थगित ग-यो । १२ दर्जनभन्दा बढी देशमा आउन र जान   प्रतिबन्ध लगाएको छ । वायु सेवा कम्पनीले उडान रोकेका छन् । 

पर्यटक आवागमन शून्य भएपछि पर्यटकलाई क्युरियो सामग्री बेच्ने गोमा बुढाथोकी गाउँ फर्किने विचारमा छिन् । छोराछोरी पढाउन भन्दै रामेछापको मन्थलीबाट काठमाडौं आएको बताउने बुढाथोकीको आम्दानीको एक मात्र स्रोत हो हाते क्युरियो पसल । बुढाथोकीले महिना दिनभन्दा बढी भयो वसन्तपुर क्षेत्रमा पर्यटक नदेखेको । ‘कोठाको बहाल तिर्नुप-यो । सामान किन्नुप-यो । परिवारलाई खुवाउनैप-यो । अब त खान पनि नसकिएलाजस्तो छ,’ बुढाथोकी दुःख सुनाउँछिन् ।

पर्यटक आवागमन रोकिएपछि पर्यटक पथप्रदर्शक पनि बेरोजगारजस्ता बनेका छन् । सहरी पर्यटक पथप्रदर्शक भुमराज तिवारीले एक महिनाभन्दा बढी भयो पर्यटक नपाएको ? ‘पर्यटक नभएपछि त बेरोजगार बसेका छौँ,’ तिवारीले सुनाए ।

नेपालबाहिर कतार, दक्षिण कोरिया, कुवेत, साउदी अरेबियाजस्ता देशमा रहेका अधिकांश नेपाली काम छाडेर क्वारेन्टाइनमा बस्नु परेको छ । यता सरकारले पनि यी देशको श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द गरेको छ ।

अत्यधिक नेपाली कामदार रहेका देशमा कोरोना संक्रमण देखिएपछि त्यसको सीधा असर यहाँ रहेका आफन्तको दैनिकीमा देखिन थालेको छ ।

ललितपुर पुल्चोकका कपडा पसलमा काम गर्ने शर्मिला धामी कतारबाट श्रीमान्ले पठाएको पैसामा निर्भर छिन् । कतारमा कोरोना संक्रमण देखिएसँगै काम रोकिएको छ । यता धामीलाई पैसाभन्दा श्रीमान्को चिन्ता छ । ‘पैसा त जेसुकै होस् । उता ज्यानलाई पो के हुने हो ?’, धामी चिन्ता व्यक्त गर्छिन् ।

क्वारेन्टाइनमा बस्नुपर्ने भएपछि पैसा पठाउन नसक्ने भन्दै धामीका श्रीमान्ले म्यासेज गरिसकेका छन् । श्रीमान्ले पैसा पठाउन नसक्ने भनेपछि आठ वर्षकी छोरीसहित कैलाली लम्की फर्किने तयारीमा छिन् । ‘याँ बसेर खर्च हुन्छ । पैसा नभएपछि त कसरी बस्नु, बरु गाउँ नै जान्छु,’ धामीले सुनाइन् ।

चीनमा फैलिएको कोरोना भाइरस युरोप, अमेरिका हुँदै छिमेकी देश भारतसम्म पुगेपछि नेपालीको दैनिकी पनि सुस्ताएको छ । सरकार पनि विभिन्न १५ निर्णय गरेको छ । एसइई परीक्षासमेत स्थगित गरिएको छ । कोरोना संक्रमणको भयले अधिकांश मान्छे घरबाहिर निस्कन मानिरहेका छैनन् । अझ सरकारले नै अत्यावश्यक अवस्थामा बाहेक बाहिर ननिस्कन आग्रह गरेपछि यसको असर सार्वजनिक सवारीमा परेको छ ।

सातदोबाटो, थापाथली, बानेश्वर, कोटेश्वर रुटमा टेम्पो चलाउने रुमा तामाङ यात्रु घटेको बताउँछिन् । टेम्पोको दैनिक खर्च धान्न मुस्किल भएको तामाङले सुनाइन् । ‘टेम्पो चार्जको पैसा उठाउन पनि मुस्किल भइसक्यो,’ तामाङ सुनाउँछिन्, ‘घर कसरी चलाउने होला ?’ टेम्पोको आम्दानीबाट तामाङका तीनजनाको परिवार चल्छ । 

टेम्पो नचलाई घर नचल्ने बाध्यता भएपछि घाटा सहेर भए पनि टेम्पो चलाइरहेको बताँउछिन् तामाङ । दुपट्टाले टाउको र मुख छोपेकी तामाङ यात्रुसँगै सशंकित हुन्छिन् । भन्छिन्, ‘थरीथरीका मान्छे चढ्छन् कतै लागिहाल्यो भने त बर्बाद !’ दैनिक उपभोग्य सामग्रीको अभाव अर्को समस्या बनेको छ । ग्यासका लागि दुई दिन दौडधुप गर्नुपर्दा रिक्सा चलाउन नपाएको रिक्सा चालक रामबहादुर श्रेष्ठ बताउँछन् । 

राहतको तयारी छैन

सरकारसँग अनौपचारिक क्षेत्रमा कार्यरत कामदारको तथ्यांक छैन । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव सुमन घिमिरेका अनुसार सरकारले कोरोनाले रोजगारीको क्षेत्रमा परेको प्रभाव अध्ययन गर्ने तयारी भर्खर सुरु गरेको छ ।

अध्ययनपछि मात्र राहत वा रोजगार दिने विषयको टुंगो लाग्ने बताउँछन् प्रवक्ता घिमिरे । यता, अर्थ मन्त्रालय पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अध्ययनपछि मात्र राहत कार्यक्रम बनाउन सकिने बताउँछ ।

तर, अर्थ राजनीतिक विश्लेषक हरि रोका भने सरकारले दैनिक ज्याला, आम्दानीमा जीविकोपार्जन गर्नेलाई तुरुन्तै राहत दिनुपर्ने बताउँछन् । चीनको उदाहरण पेस गर्दै रोका भन्छन्, ‘चीनले वुहान सहर लक डाउन गरेर त्यहाँ रहेका सबै नागरिकलाई दैनिक उपभोग्य सामग्री दिएको थियो । कोरोना नदेखिए पनि हाम्रो आर्थिक दैनिक जीवनमा ठूलो समस्या देखिसकेको छ । त्यसैले कमजोर आर्थिक अवस्था भएका । दैनिक ज्यालामा बाँच्नेहरूलाई स्थानीय सरकारमार्फत सूचना संकलन गरेर तुरुन्तै राहत दिनुपर्छ ।’

ठूला मानवीय संकटमा कमजोर आर्थिक अवस्था भएका सबैभन्दा धेरै मारमा पर्ने बताउँदै रोका भन्छन्, ‘ठूला संकटमा श्रम गरेर भात खानेलाई बढी मार पर्छ । त्यसैले व्यापारी र उद्योगीभन्दा कमजोर आर्थिक अवस्था भएकालाई राहत दिनुपर्छ ।’

Published on: 21 March 2020 | Nayapatrika

Link

Back to list

;