s

कोरोना संक्रमित नेपालीलाई युएईबाट स्वदेश फर्काउन छलफल

रूपेश अधिकारी

३ चैत, यूएई । यूएईमा कारोना भाइरसको संक्रमण देखिएका २ नेपालीको अवस्था सामान्य रहेको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । अवस्था सामान्य रहे पनि तिनलाई स्वदेश फर्काएर उपचार गर्ने विकल्पबारे दूतावासले छलफल थालेको छ । कारोना संक्रमण देखिएका २ नेपालीको यूएईस्थित सरकारी निकायले उपचार गरिरहेको र व्यवस्था सामान्य रहेको दूतावासकी उपनियोग प्रमुख तथा प्रवक्ता रीता धितालले अनलाइनखबरलाई जानकारी दिइन् ।दूतावासले ती कोरोना संक्रमित नेपालीको अवस्थाबारे त्यहाँको स्वास्थ्य र परराष्ट्र मन्त्रालयमार्फत बुझिरहेको उनले बताइन् । कोरोना संक्रमित २ नेपालीलाई स्वदेश फर्काएर उपचार गर्ने विकल्पबारे पनि छलफल भइरहेको प्रवक्ता धितालले जानकारी दिइन् । तर, यूएईले आफ्ना देशमा कोरोना देखिएकालाई स्वदेश फर्काउन अहिलेसम्म अनुमति दिएको छैन । उसले यसबारे विभिन्न देशका प्रतिनिधिसँग छलफल गरिराखेको छ । प्रवक्ता धिताल यूएई सरकारको कदमपछि नेपाल फर्काएर उपचार गर्ने वा यहीँ राख्ने भन्नेबारे निर्णय लिइने बताउँछिन् । यूएईमा कार्यरत २ नेपालीमा केही दिनअघि कोरोनाको संक्रमण फेला परेको थियो । उनीहरूको परिचय दूतावासले गोप्य राखेको छ । नेपालीको मुख्य रोजगार गन्तव्य मानिन्छ, यूएई । चीन उद्गम भएर पुगेको कोरोना त्यहाँ फैलँदो क्रममा छ । हालसम्म त्यहाँका ९८ मानिसमा संक्रमण देखिएको छ ।  याे संक्रमणबाट मृत्यु भने भएको छैन । यद्यपि, त्यहाँ कार्यरत नेपालीमा त्रास छाएकाे छ । संक्रमण हुने र रोजगारी गुम्नसक्ने चिन्ता उनीहरूमा छ ।

Published on: 16 March 2020 | Onlinekhabar

Link

Back to list

;