s

कोरोना भाइरस प्रभाव : दक्षिण कोरिया जाने नेपाली कामदारको तालिका अनिश्चित बन्दै

कारोना भाइरसको प्रभाव विश्वका विभिन्न भागमा फैलिंदै गर्दा त्यसको असर नेपालको वैदेशिक रोजगारीको क्षेत्रमा पनि देखिन थालेको छ । रोजगारीका लागि युवाहरु माझ आकर्षक गन्तव्यको रुपमा परिचित दक्षिण कोरियामा अहिले कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएको कोरियाली सञ्चार माध्यमले जनाएको छन् ।

संक्रमितको संख्या बढेसँगै रोजगारीका लागि दक्षिण कोरिया जान तयारीमा रहेका नेपालीहरू जान पाएका छैनन् । कोरियामा संक्रमणको दर बढ्न थालेसँगै नेपाली कामदारको तालिका सर्दै गइरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए । ‘कोरियामा जानको लागि ५० जना नेपालीको आजभोली नै तालिका थियो । तर, कोरोनाको संक्रमणले गर्दा १९ गतेको तालिका बनेको छ’ महानिर्देशक दाहालले भने ।

कोरिया रोजगारीको लागि १८ गते तालिका तयार भएता पनि पठाउने वा नपठाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । कोरोनाको संक्रमितको पूर्ण रुपमा कमी नआएसम्म नेपाली पठाउन असम्भव रहेको उनको भनाइ छ ।

यस विषयमा इपीएस कार्यालय, वैदेशिक रोजगार विभाग र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा नेपाली कामदार पठाउने वा नपठाउने विषयमा छलफल गर्ने भएका छन् ।

हालसम्म कोरियामा ६५ हजार नेपाली इपीएसमार्फत कोरिया पुगेको इपीएस कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यसमध्ये कति कोरियामा छन्, कति फर्केर नेपाल आए भन्नेबारे यकिन तथ्याङ्क भने छैन् । तर, इपीएस कोरिया कार्यालयका अनुसार हाल ४० हजारभन्दा बढी नेपाली कारियामा रहेको अनुमान गरिएको छ ।

कोरियामा कोरोना भाइरसको संक्रमण दर उच्च रूपमा बढेपछि सतर्कतासहित नेपाली दूतावासलगायत अन्य सम्बन्धित निकायसँग समन्वय गरिरहेको विभागले जनाएको छ ।

साथै दक्षिण कोरियास्थित नेपाली दूतावासले पनि आइतबार एक सूचना जारी गर्दै हाल सबैभन्दा धेरै संख्यामा कोरोना भाइरसको संक्रमण देखापरेका थेगु तथा आसपास क्षेत्रमा रहेका नेपालीलाई विशेष सावधानी अपनाउन पनि अनुरोध गरिएको छ ।

शनिबारसम्म चार सय संक्रमित भएकोमा एकैदिनमा यो संख्या बढेर आइतबारसम्म आइपुग्दा ६ सय २ पुगेको कोरियाली संचारमाध्यमहरुले जनाएका छन् । संक्रमणकै कारण अहिलेसम्म कोरियामा पाँच जनाको मृत्यु भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेका अनुसार मन्त्रालयले नेपाली कामदारलाई सुरक्षित छन् की छैनन् भन्ने विषयमा छलफल गरेर मात्र पठाउने निर्णय लिने बताए । ‘नेपालले सुरक्षित भए मात्र कोरिया पठाउने हो । असुरक्षित रहेको अवस्था छ भने सरकारले जानाजान पठाउँदैन ।’ प्रवक्ता घिमिरेले भने ।

Published on: 23 February 2020 | Naya Patrika

 

Link

Back to list

;