s

कोरोना कहर : ४६ मजदुरकोे उद्वार

मुग्लिन, चैत २१ गते ।  चितवनको गाउँपलिका इच्छाकामनाले विभिन्न स्थानमा अलपत्र परेका आफ्ना गाउँपालिकावासी नागरिकको उद्वार गरेको छ । कोरोना भाइरसको प्रभावका कारण जारी लकडाउनका समयमा ४६ नागरिक अलपत्र परेको खबर आएसँगै गाउँपालिकाले उद्वार गरेको हो । 

समुद्र कन्स्ट्रक्शनले पर्वतमा निर्माण गरिरहेको सिँचाइ आयोजनामा काम गर्न गएका इच्छाकामना–१ हात्तीवाङ र मेत्राङका ३४, गोरखा धार्चे गाउँपालिकामा सडक निर्माणमा गएका इच्छाकामना–३ माझगाउँका तीन र कास्की बेगनासमा मजदुरी गर्न गएका इच्छाकामना–४ धारापनी गैरीगाउँका नौ गरी ४६ जनाको उद्वार गरिएको छ । 

कार्यस्थलमै अलपत्र परेका उनीहरुको उद्वारका लागि गाउँपालिकाले एक बस पर्वत, एक म्याजिक भ्यान पोखरा र गाउँपालिका उपाध्यक्षले प्रयोग गर्ने गाउँपालिकाकै गाडी गोरखा पठाएको थियो । कास्की र धार्चेबााट उद्वार गरी ल्याइएकालाई उनीहरुकै घरमा होम क्वारेन्टाइनमा राख्न पठाइएको छ भने पर्वतबाट ल्याइएकालाई हात्तीवाङ र मैत्राङमा गाउँपालिकाले निर्माण गरेको मास क्वारेन्टाइनमा राखिने गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो । 

उद्वार गरी ल्याइएका मजदुरलाई इच्छाकामना गाउँपालिका अध्यक्ष गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले इच्छाकामना गाउँपालिकाको प्रवेशनाका मुग्लिन पुलजीपमा स्वागत गर्नुभएको थियो ।

Published on: 3 April 2020 | Gorkhapatra

Link

Back to list

;